लमजुङ जिल्लाको बाहुनडाँडा, यो ठाउँ सम्झिने बित्तिकै अहिले नै झोला बोकी हिँडु जस्तो लाग्छ । जब नागढुङ्गा काट्छु, गाडीमा चर्को आवाजमा एउटा मन छुने गीत बजाई हाल्छु “उकाली ओराली गर्दै आँखा भरि रहर भर्दै, आँधीबेरीसँगै लड्दै खोला नाला सगर तर्दै, दुखः पीडा बिर्संदै मँ आए, परदेशबाट फर्की आएँ, आफ्नै गाउँ फर्की आए” सुन्दै अनि गुनगुनाउँदै अनि कहिले बाहुन डाँडा आइपुग्ला भनेर । मलाई लाग्छ मलाई मात्र होइन जो कोहीलाई पनि आफ्नो गाउँ फर्किदै गर्दा होस् या सहर मै बरालिँदा यो गीत बजेको सुनेपछि गाउँका हरपल याद आउँछ । अनि त्यो खुसी र उमङ्गले इमोसनल बनाइ हाल्छ । काठमाण्डौ नागढुङ्गा काटेपछि मलेखु, मुग्लिङ, खैरेनी अनि डुम्रेबाट दाहिने मोडिएर जति लमजुङको सदरमुकाम बेँसीसहर तिर लाग्छु उति मन रोमाञ्चित हुँदै जान्छ । भन्सार, तुरतुरे, बाइसजाँगर, कालिमाटी, पौदि, भोटेओडार, दलाल, फलिया साँघु, जफतीबाट तल धुबिचौर मामाघर हेर्दै फर्केर आउँदा १-२ दिन बिताउँछु भन्ने बाचा गर्दै बेँसीशहर, खुदी, भुलभुले अनि भुलभुलेको झरना, डा. हर्क गुरुङको समाधि रहेको न्गादी हुँदै पुगिने बाहुनडाँडा मेरो गाउँ हो । जहाँ मैले मेरो उमेरको ९ वर्ष बिताएको छु । बाहुन डाँडाको यात्रा बेसीसहरमा एकछिन रोकिन्छ । बेसीसहरको जनविकास मा. बि. मा प्राथमिक तहको एउटा कक्षा पढेको म एकछिन भने पनि स्कुल नहेरी बाहुन डाँडाको बाटो अगाडि बढ्न सक्दिनँ । बेँसीसहर देखि अहिले बाहुन डाँडासम्म गाडी जान्छ । तर पहिलो पटक रोशनीलाई लिएर जाँदा उसबेला हिँडेरै मामाघर आउने जाने गरेको, बाटोमा चौतारीमा आमा, हजुरआमा, मामासँगै खाजा खाँदै ६ घण्टा हिँडेको याद रोशनीसँग साट्न हामी हिँडेरै गइयो । त्यसपश्चात् न रोशनी, न बाबु नानी, गाडी मा जान खोज्छन, सब हिँडेरै जान चाहन्छन्, अनि हिँडेरै गइन्छ । बाहुनडाँडालाई पुस्तुनको नामले पनि चिन्ने गरिन्छ । राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको गाउँ र जोन उडको माइक्रोसफ्ट देखि बाहुनडाँडासम्मको नामक पुस्तकले बाहुनडाँडालाई बेग्लै पहिचान दिएको छ भने राष्ट्रकविज्यू सँगको पारिवारिक सम्बन्धले गर्विलो महसुस समेत हुन्छ ।
नाम बाहुनडाँडा भएपनि जातीय हिसाबले समावेशी छ मेरो गाउँ । धेरै पहिले देखि बाहुनहरूको सङ्ख्या कमी भएको यो गाउँमा गुरुङ घलेहरुको बाहुल्यता रहेपनि दमाइ र कामी जातीय समुदायको सङ्ख्या पनि कमी छैन । या भनूँ एउटा समुदायको लागि आवश्यक पर्ने सबै जनशक्ति र स्रोत साधनहरु यही गाउँ भित्र उपलब्ध छन् । मेरो गाउँ बाहुनडाँडा सामाजिक सहिष्णुताको उदाहरण हो भन्दा फरक पर्दैन। उसबेला बेशीसहरबाट हिडेका बिदेशी पर्यटकहरुकालागि