प्रहरीले दियो माया राई पक्राउ परेको जानकारी सभामुखलाई

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुखसम्मलाई पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।

सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

उनी जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

सम्बन्धित समाचार

ताजा न्यूज