धेरै कानुन व्यवसायी भएको मुद्दामा पेशीका दिन पक्षको तर्फबाट बहस पैरवी गर्न अदालतमा उपस्थित हुँदा पक्षकै कानुन व्यवसायीबीच अन्यौल सिर्जना भएको हुन्छ । कसले Opening गर्ने, कसले कुन विषयमा बोल्ने, कति जनाले बहस गर्ने कुनै निश्चित टुंगो हुँदैन । समयसीमा तोक्न नसकिने जटिल वा धेरै कानुन व्यवसायीकै प्रतिनिधित्व हुनैपर्ने र गर्नैपर्ने बाहेकका मुद्दाहरूमा चाहिँ आदेश, फैसला गर्ने प्रयोजनका लागि बेन्चले प्रत्येक पक्षलाई निश्चित समय दिएको हुन्छ । निश्चित समयमा सक्नेगरी समय व्यवस्थापन गर्नुपर्ने मुद्दामा लिडिङ लयरले आफ्नो पक्षका लागि समय व्यवस्थापन गर्न अत्यन्त जरुरी हुन्छ ।
यसरी समय व्यवस्थापन गर्दा योग्यता, क्षमता र विज्ञताकै आधारमा बहस गर्ने वरिष्ठ अधिवक्ता, अधिवक्ताहरूको चयन गरिनुपर्छ । यसरी चयन गर्दा योग्यता र क्षमता भएका युवा कानुन व्यवसायी, नवोदित कानुन व्यवसायी र कानुन व्यवसायी महिलाहरूलाई समेत समावेश गराइनुपर्छ ।
कहिलेकाहीँ त्यो निश्चित समयमा सक्नुपर्ने मुद्दामा Opening गर्ने कानुन व्यवसायी वा लिडिङ लयरले नै सबै समय वा अधिकांश समय बहस गरिदिएर समय सकिने अवस्था हुन्छ । त्यसपछि त पक्षले वकालतनामा दिएका अन्य कानुन व्यवसायीले के बहस गर्ने, बहस गर्न समय पाउने कि नपाउने रु अघि बहस गर्ने कानुन व्यवसायीले बहसमा उठाउनै पर्ने छुटाएका महत्वपूर्ण विषय बहसमा कसले उठाउने लगायतका अन्यौल कायमै रहन्छन् । त्यसपछि कतिपय कानुन व्यवसायीले त बेन्चको आदेश विपरित पनि श्रीमान् मेरो नयाँ कुरा छ, १ मिनेट भन्दा बढी समय लिन्न भन्दै बहस गर्न थाल्छन् र नथाकुन्जेल बहस गर्छन् । अर्को पक्षले उहाँहरूको समय सकिसक्यो पनि भन्न भ्याउँछन् र बेन्च समक्ष बाँकी कानुन व्यवसायीहरूको नाम टिपाउने होड चल्छ । बहस गर्ने वकिल र नाम टिपाउने वकिलका बारेमा आजभोलि जो चर्चा छ, त्यही हुन्छ ।
यसर्थ लिडिङ लयर वा पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य कानुन व्यवसायी वा पक्ष स्वयंले नै आफ्नो पक्षका तर्फबाट ककसलाई बहस गराउने, कसलाई कुन विषयमा बहस गर्न अनुरोध गर्ने र समय अभावका कारण नभ्याउने अवस्था भएमा धेरै कानुन व्यवसायीले बहस गर्न नसकिने भो भनेर अन्य कानुन व्यवसायीलाई No भन्न पनि सक्नुपर्छ । यसले गर्दा कानुन व्यवसायीहरूको इज्जत, मानप्रतिष्ठा पनि बढ्छ र एउटै मुद्दामा धेरै कानुन व्यवसायीहरूको वकालतनामा राखेर अदालतको समय बर्बाद बनाउने र मुद्दा लम्बिने, लम्ब्याउने एउटा समस्याको चाहिँ समाधान गर्न थोरै भएपनि मद्दत पुग्छ ।
यस विषयमा पक्षका तर्फबाट वकालतनामा पेश गरेका तर इजला ससमक्ष बहस नगरेका, गर्न नपाएका कानुन व्यवसायीको नाम टिपाउने प्रचलनलाई निरुत्साहित गर्न पनि जरुरी छ ।
मुद्दा लम्बिने, लम्ब्याउने, ढिलाइ गर्ने, मुद्दा रोक्ने लगायतका अन्य समस्याहरू त अन्य विधिबाटै समाधान गर्न जरुरी छ । अदालतका तर्फबाट सिर्जित समस्याहरू अदालतले नै समाधान गर्नुपर्छ । तर कानुन व्यवसायीका तर्फबाट बहस व्यवस्थापनमा अदालतलाई सहयोग गर्नु पनि कानुन व्यवसायीको दायित्वभित्र पर्दछ ।