एक रात बहुनडाँडामा नबिताई मनाङको यात्रा गर्न सम्भव हुन्थेन । पहाडको टुप्पोमा रहेको बहुनडाँडामा अहिले रातिको बती बल्दाको रमणीय दृष्य नै अर्कै देखिन्छ भने अलि माथि भिर पुस्तुन पुगेर हेर्दा धेरै परको बन्दीपुर समेत देखिन्छ । प्रत्येक दशैँको बेला तल दींग दींगमा राखिने रोटे पिङ्ग र बेलुका गुरुङ समुदायले गर्ने घाटु र सोरठी नाच अनि अस्टमीको दिन भिरपुस्तुनमा हुने सास्कृतिक कार्यक्रमले मलाई सधैं तानी रहन्छ । किनकि मेरो त्यो अनुभूति ९ वर्षको बेला सम्मको याद छ भने मलााई याद भए सम्म २२/२३ वर्षको उमेरमा पनि एक सालको दशैँ यही गाउँमा आएर बिताएको छु । भिरपुस्तुनको दशैँको बेलाको सास्कृतिक कार्यक्रममा नाचेर मैले स्थानीय क्लबका लागि राम्रै फुली पाएको पनि थिए । बाबियोले बाटेको डोरीको लिंगे पिङ्ग र बाँसको सुप्लाले हावामा घुम्ने चक्र बनाएर स्कुलको प्रांगणमा दौडेको हिजो जस्तो लाग्छ । पोहोर साल बाहुन डाँडा जादा दींग दींगको संकृतिक कार्यक्रम रातभरी हेरियो अनि स्वागतको खादा ओडेर २/४ शब्द बाहुन डाँडामा बिताएको जिन्दगीको यादगार पल साटें । अनि मज्जाले गुरुङ समुदायले गर्ने स्वागतका परिकार चाखेर फर्के ।
आफु जन्मेको गाउँलाई देखाउन सासु ससुरा समेत लागेको छु भने रोशनी अनि बाबु नानी आर्भिन, आर्भिनालाई २ बर्षमा एकपटक लैजाने बाचा सकेसम्म पुरा गरेको छु । अघिल्लो साल त कानुनका बिद्यार्थी बिपना चापागाँई र वर्षा भण्डारी समेत पुगेका छन् हामिसँगै । बाहुनडाँडा पुग्दासम्म भुलभुलेको झरनामा केहि समय नबिताई अगाडि बढ्न सक्दिनँ भने सँगै बगिरहने मर्स्याङ्दीमा एक पटक डुबुल्की मार्नै पर्छ । रोशनी, बाबु नानिलाई बाहुनडाँडा जाने हो भनेर सोध्नै हुँदैन, सोध्यो कि झोला कहिले तयार गर्ने हो भनेर हत्ते हाल्छन् । तर सधै बर्षातको समय ऐठन हुन्छ गाउँमा पहिरो गयो कि भनेर दिप श्रेष्ठले गाएका गीत जस्तै, हररात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि भनेर ।
थाहा छैन कसले सिकायो तर बाहुनडाँडामा गोराहरु (पर्यटक) आउँदा कुदेर गाउँको बाटोको डिलको चौतारीमा ढुक्ने अनि गोराहरु आइ पुगेपछि भन्ने एउटा बाक्य बोल्दै पछी लागिन्थ्यो “गिमी पेन, गिमी चक्लेट, गिमी चीज ।“ उनीहरु झोला भित्रबाट केहि न केहि झिकेर दिन्थे । कहिले चकलेट, कहिले कहिले कलम अनि चीज । घाउ खटिरा भएको ठाउ मा मलम दिन्थे अनि काटेको ठाउँमा टेप । लाग्थ्यो उनीहरुले हामीलाई नै भनेर सबथोक लिएर आएका रहेछन् । अनि उनिहरुलाई लिएर नजिकैको स्कूल लगिन्थ्यो । आफुले ल्याएका केहि पुस्तकहरु स्कुलमा नि दिन्थे । कहिले हामीलाई बालबच्चाहरुलाई खेल खेलाउँथे । धेरैजसो गोराहरु त स्कुलमा टेन्ट राखेर बस्थे । टेन्टहरु भरियाले बोकेर आएका हुन्थे । तल ठुल्बेसीबाट खच्चडहरुको ताती बाहुन डाँडासम्म आइपुग्दा खच्चडको घन्टीले गाउँ नै संगीतमय हुन्थ्यो । खच्चडको नाइकेलाई दुलही सरह सिंगारिएको हुन्थ्यो । गाउँमा आउने घोडामा कहिले काही बुबासँगै मस्त सवार भएको अहले जस्तो लाग्छ । एकदिन एकजना गोरा महिलाले चौतारीको धारोमा दिउँसै नग्न अवस्थामा नुहाउँदा गाउँका मानिसहरुले गालि गरि लखेटेको दृश्यले अहिले पनि लाज र हाँसो लाग्छ । गोरा बसेको घरमा लाल्टिन पेट्रोम्याक्स बल्दा गाउँ नै उज्यालो हुन्थ्यो उसबेला ।
म त्यती बेला सम्म सायद ७-९ बर्षको थिएँ होला दाईहरुसँगै गाई बाख्रा चराउन जान्थे । बाबु आमा गैरी खेतमा काम गर्न जाँदा उहाँहरुलाई पछ्रयाउँदै उहाँहरुको पछि पछि जान्थे । उसबेला मा ३ बर्ष को थिए रे एक पटक यसैगरी उहाँहरुलाई पछ्याउँदै भिरकोट जाँदै गर्दा म लडेर भिरमा झुन्डिएको अलि अलि याद भए जस्तो लाग्छ । भिरमा झुन्डिएर रोएको आवाज ले बुबा आमालाई झस्कायेछ अनि मलाई खोज्दै गर्दा बाबियो मा झुन्डिएको म बुबा ले गाउले को सहायता मा मेरो उद्दार गर्नु भएको सुन्दा र अहिले त्यो भिर मा गएर हेर्दा आंग नै जिरिंग हुन्छ मेरो मात्रै होइन सब को । मा भिर बाट खस्दा खस्दै बाचेको कुरा बुबा आमा र कतिपय आफन्तहरुबाट मैले लगातार सुनिरहन्छु । अहिले पनि बाहुनडाँडा जाँदा त्यो घटना प्रत्यक्ष देख्ने मेरा आफन्तहरु मलाई देख्ना साथ अँगालो हालेर त्यहि घटना स्मरण गराउँनुहुन्छ । म मृत्युको मुखमा पुगेरपनि बाँच्न सकेकोमा खुसी हुनुहुन्छ । उहाँहरुले त्यसरी आत्मियता देखाइरहँदा मलाई त्यो घटनाले अहिले पनि मेरा आफन्तहरु र मलाई जोडिराखको जस्तो लाग्छ । अनि त्यो घटना मेरो लागि अहिले सम्पत्ति जस्तै लाग्छ ।
म ब्राहमण परिवारको सन्तान मैले बुझेको कुरो के थ्यो भने म गाउँका दमाइ कामी समुदायका सहपाठीहरुसँग सँगै बस्न हुन्न र उनिहरु सँगै खान हुन्न । उनीहरुसँग मित्रता त थियो तर छुन नहुने । परको मित्रता । सँगै खेल्थ्यौं तर कहिले छोएर खेलेको याद छैन । छोयो की रोयो सुन पानि ले नुहायो । मेरो बालक मन भित्र त्यसको प्रश्न उठाउने बुद्धि त थिएन तर हरदम सतर्क भएर हिड्नु पर्थ्यो । किनकी घर देखि स्कूलको बाटो गोरेटो एउटा हिड्दा अर्कोले बाटो छोड्नु पर्ने । तर मलाई के थाहा थ्यो भने बाटो मुन्तिरको दमाइ गाउँमा मैले लाउने भोटो कट्टु सिलाउने गरिन्छ अनि छेउमा रहेको कोलबाटेको कामी गाउँमा आँसी, खुकुरी, खुर्पेटो, हलो, फाली, बन्चरो बन्ने गर्छ । मलाई अझै याद छ, फलामको सामान र सिलाएको कपडा लिएर आउनेहरुका लागि खाना खाने सिलौटे थाल र कचौरा घरको आँगनको