बदलिँदो समाजले सिर्जना गरेका अदृष्य पीडाहरू

सन्तानले डाँडाकाडा ढाँकुन भन्दै शुभ साइतमा टीका लगाएर आशिर्वाद दिने समयलाई आज दुई सन्तान ईश्वरका बरदान भन्ने आम मनोविज्ञानले प्रतिस्थापन गरेको छ । प्रविधिको विकास र त्यसको सहज पहुँचले आज समाज निकै परिवर्तन भएको छ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक । व्यक्तिको चाहना, परिवारको स्वरुप र सामाजिक आवस्यकतामा परिवर्तन हुँदा समाजको पृष्ठभूमि समेत बदलिएको छ । भौतिक विकास र विश्वव्यापिकरणले मानव जिवन लाई भौतिक रुपमा सुखी बनाएको देखिएता पनि व्यवहारिक रुपमा यसले सिर्जना गरेका समस्याहरू समेत अदृष्य रुपमा बिकराल बन्दै गएका छन् ।

परिवार एकल बन्दै छ । एकल परिवारका सन्तान समेत देशमा राख्न सक्ने अवस्था छैन । एकल परिवारको वृद्ध समाज एक्लोपनामा रुपान्तरित हुन बाध्य भएको छ । छोराछोरीलाई विदेश पढन पठाउनु छोराछोरीको चाहना मात्र होइन आमा बाबुको सामाजिक प्रतिष्ठाको विषय समेत बनेको छ । एकातिर छोराछोरी विदेश पढन पठाउनुलाई समाजमा प्रतिष्ठाको विषय बनाउने तर अर्कोतिर बुढेसकालमा छोराछोरी आफ्नो साथमा नभएको भनेर सामाजिक सञ्जाल तताउदा आजको युवा पुस्ता निकै तनावमा रहेको छ । अध्ययनको लागि होस् वा पेशा व्यवसायको लागि घर छाडेका युवा एकल परिवारको रुपमा वस्न बाध्य छन् । दुई पुस्ता दुई तिर एक्ला एक्लै बस्न बाध्य हुँदा परिवारमा दोहोरो समस्या सिर्जना भएको छ । एकातिर सहरमा श्रीमान श्रीमती जागिरे हुँदा छोरा बुहारी बच्चा हुर्काउन समेत नसक्ने अवस्थामा पुगेका छन् भने अर्को तर्फ गाउमा वृद्ध बुबाआमालाई बिरामी भएको अवस्थामा तातो पानि दिने व्यक्ति समेत नभएर बेसाहारा अवस्थामा बस्नु पर्ने अवस्था रहेको छ । दुवै पुस्ता एक्लो बसाइबाट श्रृजित समस्या झेल्न नसकेर एक अर्का संग असहमत छन् । यस प्रकारका अदृस्य पारिवारिक तथा सामाजिक समस्यहरू बढदै जाँदा बिकराल समस्या सिर्जना हुने देखिन्छ ।

श्रीमान् श्रीमती दुवै आ आफ्नो पेशा व्यवसायमा लागेको एकल परिवारमा दुवैलाई आ आफ्नै करिएरमा समय दिनुपर्ने बाध्यात्मक अवस्था रहन्छ । एकले अर्कोलाई सहयोग गर्न सक्ने अवस्था रहेन । त्यसो हुँदा घरायसी काममा कसले समय दिने ? घरायसी कामको व्यवस्थापन कसरी गर्ने ? बच्चाको हेरचाह तथा पढाईको लागि समय कसले दिने ? श्रीमान श्रीमतीका वृद्ध बुबाआमाको हेरचाह तथा औषधि उपचारको लागि लागि समय व्यवस्थापन कसरी गर्ने ? यी सबै बदलिँदो समयले सिर्जना गरेको एकल परिवारका अव्यक्त पीडादायी समस्याहरू हुन । एकल परिवारका दुवै जना सदस्यले काम नगर्दा आजको महँगीमा सहज रुपमा परिवार चल्ने अवस्था छैन । काम गर्दा घरायसीतथा सामाजिक जिम्मेवारी पुरा गर्न सक्ने अवस्था छैन । क्रमिक रुपमा विकसित हुँदै गरेको समाजमा परिवारको लागि यो ठूलो समस्या बनेको छ भने राज्यको लागि चुनौति बन्दै गएको छ । यसबारेमा राज्यले ठोस योजना बनाउन आवश्यक देखिन्छ ।

व्यक्तिगत रुपमा तपाई कति नैतिकवान, पेशा प्रति इमान्दार, राष्ट्रप्रति समर्पित नागरिक हुनुहुन्छ ? समाजमा त्यसको कुनै मूल्य छैन । बस तपाईंले कति सम्पत्ति आर्जन गर्नु भएको छ । समाजमा त्यसको मूल्य छ । जुन सुकै स्रोतले सम्पत्ति आर्जन गरेता पनि घर, आफन्त र समाजले श्रोत भन्दा बढी सम्पत्ति कसरी आर्जन भयो ? भनेर कहिल्यै प्रश्न गर्दैन । गर्छ त केबल इमानमा बस्ने व्यक्ति माथि, फलानोले जीवनमा केही गर्न सकेन । समाजको मनोविज्ञानले व्यक्तिगत उन्नति र प्रगतिको मापन सम्पत्ति आर्जन नभएर व्यक्तिगत इमान्दारितालाई नअगाल्दा सम्म बढ्दै गएको सामाजिक विकृति र समस्याहरूलाई समाधान गर्न सकिने छैन ।

राज्यलाई आफ्ना नागरिक माथि विश्वास छैन । नागरिकताको प्रमाण पत्र र शैक्षिक प्रमाण पत्रको आधारमा राज्यले नागरिकलाई लगानि गर्ने विद्यमान अवस्था र कानुनी व्यवस्था दुवै छैन । निम्न वर्गिय परिवारमा जन्मिएको व्यक्तिसँग सो बाहेक अरु केही हुँदैन । देशमा रोजगारीको सहज अवस्था छैन । त्यसैले निर्विकल्प एउटा मात्र विकल्प छ, विदेश यात्रा । चाहेर होस् वा नचाहेर कुनै पनि सरकारले आजको मिति सम्म स्वदेशमा सहज रुपमा गरी खान दिने अवस्था सिर्जना गरेन । यहि पद्दति र प्रवृत्तिले भोलिको दिनमा सुधार आउला भन्न सकिने अवस्था देखिँदैन ।

अस्तव्यस्त बसाइले परिवारमा सम्बन्धविच्छेदको दर बढदो छ । बुढ्यौली पुस्ता बेसाहार भएर रोगसँग लड्दै बसेको छ । बालबालिका जेष्ठ नागरिकसँग इतिहास र संस्कार सिक्न सकेका छैनन् । त्यसैले यस्ता समस्या समाधानका लागि व्यक्ति, समाज र राज्यले बेलैमा सोच्न आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज