सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी जिम्मेवारीमुक्त

काठमाडौं । राजधानीको सुन्धारास्थित आकाशे पुलमुनि एक सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीलाई कारबाहीस्वरूप जिम्मेवारीबाट हटाइएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि ती प्रहरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तानेर अनुसन्धान थालेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक गिरीका अनुसार, मंसिर ११ गते भएको उक्त घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई तत्काल जनसेवा ट्राफिक प्रहरी वृत्तबाट हटाइएको छ। अहिले उनीहरूलाई कार्यालयमा झिकाएर आवश्यक छानबिन सुरु गरिएको गिरीले जानकारी दिए।

बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएअनुसार चार जना ट्राफिक प्रहरीले एक व्यक्तिलाई सडकमा लडाएर बुटले निर्घात कुटपिट गरेका छन्। कुटपिटको क्रममा ती व्यक्तिको कागजातहरू समेत भुइँमा फालिएको दृश्य देखिन्छ। भिडियोमा एक ट्राफिक प्रहरी कागजपत्र भुइँमै छाडेर हिँडेको दृश्यसमेत छ।

प्रहरीले घटनाबारे गम्भीरता साथ अनुसन्धान भइरहेको जनाएको छ। दोषी पाइएमा कानुनअनुसार थप अनुशासनात्मक कारबाही गरिने प्रवक्ता गिरीले बताएका छन्।

यस घटनाले ट्राफिक प्रहरीको आचरण र सर्वसाधारणमाथिको व्यवहारबारे गम्भीर प्रश्न खडा गरिरहेको छ। सर्वसाधारणको सुरक्षाका लागि खटिने सुरक्षाकर्मी आफैंबाट नागरिक पीडित हुनु दु:खद विषय भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज