अदालत न्यायको प्रसाद बाँड्ने मन्दिर हुने हो, फैसलाको भण्डारण होइन

मेरो अघिल्लो दुई हप्ताका आलेख जसले पढ्नु भयो उहाँहरूलाई बेलायतको बसाइमा मैले सारै दुःख पाएछु भन्ने लग्यो होला । त्यो सबै सत्य होइन । सायद मैले र रोशनीले बेलायतमा बिताएको १८ महिना हाम्रो जीवनको रोमान्चित समय हो । दुखः त जीवनको एक पहेली नै भै हाल्यो । ठाउँ अनुसार र समय अनुसारको दुखबाट कोही पर जानै सक्दैन । युरोप अमेरिका  अस्ट्रेलिया मा  अहिले सम्पन्न भएर बस्नेहरूको  पनि सुरुवाती दिन कष्टप्रद भएको धेरैले सुनाउनु हुन्छ । केही दुख लाग्ने ( त्यो पनि नेपाली आडम्बरबाट ग्रसित भएको कारणले ) काम बाहेक बेलायतमा बिताएको समय हाम्रो लागि अविस्मरणीय रहेको छ । कहिले समुन्द्री किनार, कहिले थेम्स नदिमा बोट पार्टी, कहिले लन्डन टुर, कहिले बारबीक्यू, कहिले बार क्लब  अनि कहिले नाचगान त कहिले मेला, फुटबल अनि लङ  ड्राइभ ले लन्डन को बसाइ यादगार छ  ।

एल एल एमको पहिलो सेमेस्टरमा ग्रायजुयट मेरिट अवार्ड २००७  ( Graduate merit Award 2007) पायेसी लन्डन अवस्थित कलेजहरूमा पार्ट टाइम  प्राध्यापन गर्ने मौका मिल्यो । सायद चित्त बुझ्दो पढाए नै होला । एक समय त ३, ३  वटा कलेजमा सिजनको बेला भ्याइ नभ्याई प्राध्यापन गरिन्थ्यो । अरु बिदाको दिन ब्ल्याकहिथको सेफर्ड फुड्स छँदै थियो । दोस्रो सेमेस्टरमा पनि ग्रायजुयट मेरिट अवार्ड २००८  प्राप्त गरेपछि एक मन बेलायत मै बसी प्राध्यापन गर्ने अनि कानुन व्यवसाय मा लाग्ने सोच भयो । उसबेला विदेशी कानुन व्यवसायीका लागि क्यु एल टि टि (Qualified Lawyers Transfer Test ) कानुन व्यवसायी ट्रान्सफर टेस्टको ब्यवस्था गरेको थियो ल सोसाइटी अफ इङ्ग्ल्यान्डले । विदेशी कानुन व्यवसायीले यो परीक्षा पास गरेपछि सोलिसिटरको रुपमा दरिन पाइन्थ्यो । सोलिसिटर पास गरेर, उता स्नातकोत्तर पास गरेपछि २ वर्ष पोस्ट स्टडी वर्कर ( Post Study Worker PSW) भिसा नि पाइने । कामको समय असीमित, त्यसैले धेरै साथीहरूले नेपाल फर्किने कि बेलायत बस्ने भनी सोधनी गर्न थाले । सन् २००८ को मे महिनामा वुल्विच अवस्थित क्विन एलिजाबेथ अस्पतालमा ( Queen Elizabeth Hospital ) छोरा जन्मियो । छोरा जन्मिएपछि चै झन् सोध्ने काम बढी भयो भने हामीलाई नि दोधार बनायो । तर रोशनी र म के कुरामा ढुक्क थियौ भने हाम्रो बसाइ पढाईका लागि मात्र हो । हामी नेपाल फर्केर आफ्नो कानुनी व्यवसाय गर्ने हो । छोरा जन्मिनु एक वर्ष जति अघि बेलायतको कानुनले जन्मेको आधारमा नागरिक हुने प्रावधान हटाएर ३ वर्ष बसोबास गरेको बनाएछ । ३ वर्ष बसेर नागरिकताको सुविधा लिनु भन्दा नेपाल फर्किनु नै हाम्रो योजना थियो । अन्तमा हामी फर्कियौँ । नेपाल फर्किसकेपछि पनि म दुई पटक अनि रोशनी एक पटक काम कै सिलसिलामा बेलायत पुग्यौ । बेलायत पुगेर नेपाल हेर्दा कत्ति पनि पश्चाताप लागेन । तर बेलायत मै भएको भय बाबु नानीलाई धेरै सजिलो हुने रहेछ भन्ने कुरा मनमा लागि रहन्छ र अहिले पनि यहाँ को परिस्थिति हेर्दा बेला बेला सताइरहन्छ । तर त्यसको न कुनै अवसर छ, न सम्भावना, न चाहाना । त्यो पनि बाबुसँगै जन्मेका बच्चाहरूको सुविधा र अन्तर्राष्ट्रिय अवसरहरुको सम्भावनाहरू देखेर मनमा लाग्छ तर  हामी के कुरामा ढुक्क थियौं भने धेरै बच्चाको भविष्य बाबु आमाको मिहेनत र  करियरमा अनि परिवारको सहयोगमा पनि भर पर्छ । यदि बाबु आमाले राम्रो गरे भने बच्चाहरूले सुविधा पाई हाल्छन । त्यसैले भविष्यमा सुविधा होला भन्नु भन्दा बर्तमानमा दुखः गरियो भने भविष्य सुनिश्चित हुन्छ भन्ने कुरामा हाम्रो सहमती थियो । अनि यता नेपालमा बाबु आमासँगको साथ, सहयोग र अभिभाकत्व अनि बच्चाहरुको सहज पालन पोषण पनि मुख्य विषय भएको हुँदा हामी पर्किएका थियौँ ।

मानव अधिकार आयोगको जागिर छोडेर बेलायत आएकी रोशनीलाई पढ्ने व्यवस्था त मिलाउन सकिएन । तर उनले भिक्टिम सेन्टर लन्डनमा ( Victim Centre London ) प्रो बोनो काम र प्रशिक्षण लिईन । यस बाहेक उनले गरेको कस्ट पूर्ण कामको आफ्नै कहानी छ । पछि रोशनीको स्वस्थ अनुकुल नाभएपछी आराम गरेर बस्नु पर्ने अबस्था आयो उनलाई  । सन् २००८ को मे महिनामा बाबु जन्मियो । यति बेलासम्म रोशनीलाई बेलायतमा श्रमको राम्रो अनुभव भएको थियो र मानब अधिकार पढेकी उ बेलायतमा मानबधिकार सम्बन्धि काम पाउने सम्भावना छैन भन्ने नि देखियो । अर्को तिर बुबा र आमालाई भरतपुरमा  छोडेर बेलायत गएका हामी ठुली बैनीलाई भरतपुर घरमै अनि सानी बैनी नजिकै गैडाकोट घर भएकोले बाबु आमाको ख्याल गर्ने जिम्मा दिइयो । अनि नेपाल फर्की बुबा आमासँगै काठमान्डू बस्ने र कानुन व्यवसाय गर्ने भन्ने योजनामा हाम्रो दृढ सोच थियो । हुन त म सन् २००२ मै भारतबाट एल एल एम गरेर फर्की कानुन व्यवसाय र प्राध्यापनमा लागेको थिए । मलाई भारतको कठोर एल एल एमले पुगेको थिएन । म बिन्दास तरिकाले बेलायतमा अर्को  एल एल एम गर्न चाहन्थें । नभन्दै अवसर पनि आयो । त्यसलाई मैले छोडीन । भारतमा एल एल एममा एउटा मुख्य विषय बेलायतको संविधान र प्रशासनिक कानुन पढेको हुनाले पनि बेलायत नै बुझ्नु पर्यो भन्ने थियो मलाई ।

म एल एल एम मेरिटमा अवार्ड २००७ र २००८ प्राप्त गरि उतिर्ण भए पश्चात दिक्षांत समारोहमा प्रमाण पत्र लिनु थियो | सबैले जस्तै बुबालार्इ र आमालाई बोलाउनु थियो । अनि बुबा आमालाइ बेलायतमा जन्मेको बेलायती नाति पनि देखाउनु पर्ने थियो । तर बुबाले बाबु तिमि र रोशुको अनुपस्थितिमा हाम्रो हेरबिचार बैनीहरुले गरेका छन् त्यसमाथि पनि ठूली बैनी हामिसँगै बस्ने हुनाले ठूली बैनी गंगालाई बोलाउ भन्नुभयो । ५ महिनामा त तिमीहरु फर्की हाल्छौ भन्ने बुबाको कुरामा दम लाग्यो । समयले मात्र जेठो म मेरो ठुली बहिनी मेरो हरेक पलको साथी अनि साक्षि पनि थिइ । सानी त सानी नै भैहाली । स्कूल पढ्दासम्म मेरो किताबको उत्तराधिकारी यो कहिले नयाँ किताब पढ्न नपाएकोमा आज सम्म पनि उसको गुनासो कायम छ । उसको मुखबाट तिमि र तपाइँ सुन्न नपाएको म उसले अहिले पनि तँ भनेर सम्बोधन गर्दा खुसि लाग्छ । यो बैनीको सामाजिक संघर्ष र उसले भोगेका पिडा हाम्रो घरको बिर्सिन पर्ने घटना हो उसको संघर्ष ले मलाई कानूनी अध्ययनका लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा घचघचाई रहे । अनि यसका आरोह अवरोह मेरो जीवनको आत्मविश्वास र भरोसा बनिरहे । बहिनिको संघर्ष, व्यथा र पारिवारिक दायित्व राम्ररी बुझेकि रोशुले बहिनिलाई  बोलाउन भोलिपल्ट देखि नै कागजातको काम  सुरु गरिन । भिसाको काम भारतबाट हुने, अफसोच भिसा लागेन । मेरो ग्राजुएसन सकियो । बैनीको यात्रा योजना मै रोकियो  ।

बैनीको भिसा रेजेक्सन लेटर हेरें आफुलाई दुख लाग्यो । दीक्षांत समारोहमा बोलाउदा समेत भिसा नदिने अध्यागमन अधिकारिको भिसा नदिने पत्रले दुखिः बनायो । सरसर्ती पढें पहिलो कुरा त भिसा पाएसी फर्किदैन भन्ने लागेछ । बेलायतको यात्रालाई खर्च गर्न सक्दनौ भन्ने लागेछ । अनि बैनीले बुझाएकी कागजात र बैनीको राष्ट्रियता भारतसँग जोडेर हेरेछ । दिक्दार लाग्यो । एउटा नेपालीले नेपालबाट गरेको आबेदनलाई  कसरि भारतीय आबेदनको दर्जामा राख्यो भन्ने । मलाई चित्तै बुझ्दै बुझेन । पहिलो कुरा त दिक्षांत समारोहमा आउन रोक लगायो । अर्को हाम्रो नेपाली राष्ट्रियता माथि अध्यागमन अधिकारिले ठाडो चुनौती दियो । हामीलाई भारतीय ठान्यो । लाग्यो अझै नेपाल भारतको औपनिबेसमा छ भन्ने सोच तोड्नु छ र हामि नेपाली हौ भिसा को आबेदन मात्र भारत स्थित कन्सुलर अफिस बाट गरेको हो भन्ने प्रमाणित गर्नु थियो । भिसा अधिकारिको भिसा इन्कारीलाई लिएर । त्यसै त म भारतमा अध्ययन गर्दा दुई वर्ष भरि नेपाल सार्बभौम राज्य हो, न बेलायतको औपनिबेश हो न भारतको कुनै राज्य/ प्रान्त हो | नेपाल सगरमाथा र लुम्बिनी को देश हो अनि सगरमाथा र लुम्बिनी केवल हाम्रो हो भन्ने कुरा मेरा महाराष्टियन (Maharashtrian ) सहपाठीहरुलाई बुझाउदैमा गयो । अब यता भारत अवस्थित बेलायत कन्सुलरलाई नि सोहि कुरा बुझाउनु पर्यो भन्ने लाग्यो अनि भिसा अधिकारिको निर्णय बिरुद्द लन्डनमा पुनराबेदन गर्ने तयारी गरे । पुनराबेदन आफै लेखे गज्जबको लेखे जस्तो लाग्छ ।

यती बेला सम्म मैले लन्डनको फ्यारिन्ग्दन (Farringdon) अवस्थित ल फर्ममा विदेशी कानुन ब्यबसायीको हैसियेतमा सुरुमा इन्टर्न्शिप गरे । अनि बिसतारै फर्मलाइ अध्यागमन बिषयमा कानुनि सहयोग गर्न सुरु गरे । करिब १०/१२ वटा अध्यागमन सम्बन्धि विषयमा नेपालि, भारतीय पाकिस्तानी, बंगलादेशीहरुको कथा लेख्ने र इमिग्रेसन त्रैबुनलमा धाउने र उनीहरुको पक्षबाट न्यायमुर्तीको सामुन्ने कुरा राख्ने काम गर्न थालेको थिए । बैनीको लडाई आफैं लड्ने सोचले पुनराबेदन गरें । पुनराबेदन गर्दासम्म मेरो दिक्षांत सकिसकेको थियो । एक दिन पत्र आयो सुनुवाइको दिन र समय तोकेर ।

बेलायतमा अदालतले नै पत्र काटेर समय तोक्ने गर्छ सुनुवाईको । यदि सुनुवाईको दिन उपस्थीत  हुन् सकिदैन भने पहिले नै निबेदन दिएर अर्काे दिन माग्नु पर्छ । यहाँको जस्तो होइन सुनुवाईको दिन मुद्दा हटाउने, त्यो पनि कति अवस्थामा न्यायमूर्ति हेरेर शोप्पिंग गर्ने हुनै सक्दैन । सुनुवाईको दिन विषेश तयारीका साथ ३० मिनेट अगाडी नै म अदालत पुगें आफु आएको रेपोर्टिंग गरे । अनि तोकिएको इजलाश बाहिर कुरे । सरकारी वकिल पनि आइपुगे । अघिलो मुद्दा समय मै सकिनासाथ इजलास अधिकृतले बोलाए । इजलास भित्र आफ्नो स्थानमा बसिसकेपछि न्यायमुर्तिले परिचय मागे । मैले भने श्रीमान म सरोज कृष्ण घिमिरे नेपालमा कानुन व्यवसायको प्रमाण पत्र लिई कानुन व्यवसाय गर्छु ।अहिले यहीबाट एल एल एम सकेको छु । आजको मुद्दामा म मेरो बहिनिको तर्फबाट वकालत गर्न आएको हुँ । उनले  भने तिमी यो मुद्धाको निवेदक तिमिलाई तिम्रो कुरा राख्न १० मिनेट दिईन्छ । सरकारी वकिललाई  प्रतिरक्षा गर्न ५ मिनेट र अन्तमा तिम्रो नयाँ कुरा राख्नु छ भने २ मिनेट ।  फेरी हाम्रो अदालत सम्झें, मुद्धामा अदालतले समय तोक्यो भने इस्सु बन्छ । निवेदक र प्रतिरक्षा गर्ने कानुन व्यवसायीले सानो कानुनि विषयमापनि घन्टौं घण्टा बहस गर्ने गरेका कयौं उदाहरण प्रत्येक दिन हामीले इजलाशमा देखिन्छ । मैले आफ्नो कुरा सिलसिलेवार तरिकामा राखें । त्यो भन्दा पहिले मेरा बहसको ब्रिफ बुझाइसकेको थिए । भिसा अधिकारिले मेरो पारिवारिक अवस्थालाइ राम्रोसँग विष्लेषण गर्न नसकेको, मेरो बाबु जिल्लामा भएपनि दरियेकै कानुन व्यवसायी र बेलायत सम्म यात्रा गर्ने कुरा हाम्रो आर्थिक अबस्थाबाट हेर्दा सामान्य कुरा, मेरो बैनी मास्टर्स गरि प्राध्यापन गर्ने र सामाजिक संघ संथासँग आबद्ध अनि बेलायतमा नै बस्नु पर्ने कुनै कारण नभएको र एउटा दाजुको लागि आफ्नो दिक्षांत समारोहमा बैनीको उपस्थितिको कति भावनात्मक सम्बन्ध र पारिवारिक महत्व हुछ भन्ने कुरा बेलायति अधिकारिले नबुझेको कुरा राखे । जुन देशमा पारिबारिक सम्बन्धलाई उच्च कोटीमा र पारिबारिक मिलनलाइ प्राथमिकतामा राखिन्छ त्यहि देशले पारिबारिक मिलनलाई बेवास्ता गरेको र अझ महत्व पूर्ण त मेरो राष्ट्रियता माथि गम्भीर प्रस्न उठाएको अनि हामि नेपालीको सार्बभौमिकता माथि जानकारी नराखेको कुरा व्यक्त गरे, मानब अधिकार र अन्तर्राष्ट्रिय कानुन र फैसलाको आधार लिएर । बहसको क्रममा  नेपाली गोर्खाली सेनाले बेलायतमा कसरी योगदान दिएको छन् र बेलायत र नेपालको सम्बन्धका बारेमा बेलिबिस्तार लगाएर एउटा बिद्यार्थीको महत्वपूर्ण दिनलाई पारिबारिक उपस्थितिमा अंकुश लगाएको निबेदन  एकस्वरमा अनि बिनम्र रुपमा प्रस्तुत गरे । सरकारी वकिलले ५ मिनेट भिसा नदिने कारण प्रस्तुत गरिसकेपछि मलाई न्यायमूर्तिले सोधे मिस्टर घिमिरेले तपाइले जुन उदेश्यले बहनिलाई बोलाउनु भएको छ त्यो उदेश्यत त समाप्त भैसक्यो अब त्यसको उपादेयता रहेन किन भिसा दिने ? भनि सोधे । जवाफमा मैले भने श्रीमान मैले बेलायतको सबैधानिक कानुन र प्रशासनिक कानुन भारतमा पढेको हुँ र अहिले यहीबाट एल एल एम सकेको छु । मैले पढेको प्रशासनिक कानुनमा बेलायतका अदालतहरुले गज्जबको नजिरहरु निकालेका छन् जुन हामी हाम्रो अदालतमा समेत चर्चा गर्छौ । अनि हाम्रा अदालतले तपाईका अदालतका गज्जबका निर्णयको आडमा धेरै महत्वपुर्ण फैसलाहरु गरेका छन् । प्रशासनिक निर्णय गर्ने अधिकारिले बिना पूर्वाग्रह, स्वतन्त्र निष्पक्ष हिसाबले निर्णय गर्नु पर्छ भन्ने मान्यता तपाईका अदालतले बोलिसकेका छन् र पारिबारिक मिलन मानब अधिकारको महत्वपूर्ण कुरा हो भन्ने कुरा तपाईका अदालतले स्वीकार गरेका छन् । यहाँको अदालतले मागको उपादेयता होइन निर्णयको आधार, कारण र निर्णय गर्दाको कानुनी अवस्था हेरेर गर्नु पर्ने अवधाराणा विकास गरेको छ । मेरो बैनीको भिसा इन्कारी गर्ने कुरा भिसा अधिकारि को हो भन्ने कुरामा मेरो दुइमत छैन तर त्यो अन्जान, पुर्बग्राही, अव्यवहारिक र असंगत हुनु हुदैन र तथ्यलाइ बेवास्ता गर्न मिल्दैन भन्ने मैले बुझेको हो त्यो पनि यही देशको कानुन न्यायका मान्यता पढेर अनि येही पढेर । तसर्थ  भिसा अधिकारिले गरेको इन्कारी बैधानिक छैन अनि हाम्रो राष्ट्रियतको पहिचान गलत गरेको कुरामा मेरो आपति छ । राष्ट्रियताको पहिचान नै गलत गरेर गरेको निर्णय कानुनसँग असंगत हुने हुँदा, निर्णय गर्ने अधिकारीको निर्णय प्रथम दृस्टीमा नै मिलेको छैन । मेरो दिक्षांत सकियो या सकिएको छैन महत्वपूर्ण होइन, भिसा इन्कारीको कारण बैधानिक छ कि छैन हो, त्यसैले तपाइको अधय्गमन कानुनले पुनराबेदन गर्ने व्यवस्था गरेको हो  । । तपाई भिसा दिनू  हुन्छ, भिसा अधिकारिको गल्ति सचिन्च्छ । मेरो  बहिनि लन्डन आउछे तपाईको सभ्यता, विकास र मानवता हेरेर फर्किन्छे, बेलायतमा न्याय पाइने रहेछ भन्ने बुझ्छे । अन्तमा भने श्रीमान नेपाल सधै भरि सार्बभौम छ । अनि म सार्बभौम रास्ट्रको नागरिक हो । तपाईको भिसा अधिकारिले के थाहा पाउनु पर्यो भने हामी बेलायतको भिसा नेपालबाट दिल्लीमा आबेदन गर्छौ तर हामी नेपाली हौं । श्रीमान मुसुक्क हाँसे अनि भने मिस्टर घिमिरे तिम्रो बहिनिलाई बेलायत हेर्न बोलाउ,  भिसाको स्वीकृती भएको फैसला अर्को हप्ता तिम्रो ठेगानामा आइपुग्छ । त्यसपछि उनले सोधे तिमीलाई के फरक लग्यो नेपालको अदालत र यहाँको बीच ? मैले भने श्रीमान सबभन्दा महत्वपूर्ण कुरा त समयको ब्यबस्थापन, मुद्दाको ब्यबस्थापन र पहिले नै बहस ब्रिफ बुझाउनु पर्ने अनि मुद्दा अदालतले दिएको समयमा नै हुने रहेछ । हाम्रो सन्दर्भमा यो कहिले सम्भव हुन्छ थाहाछैन । हाम्रो अदालतको मुख्य समस्या नै येही हो। सरकारी वकिलले त्यहि फैसला के आउने भो बुझिसकेपछि मसँग हात मिलाए मलाई बधाई दिए | मैले दुवै जनालाइ एक पटक नेपाल आउनु अनि हामि नेपालिको सार्बभौमिकता, प्रकृति, कला संकृति अनि हाम्रो आतिथ्यता हेर्नु भने | पछी  फैसला लिखित रुपमा घर कै ठेगानामा आयो, म नेपाल आँए,  बैनी बेलायत गई, घुमेर आइ ।

अवको कुरो सन् २०१७ को हो लन्डन बाट फर्केर आयेसीको । अघिल्लो हफ्ता अक्सफोर्ड र मिडल टेम्पल इन् मा भ्रमण गरेको लेखि सके । यो सन्दर्भ भने अस्क्फोर्ड बस्ने मेरो एकजना नेपालि पक्छ्य को कानुनि मामिला सम्बन्धि थियो जसको लागि मलाइ उनीहरु को बेलायति कानुन ब्यबसायी सग सहकार्य गरि लन्डन अबस्थित टेलर हाउसमा बेलायती कानुन ब्यबसायीसँगै उपस्थित हुनु पर्ने थियो ।  मसँग मेरो फाइल थियो । मेरो पक्षले बेलायति कानुन व्यवसायीको फाइल लिएर गएका थिए । मेरो पक्षले मलाई उनको मुद्दासँग सम्बीन्धत तर मुद्दालाई असर पुर्याउने कागजात राखेका रहेछन । जुन उनलाई समेत थाहा रहेनछ । मलाई पनि जानकारी दिएका थिएनन् । लन्डन अवस्थित उनको ल फर्ममा पुगियो किनकि मुद्दा को बिसय बस्तु सग छलफल र  मुद्दा सम्बन्धि तयारी गर्नु थियो । मैले आफ्नो फाइल खोलें उनलाई पक्षले फाइल नहेरी दिए । फाइलको पहिलो पन्नामा नै एउटा कागज भेटियो । जुन मुद्दालाई  गम्भीर असर गर्ने खाले थियो र हामि कानुन व्यवसायीसँग लुकाइएको थियो । हाम्रो पक्षलाई पनि त्यो कागज उसको बिरुद्द प्रयोग हुने भन्ने थाहा थियो तर कसरि त्यो कागज आयो थाहा भएनछ । नेपाल मै फाइलको प्याकेट उनका छोराले तयार गर्दा याद गरेनन् अथवा थाहा भएन । तर त्यो कागज नदेखाउँदा पक्षले हामिसँग मुद्दासँग सम्बन्धित कागज लुकाएको कुरा इन्कार  गर्न सक्ने अवस्था थिएन । ती बेलायती वकिलले गम्भीर हुँदै पक्ष लाइ प्रश्न गरे । किन हामीलाई यो तथ्य  लुकायौं ? हामि तिम्रो मुद्दा हेर्दैनौ आफ्नो फाइल लैजाउ । पक्षले लाख बिन्ति गरेपछि मात्रै उनले फाइल राखे केही भनेनन तर हामि बीच सल्लाह भयो कि यो तथ्य अदालत लाइ लुकाउन सकिदैन । भोलि अदालत जाने समय तोकियो अनि फेरी अक्सफोर्ड तिर हिडियो । भोलि पल्ट टेलर हाउसमा भेटेपछि हामि दुई कानुन व्यवसायी कानुन ब्यबसायी ले तयारी गर्ने कोठा मा भेटियो अनि हामी वीच छलफल भो, के गर्ने भन्ने बारे । फेरी निस्कर्ष मा पुगियो । हाम्रो निस्कर्ष रह्यो कि पक्षले कानुन व्यवसायीलाई मुद्दाको तथ्य बारे सम्पूर्ण विवरण खोलेका रहेनछन यो अवस्थामा जानी जानी वकालत गर्न सकिदैन । हाम्रो आचार संहिताले दिदैंन  भन्ने निर्णयमा पुगियो । सो को जानकारी पक्षलाई दीइसकेपछी इजलास भित्र छिरियो । बेलायती वकिलले पालो आउनासाथ न्याय मुर्तिलाइ माइ लर्ड हामीलाई हाम्रो पक्षले यो कागजको बारेमा बताएको थिएन हामि गुमराहमा रहेछौ । जुन मुद्दाको मुख्य बिषय बस्तुसँग सम्बन्धित छ । तर येसले हाम्रो पक्षलाइ न्याय हुने कुरामा अबरोध भने गर्दैन । तर हाम्रो पक्षले तथ्यसँग सरोकार राखेको कागज लुकाएकोले सम्मानित अदालतलाइ जानकारीको लागि बुझाएका छौं । श्रीमानले हेरे, रेकर्डमा राखे, अनि मुद्दाको फैसला भयो । मुद्दा सोहि अधारमा हारियो । तर न्यायमूर्तिले सो कागज लुकाउनु पर्ने आधार कारण भए फेरी निबेदन दिन सकिने भन्ने ठाउँ छोडेछन् । पछि फेरी पक्षले आधार कारण सहित गल्ति स्वीकारेर निबेदन गरे, सुनुवाई भयो मुद्दा जिते । (हामि कानुन व्यवसायीले पक्षको गोपनियता राख्नु पर्ने भएको हुनाले पक्षको नाम र कागजातको बारेमा यहाँ उल्लेख गरिन)

यो अन्तिम बिषय सन् २०१९ को कर्नाटका उच्च अदालत भित्रको हो । भारतीय र नेपाली पक्षको करारिय बिबादमा मलाई भारतको बंग्लोरे जानु थियो । अनि नेपाली करार कानुन र मधस्थताको बिषयमा विदेशी कानुन ब्यबसायीको हिसाबले मेरो स्टेटमेन्ट दिनु थियो । बंग्लोरमा कानुन व्यवसाय गर्ने मित्रहरुसँग हाइ कोर्ट अफ कर्नाटकमा गइयो । मेरो भारतीय कानुन व्यवसायी मित्रको मुद्दा ८९ नम्बरमा थियो । मैले सोधें हाम्रो पालो आउछ ? उसले भन्यो मज्जाले । मुद्दाहरु करिब १ सय १५ वटा थिए कज लिस्टमा । आदेश गर्नु पर्ने मुद्धाहरु एउटालाइ ३/४ मिनेटको समय दीइने रहेछ र केही केही मुद्दाहरुमा दुईवटा कानुन व्यवसायी नत्र धेरैमा एक जना । यति भिड कि मुद्दा हटाउन कानुन व्यवसायी लाइनमा बसेर पालो कुर्नु पर्ने । एक दुइवटा मुद्दा विशेष कारणबस हटेको देखियो, त्यो पनि आफ्नो पालो आयेसी मात्र । नत्र न्याय मुर्तिले हटाउन दिएको देखिएन । प्रत्येक कानुन व्यवसायी पुरा तयारीका साथ फाइल, ब्रिफ नोट र कानुनका किताब, नजिर अनि धेरै पुस्तकहरु लिएर उभिएका उच्च अदालतका न्यायमूर्ति हेर्दा नै न्यायमूर्ति देखिने, व्यक्तित्व, निडर अनि प्रभावशाली कानुनमा बिशेष ज्ञान, दक्षता र खतरा व्यवसायीक प्रतिपर्धा गरेर निखारिएका उच्च अदालतका न्यायमूर्तिहरु अनि ति न्यायमूर्तिहरुलाई आफ्नो तर्कपूर्ण र व्यापक अध्ययनबाट कन्भिन्स गर्न तयार खुंखार कानुन व्यवसायीहरु । पेशामा दखल, स्वच्छ छवी भएका, राजनीतिक प्रभाव भन्दा बाहिरका निडर छानी छानी अनुरोध गरि गरि ल्याइएका न्यायमूर्तिहरुले इजलास नै न्यायको मन्दिर देखिने । न्यायमूर्तिलाइ कानुन व्यवसायीले राख्ने तर्कले प्रभावित गर्ने, नकी प्रभावशाली कानुन व्यवसायीहरुको जम्बो उपस्थितिले । कानुन व्यवसायीले आदेश किन जारि हुनुपर्छ ? कुन कानुन ? कुन दफा ? कुन नजिर ? के विधिशास्त्रले तेस्लाई सहयोग गर्छ ? त्यो देखाउनु पर्ने । न्यायमूर्तिलाई लग्यो आदेश दिनु जायज छ, ग्रान्टेड, आंशिक ग्रानटेड, लागेन इजलाशबाटै आदेश नट ग्रान्टेड, सकियो । अब अर्को मुद्दा ग्रान्टेड, नट ग्रान्टेड, बेन्च मै थाहा भो, के भयो ? ग्रान्टेड कि नट ग्रान्टेड ?

मुद्दा करिब ५८ नम्बरमा थियो जस्तो लाग्छ । वरिष्ठ कानुन व्यवसायी आउन नसक्ने हुनाले आजको सुनुवाई नगरियोस भन्दै थिए मेरो उमेरका कानुन व्यवसायी ।  न्यायमूर्तिले तिम्रो मुद्दा ४ पटक हटाइसकेका रहेछन तिम्रो पक्षले अब मुद्दा हट्दैन भने । अनि अर्को पट्टिको पोडियममा बसेका विपक्षिका कानुन व्यवसायीलाई  तपाई बहस प्रतिरक्षा  गर्न तयार हो भनी सोधे । उनले भने यस माइ लर्ड, न्याय मुर्ति निवेदक वकिलको तर्फ हेरेर बहस अघि बढाउनुस भनेपछी यी कानुन व्यवसायी पसिनै पसिना भएर लार्बराउदै सुरु गरे । किनकि मुद्दा हट्ने वाला थिएन । बहसको क्रममा विवादित रकम १५ करोड भनेपछि न्यायमूर्ति रोकिए ।  उनलाई लग्यो होला रकम ठूलो छ, अर्को सुनुवाईको मौका दिनु पर्ला  । बीच मै रोकेर सोधे के तपाई अर्को दिन सुनुवाई गर्न तयारी गरेर आउने हो त ? अब यिनलाई लाग्यो मुद्दा हट्न भो हल्का अनुहारमा उज्यालो देखियो्र न्यायमूर्तिले विपक्षिको कानुन व्यवसायी तिर हेरेर सोधे, तपार्इले आजको बहसको फी कति लिनु भएको छ ? उनले भने पचास हजार माइ लर्ड । न्यायमूर्तिले निवेदकका कानुन व्यवसायी तिर फर्केर तपाइँले मुद्दा हटाएका कारणले विपक्षि कानुन व्यवसायीको आज समय र मिहेनत खेर गयो, सो बापत विपक्षिका कानुन व्यवसायीले आफ्नो पक्षबाट लिने शुल्क तपाइले आज मुद्दा हटाउन अनुरोध गरे बापत हर्जाना स्वरूप उनलाई तिर्नुहोला र अर्को पटक तयारी गरेर आउनु होला भनेर आदेश दिए ।  म हेरेको हेरेइ, ट्वाल्ल !!

