फेसबुकले सरकारको आग्रह बेवास्ता गर्‍यो, अन्तिमपटक ७ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल सरकारको पटक–पटकको आग्रह बेवास्ता गर्दै मेटा (Meta) नेपालमा दर्ता हुन मानेको छैन। सरकारद्वारा तीनपटकसम्म सार्वजनिक सूचना जारी गरिए पनि मेटाले कुनै चासो नदिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अब अन्तिम अल्टिमेटम दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरूङले भने, “सरकारले तीनपटक सूचना दिइसकेको छ, तर मेटाले कुनै प्रतिक्रिया देखाएन। अब चौथोपटक ७ दिनको म्याद दिइएको छ। यसबीचमा दर्ता नभए नेपालमै मेटाका सेवा बन्द हुन्छन्।”

उनका अनुसार मेटाले नेपालमा व्यवसायिक सेवा दिँदै अर्बौंको कारोबार गरे पनि न त दर्ता भएको छ, न त कर तिरेको छ। “नेपालबाट पैसा पल–पलमा मेटाको खातामा जान्छ, तर कानुन बेवास्ता गर्छ-अब यस्तो व्यवहार सह्य हुँदैन,” मन्त्री गुरूङको कडा भनाइ थियो।

मन्त्रीले भनेअनुसार, अब सरकार गम्भीर कदम चाल्न तयार भएको छ। यदि सात दिनभित्र दर्ता प्रक्रिया पूरा भएन भने, नेपालमा मेटाका प्लेटफर्महरूमा प्रतिबन्ध लगाइने चेतावनी दिइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज