क्यमिली भासकुयेजलाई जोनी डीपको प्रतिरक्षा गर्नु कम चुनौती पूर्ण थिएन । जुन मेहनत, व्यवसायीक दक्षता, अध्ययन र प्रस्तुतीकरणका साथ अम्बेर हार्ड (जोनीको श्रीमती) को घरेलु हिंसाको आरोप विरुद्ध लडिन र त्यस्ले जोनी डिपलाइ न्याय दियो । एक महिला कानून व्यवसायीको लागि कुनै एजेन्डा भन्दा नि न्याय मर्न दिनु हुन्न भन्ने उनको लडाईलाई संसार भरका कानून व्यवसायीले ध्यान दिएर हेरे । क्यामिलीका लागि कानून व्यवसायी बन्नु कम चुनौतीपूर्ण थिएन । बेलायतकी चर्चित राजनीतिज्ञ, कानून व्यवसायी अनि मानव अधिकारकर्मी सामी चक्रवर्ती अर्की चर्चित कानून व्यवसायी । बङ्गाली परिवारमा जन्मेकी सामीलाइ बेलायतमा मानव अधिकारको वकालत गर्नु कम चुनौतीपूर्ण थिएन । अझ पुरुष कानून व्यवसायीको दबदबा रहेको पेसामा टिक्नु कम साहसिक कुरो थिएन सामीको लागि । छिमेकी भारतमा पीँकी आनन्द, माधवी दिभान अनि मिनाक्षि अरोरा जस्ता धेरै महिला कानून व्यवसायी जो अनेक व्यवसायीक व्यवधानसँग जुध्दै आफूलाई स्थापित गरे । तर उनीहरूका व्यवसायीक सङ्घर्ष कम उल्लेखनीय छैन । अन्तर्राष्ट्रिय बार एसोसिएसनका अध्यक्ष स्पेनकी अल्मुदेना महिला कानून व्यवसायीका समस्या र सङ्घर्षका बाबजुद आइबिएको अध्यक्ष हुनु र सफल अन्तर्राष्ट्रिय कानून व्यवसायी हुनु कति सङ्घर्षशील रह्यो होला ? उनका सङ्घर्षका गाथा पनि सुन्दा नै अभिप्रेरित गर्ने किसिमको छ । सिंगापुर कि प्रसिद्ध कानून व्यवसायी मेलिसा पांग जो ल एसिया कि अध्यक्ष भइसकिन उनका व्यवसायीक सङ्घर्ष कम चुनौतीपूर्ण छैन । मैले केही उल्लेखनीय महिला कानून व्यवसायीहरुको मात्र नाम लिनुको पछाडिको कारण भनेको क्यामिलीको व्यवसायीकतालाई मैले धेरै नजिकबाट हेरेको अनि पढेको छु । सामीसँग मेरो लन्डनमा भेट भएको पल अविस्मरणीय छ भने पीँकी आनन्द, माधवी दिभान, मिनाक्षि अरोरा र मेलिसा पांगसँग मैले अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै प्रस्तुति दिएको छु र उनीहरूसँग महिला कानून व्यवसायीको व्यवसायीक चुनौतीको बारेमा धेरै अन्तरक्रिया गरेको छु । त्यसै गरी अल्मुदेनासँग मेरो व्यक्तिगत चिनजान र उनका धेरै व्यवसायीक उत्प्रेरणा गर्ने अनुभवहरू आइबिए र अन्य सम्मेलनमा सुनेको छु ।
हाम्रो सन्दर्भमा समेत महिला कानून व्यवसायी हुनुको चुनौतीलाई स्विकारेर व्यवसायीक लडाई मार्फत आफू लाई व्यवसायी स्थापित गर्ने महिला कानून व्यवसायीको सङ्घर्षका गाथाहरू अपत्यारिला तर वास्तविकताका छन्, अनि उनीहरूले कानून र न्यायमा गरेका योगदानहरू कानुनका किताब र नजिरहरूमा मज्जाले पाइन्छ । संविधानको व्याख्या होस् या मानव अधिकारको विषय, महिला हिंसा होस या गोपनीयताका कुरा, समबेसिता होस् या व्यवसायीकता, महिला कानून व्यवसायीहरुले खेलेको भूमिका उदाहरणीय अनि अतुलनीय छन् । उनीहरूले प्रदर्शन गरेका व्यवसायीकता अपत्यारिला तर वास्तविकता भित्र छन् । कानुन व्यवसायीको रुपमा होस या कानुन व्यवसायी देखि न्यायकर्मी, राजनीतिज्ञ वा प्राध्यापन सुशीला कार्की, पुष्पा भुसाल, सपना प्रधान मल्ल, सविता भण्डारी, गीता पाठक संग्रौला, उषा मल्ल पाठक, मीरा ढुंगाना, स्व. सीता मैया सिंह, स्व शान्ता थपलिया, प्रा कुसुम शाख, सारंगा सुवेदी जस्ता केही व्यक्तित्वहरुले प्रदर्शन गरेका व्यवसायीक संघर्ष र सफलताका घटना सहज र स्वाभाविक छैनन।