छुट्टै कुनामा राखिन्थ्यो अनि उनीहरुलाई तेसैमा खान दिइन्थ्यो खान्थे आफैले माझेर तेही कुनामा राखेर जान्थे । माया त उनीहरुले नि गर्थे तर टाढाबाट । पण्डित अनि कानूनी काम गर्ने लेखपढ गर्ने राइटर, जिम्मवालको परिवारको सन्तान म मलाई छुने आँट बाहुन, क्षेत्री, गुरुङ, घले, नेवार बाहेक कसैको हुन्थेन । मलाई सँधै लागि रहन्थ्यो म ति दुई जातिसँग किन नजिक हुन् पाउँथिन ? जबकी म उनीहरुले सिलाएको कपडा लगाउँथे अनि आमाले घाँस काट्ने आँसी उनीहरुले नै बनाएका हुन्थे । कहिले काही नजिक पुगें भने पनि देख्नेले गालि गर्थे, अलि पर जा छोइएला भनेर । बुबालाई त मैले यो अवस्था तिर त्यती याद गरेको थिइन किनकि बुबा काठमाण्डौमा कानून पढ्दै काम गर्दै गर्नुहुन्थ्यो रे । तर गाउँमा कडा कानून थ्यो बाहुनको छोरा जोगिएर हिड्नु पर्थ्यो, मलाई माइली दिदिले छोइन ।
मलाई के लाग्छ भने जातीय मुद्दा कुनै एक निश्चित जातिको मात्र होइन । यदि कुनै जाति समुदाय र संस्था ले समानताको मुद्दा छुवाछुत र विभेदको बिषय आफ्नो मात्र एजेन्डा हो भन्छ भने त्यो सरासर गलत हो, त्यो ब्यापार हो । हामी जन्मले समान, स्वतन्त्र, सम्मानित हौं विभेद त केवल बनावटी हो, गलत सामाजिक अभ्यास हो, अनि दण्डनीय कार्य ।
मलाई माइली दिदिले छोइन !
उसबेला म ८ बर्षको थिएँ होला, देवी थानको भिरमा दाईहरुसँगै गाई बाख्रा चारउन पछि लागेर जान थालिसकेको थिएँ । एक दिन आमाले मेरो उमेर अनुसारको ठेकी बोकाएर मोही लिएर आउन अराउनु भयो । सानो गोरेटो बाटोमा टुकर टुकर ठेकी बोकेर जाँदै थिएँ उता परबाट दमाई समुदाय कि माइली दिदी आइरहेको देखें । मेरो बाल मस्तिष्कले माइली दिदीलाई छोइएला भन्ने जानकारी दिई सकेको थियो । त्यसैले बिस्तारै बिस्तारै बाटो माथि माथि गर्दै हिड्दै थिए दिदीले सन्तोष बाबु कहाँ जान लाग्नु भयो भनेर सोधिन । आज पनि मेरो घर, छिमेकि र नातेदारले बोलाउने नाम सन्तोष नै हो । सरोज मेरो साथी भाई र व्यवसायीक नाम । आमा भन्नु हुन्छ मैले भोक लागेको बेला बाहेक कैले रोएको सुन्नु भएन रे । खायो खेल्यो सुत्यो, भोक लाग्यो उठ्यो रोयो खायो खेल्यो सुत्यो । सन्तोषी भएकोले घरमा बोलाउने नाम बुबाले सन्तोष राखिदिनु भएछ । अहिले पनि खान, घुम्न र सुत्न पाए केहि चाहिंदैन । माइली दिदिले सोधी सकेपछि जवाफमा मोही लिन जान लाको मलाई नछोउ के भन्दै थिएँ, अलि भिरालोमा पुगेछु कि के हो ठेकी सहित सिधै चिफ्लेर खसें । माइली दिदीको दह्रो खुट्टामा मेरो टाङ्गको बीचमा अड्क्यो अनि म तल बारीमा बजारिनबाट जोगिए । त्यहाँबाट चिप्लेको भए माधव कवि ठूलो बुबाको बारीमा सिधै खस्थें (राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेलाई हामी माधव कवि भनेर चिन्थ्यौं) । जहाँ सिस्नु घारी थियो । उफ्फ़ अहिले सम्झिदा पनि पोलेको भान हुन्छ यदि खसेको भए । माइली दिदीले समातेर उठाउन के खोजेकी थिइन् म डाँको छोडेर रुन थालें । अनि मेरो मुखमा बारम्बार एउटा वाक्य आइरह्यो मलाई माइली दिदीले छोइन् । मलाई माइली दिदीले छोइन् । म रुँदै घरसम्म ठेकी बोकेर पुगें । आमा, दिदी बैहिनीले मलाई पँधेरोमा जबर्जस्त समातेर लगे । पँधेरोको चिसो पानीमा मलाई रुवाइ रुवाइ बेस्सरी नुहाइयो अनि मलाई सुन पानी छर्केर चोख्याइयो । माइली दिदीलाई किन छोइस् भन्दै गालि गर्दै मैले बोकेको ठेकी माइली दिदीलाई दिइयो । माइली दिदिले छोएको ठेकी उसबेला चलेन । माइली दिदि मैले छोएको होइन बाबु लडेर मलाई छुन आइपुगेको भनिरहिन तर कसैले सुनेनन् । कारण जे सुकै होस् मलाई उनले हुनु सामाजिक अपराध जस्तै रहेछ उसबेला । धेरै वर्ष देखि थाहा भयो मैले जातीय भेदभावको पहिलो अनुभूति ८ बर्षमा देखेको भोगेको रहेछु ।
मेरो भकुन्डेको साथी बुद्धि बहादुर परियार
अस्तिको हप्ता लमजुङ्ग भकुण्डेबाट मेरो बच्चाको प्यारो साथी बुद्धि (डम्मर) बहादुर परियारले फोन गरे । बुद्दीसँग मेरो २ कक्षा देखिको मित्रता थियो र करिब छ महिना म मामाघर धुबिचौर बस्दा भकुन्डेको स्कुलमा बुद्दी मेरो सहपाठी थिए । बुद्धिसँगको मित्रता आजसम्म अति घनिष्ठ छ चाहे जस्तो सुकै सामाजिक परिस्थितिबाट हाम्रो हुर्काइ भएको किन नहोस । त्यो नि अति घनिष्ट तर स्कुल पढ्दासम्म हाम्रो घनिष्टताको बाधक हाम्रो जातीय विभेदता नै थियो । २ वर्ष अगाडि लमजुङ्ग जाँदा बुद्धिलाई अति भेट्न मन लाग्यो, अनि खोज्दै सोद्धै गएँ । भकुन्डे नेर सानो एउटा कोठा भाडामा लिएर एउटा कपडा सिलाउने मेसिन राखेका रहेछन अनि कपडा सिलाउने रहेछन । आजकल गाउँलेले धेरै कपडा रेडिमेड किन्ने हुनाले सिलाउने ब्यबसाय धेरै रहेनछ । मामाको कान्छो छोरो भाइ शोभाकर बराल लिएर खोज्दै गएँ, भेटे बुद्धि भनेर बोलाए । मन थामेन हात मिलाएँ, अँगालो मारे । उसको ब्यबसाय सुन्ने देख्ने बित्तिकै त्यहि भएको सर्टको कपडा किनेर मेरो लागि सर्ट सिलाई देउ म तिमिले नै सिलाएको सर्ट लाउँछु भने । सर्टको पैसा कहाँ लिन मानेको होर सारै अप्ठेरो माने बुद्धिले । तर म उसलाई खोज्दै भेट्न गएको कुराले उ हर्षित भयो । अनि खुसि हुँदै उसले स्वीकार गर्यो । दुर्इ दिन लगाएर गज्जबको बालपन देखिको मित्रता र माया मिसेर मलाई सर्ट सिलाइ दिएको रहेछ । अहिले पनि घरमा सुरक्षित छ । कहिले काही कपडा खोज्दा दराजमा उसले सिलाइ दिएको सर्टमा आँखा जान्छ अनि उसलाई सम्झिन्छु । बुद्धिले गज्जबको गीत गाउँछ । उ जे कुरामा पनि सिपालु र प्रतिभाशाली । १० कक्षासम्म पढ्दा कहिले दोस्रो भएन । हाम्रो कुराकानीको क्रममा उसले सुनाएको सामाजिक विभेदको डर लाग्दो कहानीले मन पोल्छ । शिक्षा सेवामा राजनीतिक र सामाजिक विभेदले लिखित निस्किदा पनि जागिर नपाएको, गाउँमा कपडा सिलाउने काम बाहेक अन्य इलमको काम सफल नभएको, काठमान्डूमा आर्थिक हिसाबले पनि संघर्ष गर्न गाह्रो भएकोले गाउँ फर्केको, आफ्नै समुदाय भित्र अवसरको राजनीतिले दबिएको अनि उसको प्रगतिको बाधक नै उ दलित समुदायको हुनु हो भन्ने कुरामा उ विश्वस्त छ । हुन त उसले आफुलाई राम्रो पढाइ हुँदा हुँदै पनि कुन तरिकाले व्यवसायीक जीवन लैजाने भन्ने बुझेन होला तर हरेक पल समाजबाट बहिस्कृत भएको अनुभब गरेको बुद्धिले दुख सुख गरि आफ्नो सन्तानलाई असल शिक्षा दिन सकेकोमा खुसी लाग्यो । छोरि दुबईमा काम गर्दी रहिछन । छोरो भरतपुर बिरेन्द्र क्याम्पसबाट बि एसी पास गरेर प्लस २ स्कुलमा प्राध्यापन गर्ने रहेछन । बुद्धि आफु चाही भकुन्डे मै कपडा सिलाउने र सामाजिक सेवामा व्यस्त । आफुले जति दुख भोगेपनि एकछिनका लागि बुद्धिले म प्रति देखाएको मायाले मलाई आनन्दित बनायो भने उसको पिडाले दुखित पनि। तर उसमा भएको स्वाभिमानता अतुलनीय र अमुल्य छ । तर मनमा भने हरपल हाम्रो समाजमा जातीय विभेद अझै किन कायम छ भन्ने प्रश्नले छोड्दैन ।
जति निर्मुल गर्न खोजे पनि विभेद संसारभरी छ ।
अमेरिकाको सर्वोच्च अदालतले सन् १९५४ मा ब्राउन बि. बोर्ड अफ एजुकेशनको मुद्दामा रङ्गको आधारमा स्कूल फरक फरक गर्न पाइदैन भनेको, सन् १९६२ मा रङ्गको आधारमा अन्तर राज्य व्यापारिक विभेद गर्न पाईदैन भनेको, सन् १९६७ मा लभिङ्ग बि. भर्जिनियाको मुद्दामा अर्को जातिसँग विवाह गर्न नपाइने भन्ने कानूनलाई असंवैधानिक घोषणा गरेको, सन् १९६८ मा जोन्स बि. मायेरको मुद्दामा सम्पतिको बिक्रि र भाडामा जतियविवेद गरेको कुरालाई संघीय कानूनले अमान्य गरेको, सन् १९७३ मा लाऊ बि. निकोलसको मुद्दामा चाइनिज बिद्यार्थीलाई स्कूलले अंग्रेजी भाषा पढाउन इन्कारी गरेकोलाई गैर कानूनी मानेको र सन् १९६४ मा नै अमेरिकाले नागरिक अधिकार ऐन जारी गरे पश्चात पनि जातीय विभेदको घटनाले अमेरिकालाई नछोडेको प्रसस्त घटनाहरु देखिन्छन । हालसालैको चर्चित घटना, अश्वयत जातका जर्ज फ्लुयडलाई कुनै घटना विशेषको आधारमा प्रहरीले निजलाई सडकमा नै निजको घाँटीमा थिचि नियन्त्रणमा लिंदा मृत्यु भएको घटनाले अमेरिका लगायत विश्व जगतमा जातीय विभेदको मुद्दाले ठूलै चर्चा पाएको थियो । यस्ता घटनाले गोराले कालालाई गर्ने व्यवहारमा आज पनि फरक नभएको हामीले हेरेको, देखको र सुनेकै हो । सन् २००१ मा कोका कोला कम्पनीले गोरा अमेरिकी कर्मचारी भन्दा अफ्रिकन अमेरिकी कर्मचारीलाई सेवा सुबिधामा विभेद गरेको कारणबाट १९ करोड डलर तिरेर मामिला मिलाएको विषय बहुचर्चित घटनाको रुपमा रहेको छ । त्यस्तै बेलायतमा कति पटक बसमा, ट्रेनमा यात्रा गर्दा एउटा अंग्रेजले अर्कोलाई हेपेको कति देखियो देखियो । हामी नेपालीलाइ समेत इन्डियन पाकी कर्री म्यान भनेर हेपिएको अझै ताजै छ मेरो मन मस्तिस्कमा । काममा होस् वा धार्मिक वा सामाजिक कार्यक्रममा काला गोरा वा जात विशेषको आधारमा गरिएका विभेदका घटना प्रसस्त देखियो, सुनियो र अनुभव समेत गरियो । भारतको संविधानको डिजाइनर बाबा साहेब अम्बेडकर आफैं दलित समुदायका हुँदा हुँदै पनि भारतलाई संसारको उत्कृष्ट संविधान दिएको तथ्य उदाहरणिय छ । सामाजिक सम्बन्धमा जातीय विभेद डरलाग्दो रोग हो जसको निवारण नहुँदासम्म एउटा समुन्नत समाज निर्माण हुन सक्दैन भनि भारतको संविधानको धारा १५-१७ सम्म जातीय विभेद र छुवाछुतलाई संविधान मार्फत निर्मुल गराए भने छुवाछुत (अपराध) ऐन १९५५ समेत जारी भयो । तर जातीय विभेद र छुवाछुत भारतको गम्भीर समस्या आज पनि हो भने भारतीयले सो समस्या संसारका बिभिन्न देशमा बोकेर गएको टिप्पणी आप्रबासी भारतीले सुनी राख्नु परेको छ र छुवाछुत र विभेद यथार्थ पनि हो । हुँदा हुँदा खुद म आफैंले समेत बेलायत र अमेरिकाको भ्रमणमा नेपाली समुदाय बिच विभेद र जातीय छुवाछुतको अभ्यास रहेको भेटेको छु ।
मैले बुझे सम्म जातीय विभेदको इतिहास हाम्रो समाजमा तीन हजार वर्ष पुरानो हो । कुनै बेला व्यवसायीक दक्षताको आधारमा पहिचान गरेको समुदायलाई समाज नियन्त्रण गर्नेहरुले जातीय विभेदमा लादे जुन हालसम्म पनि गहिरो समस्याको रुपमा रहेको देखिन्छ । हामीले छुवाछुत तथा भेदभाब लाइ सन् २०६३ मा नै मुलुकी ऐन जारि गरि हटाइसकेका थीयो अनि सन २०१५ मा संबिधान जारि गरि छुवाछुत तथा भेदभाब बिरुद्दको हक संबिधानको धारा २४ मा व्यवस्था गरि कुनै पनि व्यक्तिलार्इ उत्पति, जात जाति समुदाय, पेशा, ब्यबशाय वा सरिरिक अबस्थाको आधारमा कुनै पनि निजि तथा सार्बजनिक स्थानमा, कार्यस्थलमा कुनै प्रकारको छुवाछुत वा भेदभाब गरिने छैन र सबै प्रकारका छुवाछुत तथा भेदभाब जन्य कार्य गम्भीर सामाजिक अपराधका रुपमा कानुन बमोजिम दण्डनीय हुनेछन भन्ने व्यवस्था राखेका छौ । हामीले संबिधानमा छुवाछुत र भेदभावबाट पिडित व्यक्तिले कानुन बमोजिम क्षतिपूर्ति पाउने हक सुरक्षित गरेका छौ । तर के हामीले जातीय विभेद कानूनमा निर्मुल गरे पनि व्यवहारमा निर्मुल गर्न सकेका छौ ? के भेदभाव मा परेकाले क्षतिपूर्ति पाएका छन ? के संबिधान कानुनमा राख्दैमा छुवाछुत भेदभाबका घटना घटेको छैन ?
मेरो गाउँका आमा, काकी, काका दिदिहरु जसले मलाई माइली दिदीले छुँदा नुहाएर, सुन पनिले पखालेर चोख्याए र ठेकी माइली दिदीलाई दिए, उनीहरुलाई कसले सिकायो ? आज आमालाई हेर्दा तिनै मेरी आमा हुन् र भने जस्तो लाग्छ । अहिले मेरी आमामा धेरै परिवर्तन आइसकेको छ । गृहणी भएर जीवन बिताएकी आमा, अहिले विभेदका कुरा गरेको सुनेको छैन । आमालाई हामीले परिवर्तन गरेका छौं, बुझाएका छौं, सम्झाएका छौं र धेरै हद सम्म आमा परिबर्तन हुनु भएको छ । हाम्रा छोरा छोरीलाई त जातजतिको विभेदको बारेमा थाहा पनि छैन जस्तो लाग्छ । मलाई के लाग्छ भने जातीय मुद्दा कुनै एक निश्चित जातिको मात्र होइन । यदि कुनै जाति समुदाय र संस्था ले समानताको मुद्दा छुवाछुत र विभेदको बिषय आफ्नो मात्र एजेन्डा हो भन्छ भने त्यो सरासर गलत हो, त्यो ब्यापार हो । जसरी महिलाको समानता पुरुषको सहयोग बिना सम्भव छैन त्यस गरी नै जातीय विभेद र छुवाछुत पनि व्यवहारमा अन्त्य गर्न सबै जातिको सहयोग आवश्यक छ । किनकि विभेद र छुवाछुत को इतिहास लामो छ , मस्तिकमा छ ब्यबहार मा छ | मस्तिक र ब्यबहार बाट निकाल्न समय लाग्ला तर असम्भब कती पनि छैन । यहाँ त जातीय समानता र विभेद बिरुद्द को नारामा अर्को जातिलाई होच्याउने र तेस्को सिमित ब्यापारिक लाभ लिने हरु को कमि छैन । म बाहुनको छोरो हुँदा हुँदै गुरुङ्ग, घले, दमाइ, कामी समुदाय र चितवनमा तामाङ्ग, लामा समुदायमा सँगै हुर्केर पढेको हुँ । बाहुन काठा, टपरी बाहुन, नाक चुच्चे बाहुन, डर छेरुवा बाहुन र कहिले काही जनै समेत चुँडाइदिएको घटना भोगियो, अनि होच्याउने शब्दहरु स्कूल वा खेल मैदानमा मस्तले सुनियो पनि तर मैले ति शब्दलाई कहिले पनि मनमा राखिन गम्भीरताले लिईन । किनकि छुवाछुत र भेदभाब मेरै समुदायको उपज हो भन्ने लाग्यो । धेरै पछि बुझ्न र कानून पढ्न थालेपछि थाहा भो हामी सबै समान हौं भनेर । तर धेरै बाँकी छ समानता ल्याउन । यहाँ समानताको वकालत गर्नेहरुको आफ्नै घरमा असमान ब्यबहार गरेको देखिन्छ वा असमानतामा अभ्यस्त भएको भेटिन्छ । विभेदको बिरोध गर्नेहरु आफ्नो घर पुगेपछि आफ्ना धारणमा स्खलित भएको भेटिन्छ । तसर्थ समानता र विभेदलाई चर्को नारा भन्दा नि शालीन, भद्र र सहिष्णुताका साथ हेरियो र कार्यन्वयन मा लागियो, शिक्छित गरियो भने छिट्टै संविधानले परिकल्पना गरेको विभेद रहितको समाज हामी नमर्दै देख्न पाइन्छ । मेरी कट्टर आमा त केहि हदमा परिवर्तन हुनु भएको छ भने अहिलेको शिक्षित र आधुनिक समाज परिवर्तन हुन बेर लाग्दैन भन्ने मलाई लाग्छ । मात्र एउटा जतिले अर्को जातिको खिलाफ जाने र होच्याउने गर्न हुँदैन किनकि हामी जन्मले समान, स्वतन्त्र, सम्मानित हौं विभेद त केवल बनावटी हो, गलत सामाजिक अभ्यास हो, अनि दण्डनीय कार्य ।
माइलि दिदीसँगको मेरो त्यो घटना र मेरो प्रिय मित्र बुद्धि बहादुर परियार मेरो जीवनका अमूल्य पात्रहरु हुन् जसले मलाई समानताको बिषयमा बोल्न प्रेरित गर्छन अनि छुवाछुत र विभेदको बिरुद्द आवाज उठाउन । उहाँहरुलाई मेरो अभिवादन र न्यायो माया ।