हाम्रो पालो आयो, सकियो ,आदेश हाम्रो पक्षमा आयो । तर अघिल्लो घटनाले छोड्दै छोडेन । मैले फेरी हाम्रो तिरको अभ्यास सम्झें । हाम्रोमा हुने गरेका अनि सुनेका व्यवसायीक घटना सम्झे । किन हाम्रोमा बेन्च सपिंग हुन्छ ? किन हाम्रोमा पक्षले कानुन व्यवसायी छान्दा मिलाएर छान्छ ? किन न्यायाधिस हेरेर मुद्दा सुनुवाईका लागि बढ्ने वा पछि हट्ने निर्णय गरिन्छ ? केज लिस्ट आउँदा किन पहिला न्यायमूर्ति हेरिन्छ अनि विश्लेषण गरिन्छ ? के हाम्रो न्यायमूर्तिले आफ्नो व्यक्तित्व, सामर्थ्य अनि क्षमता देखाउन चुकेका हुन् ? वा ती विशेषता छैन ? पक्षलाई कति कागजात तयार गर्न लागउँछौ ?  पक्षलाई  के सबै सहि बोल्न सिकाउँछौं ?  पक्षको झुट थाहा पाउँदा पाउँदै नि त्यसलाई लुकाउँछौं कि देखाउँछौं ? न्यायलाइ सहयोग गर्छौ वा अल्झाउछौ , लम्ब्याउछौ ?अदालतको मित्र हुन्छौ कि पक्षको ? हामीले पक्षलार्इ मुद्दाको वास्तविक अवस्था भनेर जित र हारको सम्भावना बताउँछौ या हार्ने कुरा को असम्भव रहेको जाहेर गर्दछौ ? हामि किन फैसला आफ्नो पक्षमा नआए न्यायमूर्तिलाइ दोष दिन्छौ ? के हामी मुद्दाको पूर्ण तयारी गरेर उपस्थित हुन्छौ ?  किन हामी हाम्रालाइ मात्र अवसर दिन्छौ ? बार दिन्छौ ? अदालत दिन्छौ ? कहिले हामिले छिमेकीबाट सिक्ने ? छिमेकीको नजिर हामी प्रस्तुत गर्ने तर छिमेकीको व्यवसायीकता हामीले कैले सिक्ने ? के हामि येही हिसाबले नै सधै चलिरहने हो ? के हाम्रो न्यामुर्त्ति मुद्दाको वास्तविक अन्तरवस्तु मै छिरेर न्याय गर्छन कि निर्णय तर्फ विचार ? के हामि कानुन व्यवसायी अग्रजले छोडेको सम्मानको ब्याज मात्र खानेकी हामीले सम्मानित र मर्यादित हुने गरि कहिले व्यवसाय गर्ने ? कहिले न्यायको अक्षर व्यबहारिक रुपमा कार्यन्वयन हुने हो ? कहिले न्याय पाएको अनुभूति गर्ने हो ? अदालत न्यायको प्रसाद बाँड्नै मन्दिर भन्दा फैसलाको भण्डारण भएको छ भन्ने भनाइलाइ कहिले गलत साबित गर्ने ? कहिले ? कसरि? कसले ?

दिनहुँ जसो भेटिने कति कानुन व्यवसायीहरु पेशा प्रति निराशा देखिन्छन । युवा कानुन व्यवसायीहरुको सिनियर कानुन व्यसायी र अदालत प्रति त्यत्तिकै गुनासाहरु शेयर गर्छन । बार एसोसिएसनले उनीहरुलाई पेशा प्रति उत्साहित बनाएको देखिदैन । कानुन व्यवसायीको क्षमता अभिबृद्धिमा बारको त्यत्ति सक्रियता देखिदैन । बलियो राजनीतिज्ञ र प्रभावशाली कानुन व्यवसायीसँगको सामिप्यताले मात्र बारको नेतृत्वको मौका होस् बिभिन्न अवसर मिल्छ भन्नेमा मेरो पनि बुझाइ  छ । हाम्रोलाईमात्र कहिले सम्म मौका दिने ?  हाम्रोले पाएको  मौकाको समग्र कानुन व्यवसायीको हितकोलागि प्रयोग गर्न सके नसकेको मुल्याकन न गरेको देखियो न गरिन्छ जस्तो लाग्छ । अब पनि हाम्रो व्यवसायीक अभिवृद्धिको संम्भावनाहरुलाई खोजेनौ भने, ल्यायेनौ भने अनि हाम्रो व्यवसाय र अदालतलाइ मर्यादित र विश्वासिलो बनाइएन भने दुई चार सय कानुन व्यवसायीकोमात्र उन्नन्ति प्रगति र सम्पनता हुने हो बाँकि सबै हाम्रै कारणले गर्दा दुँनियाको नजरमा काला कोटे मात्र हुने हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज