उपभोक्तामाथि ठगी गर्ने ४ उद्योगलाई कारबाही, ३ लाख ७५ हजार जरिवाना

काठमाडौं । उपभोक्ताको अधिकार उल्लंघन गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार उद्योग तथा फर्मलाई गरी ३ लाख ७५ हजार रुपैयाँ जरिवाना तिराएको छ। मूल्य, तौल, रिलेबलिङ र बिलबिजकसम्बन्धी अनियमितता भेटिएपछि विभागले मंगलबार कारबाही गरेको हो।

मंगलबार गरिएको नियमित अनुगमनका क्रममा ११ उद्योग फर्ममध्ये काठमाडौं–३२ स्थित कजरिया रमेश टायल्स लिमिटेडले उत्पादनमा रिलेबलिङ गरी गुणस्तर, मूल्य, परिमाण र नापतौल हेरफेर गरेको पाइएपछि एक्लै २ लाख ८५ हजार जरिवाना तिरिएको हो।

त्यस्तै, ललितपुर–२० को श्री न्यु बीआर इन्टरप्राइजेजले खरिद बिलबिजक नराखेकामा २० हजार, काठमाडौं–६ को सान्वी एन्ड रिंकु हार्डवेयरले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेकामा ५० हजार र गोकर्णेश्वर–५ स्थित एनए सप्लायर्सले रिलेबलिङसहित नापतौलमा हेरफेर गरेकामा २० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

चार उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गतका विभिन्न दफाबमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनमा परेका अन्य ३ उद्योगलाई सामान्य निर्देशन दिइएको छ भने ४ उद्योगलाई व्यवसाय सम्बन्धी कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज