कुरो सन २००० को हो पुना विश्वविद्यालय को वि. एल. को सामान्य अध्ययनबाट राम्रै उत्तीर्ण गरेको म, एक्कासि विशाल देश, वृहत लोकतन्त्र, सफल संघीयता र उत्कृष्ट संविधानसँग एकैपटक कक्षा कोठामा ठोकिन पुग्दा नमज्जा सग आतिएछ एल. एल.एम. को पहिलो क्लास मै संवैधानिक कानुनका गुरु प्राध्यापक एच. एम. हिरानी आए अनि परिचयात्मक कार्यक्रमपछि भोलि ट्युटोरियल हुन्छ भारत को संविधान अधोपान्त पढेर आउनु प्रश्न गर्छु भने। परेन फसाद, त्यो पनि अङ्ग्रेजी मा लिखित संविधान, प्रा हिरानी हेर्दैमा धेरै कडा । पहिलो दिनमै भारतको संविधान कहाँबाट पढ्ने, के पढ्ने र कसरी पढ्ने रनभुल्ल वि.एल. मा नेपाल ल क्याम्पसमा बुझेको संवैधानिक कानुन भनेको मौलिक हक र राज्यका नीति निर्देशक सिद्धान्त मात्र हो भन्ने लाग्थ्यो । जब भारतको संविधानको पुस्तक खोलियो अनि दिमाग खराब । भोलि पल्ट प्रा. हिरानीले रोल न अनुसार प्रश्न सोध्न सुरु गरे एकएक गरि मेरो पालो सम्म आइपुग्दा उनको प्रश्न थियो, संघीय भारतमा संघ र राज्यबीच पानीको बाँडफाँड कसरी ब्यवस्था गरिएको छ ? एकात्मक प्रणालीबाट गएको म प्रश्न नै बुझिन अनि पानीको सम्बन्ध बाँच्न पाउने अधिकार र राज्य को दायित्वसँग जोडेर उत्तर दिँदै थिए प्रा. हिरानी रातो मुख बनाएर बिचमै रोके अनि भने, मिस्टर नेपाली यु गट रेसपेक्तेड जिरो (तिम्ले शून्य नम्बर पाएका छौ) । पहिलो हप्ता नै जिरो पाएसी के भो होला हालत। जबर्जस्त रूपले आँशु रोके, आखा भरि बाबु आमा को तस्बिर याद आयो धेरै अत्यास लाग्यो । अनि त्यसपछि थालियो पागल सरी पढ्न । जति पढे नि नबुझ्ने भारत को संविधान यति पढ्न थालिएछ की पढेको नै बिर्सिन थाले जस्तो लाग्न थाल्यो ।
एकदिन हतार हतार क्लासमा जाँदै गर्दा गुरुकुल आश्रम नेर प्रा हिरानीसँग भेट भो अनि प्रणाम गरेपछि मेरो हात समातेर सोधे मिस्टर नेपाली तिम्रो पढाइ कस्तो छ ? उनको प्रश्नमा जति पढे पनि बुझ्न नसकेको उत्तर दिएपछि तिम्रो मिहेनत पुगेन गोर्खाली झैँ अझै आत्मविश्वास लिएर पढ्नु भारतीय विद्यार्थीसँग प्रतिस्पर्धा जो गर्नु छ । प्रा. हिरानी को सुझाबले अलि हौसला बढायो अनि पढ्ने समय को रफ्तार पनि बढाइयो । घण्टौँ घण्टा त्यो विशाल पुस्तकालयमा कानुनका किताब, अल इन्डिया रिपोर्ट, सुप्रिम कोर्ट केसेसमा आफूलाई हराइयो । केही हप्तापछि अर्को पटक फेरी सोही स्थान मा भेट हुँदा उनले सोधे कस्तो छ त अहिलेको अवस्था बुझ्न थालियो ? अब पनि बुझिएन भन्न डर लाग्यो, बुझिएन भन्दा झन् बेइज्जत होला भन्ने डरले प्रा. हिरानी अब त बुझे, प्रस्ट भो भारत को संविधान। मैले बुझे के भनेको थिए, उनीसँगै रहेका अरू दुई प्राध्यापकहरू तिर फर्केर जोडले हाँसे अनि उनीहरूलाई भने, “मैले ३० वर्ष पढाएर त भारत को संविधान बुझेको छैन यो नेपालीले ३ महिना पढेर पूरै संविधान बुझ्यो रे । अन्य दुई प्रोफेसरपनि मज्जाले हाँसे अनि उनले भने, अझ मिहेनत गर तिम्रो मिहेनत पुगेन । त्यो हाँसो अझै कानमा गुज्जि रहन्छ तर रिस को होइन प्रेरणा को र मिहेनत गर्नु पर्ने सन्देशको। लागियो अबको पालो दैनिकी ६ घण्टासम्म पढ्न। फेरि केही हप्ता पछि गुरुकुल नेर भेट्दा उनले सोधे अब कस्तो छ त तिम्रो बुझाइ ? मैले भने गुरु अब चाहिँ जति पढ्यो उति बुझे जस्तो लाग्छ जति बुझ्यो उति कन्फ्युज हुन्छु । झन् बुझ्या जस्तो लाग्यो झन् कन्फुज के गर्ने होला ? अनि गुरुले भने बल्ल लाइनमा आको छौ संविधान, कानुन यति सजिलै बुझिन्न , जति पढ्यो उति ज्ञान बढ्छ तर उति कन्फ्युज पनि हुन्छ कन्फ्युज हुनु भनेको बुझ्न तिर लाग्नु हो, आफ्नो दिमाग फराकिलो हुँदै जानु हो, अनि तुलनात्मक अध्ययनको ज्ञान बढ्दै छ भन्ने हो। उनले थपे कानूनको विद्यार्थी होस, या कानुन व्यवसायी होस या न्यायमूर्ति जहिले पनि कानुनका विषयले दुविधाको अवस्था ल्याउँछ किनकि कतिपय कानुनले सबै कुरा प्रस्ट बोल्दैन।
अनि त्यो दुविधा लाई आफ्नो स्वतन्त्र दिमागले प्रस्ट पार्न सक्नु पर्छ । गुरुको त्यो सन्देश अहिले पनि कति कानुनका विवादहरू आउँदा, पक्षहरूको प्रतिनिधित्व गर्दा सुरुमा दोधार हुन्छ अनि जब फाइल पढ्न थालिन्छ, नजिर पढ्न थालिन्छ प्रस्ट हुँदै हुन्छ। हुन त हाम्रा नजिरहरू प्रस्ट पार्ने भन्दा नी झन् दोधार पार्ने खालका छन् । गुरुले बेला बेला बोलाएर सोध्ने कारण नै विश्व विद्यालय छोडेर व्यवसायमा जाँदा व्यवसायिक सीप पनि लिएर जाओस् भन्ने सोचेका रहेछन् । त्यसैले होला उनको च्याम्बरमा बेला बेला बोलाएर नेपालको राजनीति कानुनकाबारे सोधी रहन्थे मलाई सर्भिलिएनसमा राखी रहन्थे ।
एल. एल. एम. पढाइ को रफ्तार यस्तो भएछ कि पहिलो सेमेस्टर सकिने बेला सम्म त मलाई पढ्नबाट डर लाग्न थाल्यो, सक्दिनँ भन्ने लाग्यो अनि अति गारो भएसी घर फर्किने सोच गरे । एकदिन मेरो मित्रले म रात भरि निदाउन छाडेको देखेर अस्पताल लगे, डाक्टरलाई सबै कुरा भनेसी औषधी दिए अनि बुबा ले नासिक मा विपश्यना गर्न जाने सल्लाह दिएपछि सेमेस्टर सकिना साथ १० दिन को विपश्यना गरे । बिस्तारै साहस बढ्दै गयो । सन् २०२० को कोभिडको बेला पुरानो एलबमको झोलासँगै उसबेला खाएको औषधी को खोल पनि भेटे । कौतुहल लाग्यो के बिरामी को औषधी ३ महिना सम्म खाए को थिए उसबेला भन्ने । तुरुन्त मेरो डाक्टर साथीलाई सोधे अनि उसले भनेसी थाहा पाए मैले मानसिक तनाव को, इञ्जाइटी को औसधि खाएको रहेछु । एल. एल. एम सारै कडा रहेछ । विपश्यना गरेपछि अर्को ३ सेमेस्टर ध्यान गरिरहे, पढाइ मा एकीकृत गर्न सजिलो भयो । एल एल एम राम्ररी सकियो विपश्यना बिर्सियो।
अहिलेको कुरो २०२४ फेब्रुअरी महिनाको हो ।
विश्वविद्यालय छोडेको २२ वर्ष पछि फेरि उही पुगे पुना विश्व विद्यालय। मेरो सहपाठी प्राध्यापक भई विभागीय प्रमुख भइसकेका रहेछन् । आफै अतिथि लेक्चर भएर विश्व विद्यालय जाँदाको खुसी को सिमा रहेन । अतिरिक्त क्रियाकलाप को उद्घाटन पनि गरियो अध्ययन का संघर्ष का इतिहास शेयर गरियो । प्राध्यापक साथीसँग एकछिन कुराकानी पछि मैले २२ वर्ष अघि त्यही विभागबाट बिदा भइ काठमाडौं फर्केको प्रिय विभागीय प्रमुख गुरु प्रो. हिरानी बारे मा सोधपुछ गरेपछि उहाँसँग कुरा गर्ने इच्छा व्यक्त गरे । मेरो साथी ले फोन लगाइदिए र उनले मेरो परिचय नदिइ , सर तपाईं को पुरानो विद्यार्थी मेरो विभागमा आको छ तपाईँसँग कुरा गर्न चाहन्छ। मैले फोन पाएसी, हेल्लो सर हाउ आर यू ?” भनेर सोधे । मैले त्यति मात्र के सोधेको थिए, उनले भने, “तु आदमी हे लेकिन तेरा नाम औरत का हे । यो शब्दले जति सायद मलाई केहीले अहिलेसम्म अचम्भित पारेको छैन । २२ वर्ष अघि विश्व विद्यालय छोडे देखी उनीसँग न भेट भो न गफ गाफ। करिब ८५ वर्ष पुगेका प्रो. हिरानीले दुई शब्दमा नै मलाई चिने । मलाई आफै गौरवान्वित महसुस भयो ।
सरोज मेरो नाम
कक्षाको पहिलो दिन परिचयात्मक कार्यक्रममा मैले आफ्नो नाम बताउँदा महाराष्ट्रका साथीहरू मेरो नाम सुनेर गलल्ल हाँसे प्रो. हिरानीसँग पछि बुझ्दा थाहा भयो महाराष्ट्रमा “सरोज” भन्ने नाम महिला को मात्र हुने रैछ ।
हुन त म कानुन को सामान्य विद्यार्थी थिए तर गुरुहरूको विश्वास, भरोसा र माया यति लिन सकेको रहेछु की २२ वर्ष सम्म गुरु को दिमाग म जीवितै रहेछु एउटा असल विद्यार्थीको रूपमा । हामीले आजकल कानुनको अध्ययनलाई ब्यापार बनाइसकेका छौं । प्राध्यापन त कर्म काण्डी जस्तै । न प्राध्यापकलाई विद्यार्थीको बारे थाहा हुन्छ न विद्यार्थीले चाहे अध्ययन गर्दा होस् वा अध्ययन पश्चात नै प्राध्यापकलाई चिन्छ याद गर्छ अपवाद बाहेक । शिक्षा खरिद बिक्री जस्तो उत्तरदायी विहीन । एल. एल. एम. आनन्द को सजिलो।
अहिले आएर मैले बुझेको कुरो के हो भने आफू भन्दा अग्रजहरूको आँखामा इमान्दार, मिहिनेती, विश्वासिलो, शालीन, भद्र र आशावादी हुन सक्यो भने अग्रजहरूले कहिले नबिर्सिने मात्र होइन उनीहरूको माया र विश्वास जित्न सकिन्छ सहयोग र उत्प्रेरणा पाईरहन्छ । चाहे त्यो अध्ययनमा होस् चाहे व्यवसायमा होस् असल सम्बन्ध र इमान्दारिता व्यवसायिक सहयोग र प्रेरणाका महत्व पूर्ण आधार हुन् । जसले प्राध्यापक र शिष्य अनि अग्रज र कनिष्ठ बीच जुगौँ जुग जोडी रहन्छ । यादगार भई रहन्छ ।