तर के महिला कानून व्यवसायीलाई व्यवसायीक सहजता छ त ? आजबाट विराटनगरमा भइरहेको महिला कानून व्यवसायीको राष्ट्रिय सम्मेलनमा देश बाहिर रहेको कारण उपस्थित हुन् सकिन तर नेपाली महिला कानून व्यवसायीका केही व्यवसायीक व्यवधानहरू जुन मैले नजिकबाट देखेको अनि भोगेको छु केही पस्किन मन लाग्यो ।
मैले अघिल्ला शनिवारको डायरीमा कानून व्यवसायीसँगै बिहे गर्ने मेरो इच्छा पुरा भएको कुरा राखेको थिए । कानून व्यवसायीसँगै बिहे गर्नुको कारण व्यवसायीक सङ्घर्षमा साझेदारी गर्नु थियो अनि एक अर्काको सहयोगी । त्यो कुरामा त हामी एक अर्काको परिपूरक भइयो जस्तो लाग्छ । तर जुन हिसाबको व्यवसायीक चुनौती महिला कानून व्यवसायीले भोग्नु परेको छ हाम्रो सन्दर्भमा त्यो भने मैले अति नजिकबाट देखेको छु, सुनेको छु अनि भोगेको छु । छोटकरीमा भन्नु पर्दा महिला कानून व्यवसायीको मुख्य चुनौती घरबाट सुरु हुन्छ । कानून व्यवसायी भएकै परिवारले त व्यवसायीक सङ्घर्षका बारेमा हेक्का राखेको देखे तर जो महिला कानून व्यवसायी कानून व्यवसायको अवयव नबुझेको पारिवारिक वातावरणमा छन् उनीहरूका लागि कानून व्यवसाय कठिन देखे । खागसरि कानून व्यवसायी अझ भनुम अधिवक्ता भएको भोलिपल्ट देखि मज्जाको आम्दानी हुने भन्ने सोचमा रहेको परिवारलाई व्यवसायीक रूपले पहिले कहिलेसम्म दरिन सकिन्छ भन्ने हेक्का हुँदैन । कामको बेला अनिश्चितकालिन समय, पक्षको विश्वास लिन गाह्रो । काम आए पनि पक्षले पारिश्रमिक दिन ढिला गर्ने, दिए पनि काम अनुसार नदिने, पारिश्रमिक माग्ने आट नहुने । पक्षले आफ्नो समयको सहजताको व्यवसायी खोज्ने, सिनियर कानून व्यवसायीबाट सहयोग र व्यवसायीक सल्लाह लिन नसक्ने, समयको पाबन्दी, घरमा अध्ययनको समय नमिल्ने, बिहेको उमेर भयो भन्ने कुरा परिवारले ठाने पछि पढाइ, क्यारियर र व्यवसायीकताको बेवास्ता र बिहेको ज्यादा वास्ता गरेको देखिने । बिहे पश्चात् परिस्थितिको त के कुरा गराइ भयो र । काम गरे जतिको प्रतिफल नमिल्ने जस्ता समस्याहरु त भै नै हाले । महिला कानून व्यवसायी मैत्री भाषा लगायत वातावरणको नहुने, महिला कानून व्यवसायीलाई धेरै पत्यार नगरेको महसुस हुने, पक्षको सहजतामा आफू उपलब्ध हुनु पर्ने, पक्षले छोडेर जाला भन्ने डर अनि अदालत प्रशासन पनि महिला कानून व्यवसायी मैत्री नहुने थप समस्याहरू भएको देखे । अन्तर्राष्ट्रिय बार एसोसिएसनले नेपाली महिला कानून व्यवसायीको व्यवसायीक चुनौतीका बारेमा गरेको सर्वेक्षणमा समेत महिला कानून व्यवसायीका विविध समस्याहरूका बारेमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय बार एसोसिएसनले गरेको सर्वेक्षणमा ल फर्म भित्र हुने यौन दुर्व्यवहारका विभिन्न घटनाहरूको उजागर गर्यो । धेरै नेपाली महिला कानून व्यवसायीसगको छलफलमा हाम्रोमा ती घटनाहरूका शृङ्खलाको कमी नरहेको सुनियो । ल फर्म भित्र बस्ने कुर्ची, प्रयोग गर्ने शौचालय, महिला कानुन व्यवसायीको मासिक स्वास्थ्यको बेवास्ता, ल फर्म भित्रको निसासिने कोठा, प्रयोग गरिने भाषा अनि पक्ष र सहकर्मीबाट समेत हुने गरेको व्यवहारले यौन दुर्व्यवहारका घटना हुँदा हुँदै पनि दबाएर राख्नु पर्ने व्यवसायीक बाध्यतामा कतिपय महिला कानून व्यवसायी गुज्रेको कुरा महिला कानून व्यवसायी तालिममा प्रस्ट रूपमा सुन्न र बुझ्न पाइन्छ ।
महिला कानून व्यवसायीका समस्या एक्लो हुन सक्दैन । संसार भरि उत्कृष्ट पेसाको रूपमा चिनिने कानून व्यवसाय हाम्रोमा कानून व्यवसायीहरुको परम्परावादी सोचबाट अति नै ग्रस्त छ । महिला कानून व्यवसायीले न घर, न अफिस, न अदालत न बार एसोसिएसनबाट चाहिँदो व्यवसायीक सहयोग पाएका छन् । कानून व्यवसाय जति आधुनिकीकरण तिर अगाडी बढेको छ हाम्रोमा महिला कानून व्यवसायीलाई गरिने भेदभाब उति बढेको अनुभूति हुन्छ । अदालतमा आउने हाइ प्रोफाइलका मुद्दाहरूमा महिला कानून व्यवसायीको सहभागिता नगन्य देखिन्छ, भए पनि धेरै जसो केवल वकालत नामामा सीमित ।्र कोही कानून व्यवसायी पनि व्यवसायमा पाइला राख्ने बित्तिकै पूर्णरुपमा परिपक्व हुँदैन । दक्षता अवसर र मिहेनतको प्रतिफल हो । अवसर हुँदा हुँदै दक्षता प्रदर्शन गर्न नसक्नु व्यक्तिगत कुरा हो तर महिला कानून व्यवसायीलाई अवसरबाटै वञ्चित गरिने वा गर्न सक्दैनन् भन्ने धारण जो देखिन्छ त्यो हाम्रोमा गम्भीर समस्या रहेको जस्तो लाग्छ ।
अब के त ?
खास गरी महिला कानून व्यवसायीका लागि व्यवसायीक अवसर र दक्षता अभिवृद्धिका लागि सारभूत कार्यक्रमहरू सञ्चालित भएको देखिँदैन । भएपनि ती कार्यक्रमका उपलब्धिहरु र त्यसले व्यवसायमा भरेको विश्वासको मूल्याङ्कन गरेको देखिँदैन । हुन त महिला कानून व्यवसायीको समस्याको एक्लो समाधान महिलाले गर्ने होइन । तर हाम्रोमा महिला कानून व्यवसायी स्वयम जागरूक भएर बुलन्द आवाज उठाएको खासै देखिँदैन । महिला कानून व्यवसायीको सम्मेलनमा न्यायमूर्ति सारंगा सुबेदीले राख्नु भएको मन्तव्य सारगर्भित लाग्यो । महिला कानून व्यवसायीले न्यायको लागि लाडिरहदा धेरै चुनौतीसँग लड्नु परेको अवस्थामा महिला कानून व्यवसायीले आफ्नो अधिकारको चर्चा गरिरहँदा आफ्नो कमीकमजोरीको असर न्याय माग्ने पक्षलाई पर्ने कुराको हेक्का हुनु पर्ने आवश्यक हुन्छ । चाहे त्यो न्यायकर्मीको हकमा होस् या कानून व्यवसायीको हकमा । कानून व्यवसाय संवेदनशील व्यवसाय हुँदा अवसर मात्र होइन आफूलाई सक्षम र प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्य राख्नु पर्छ भन्ने भनाइ अति महत्त्वपूर्ण छ । न्यायमूर्ति सपना प्रधान मल्लज्यू, सफल महिला कानुन व्यवसायी भई मानव अधिकार, संविधान र न्यायको क्षेत्रमा गरेको योगदानका पछाडिका व्यवसायीक सङ्घर्ष र चुनौतीहरूको इतिहास कम साहसिलो र अभिप्रेरित गर्ने खालको छैन । न्यायमूर्ति सपना प्रधान मल्लले आफ्नो मन्तव्यमा महिला कानुन व्यवसायीले आफ्नो क्षमता निखार्न आफैले मिहेनत गर्नु पर्ने कुरा प्राथमिकतामा हुनु पर्ने कुराले समेत क्षमता अभिवृद्धि गर्नु पर्ने महिला कानून व्यवसायीको स्वयम चुनौतीपूर्ण रहेको कुरालाई मनन गर्नु पर्ने आवश्यक छ । सफलताको पछाडि सङ्घर्ष र मिहेनत हुन्छ जो देखिने मात्र होइन महसुस गर्ने हुनु पर्छ । आजकल दैनिकी रूपमा देखिने सामाजिक सञ्जालहरूको सरसरती सर्भे गर्ने हो भने पनि धेरै जसो महिला कानून व्यवसायी आफ्नो दक्षता, ज्ञान र अनुभव अनि विद्वताका सामग्रीहरू साटफेर गर्नु भन्दा नि अलि कम व्यवसायीक भएको भान जनमानसले मात्र होइन स्वयम् न्यायकर्मी र कानून व्यवसायीले चर्चा गरेको समेत सुन्ने गरिन्छ । महिला कानून व्यवसायीको समस्या महिलाले भन्दा बढी अरूले बुझ्न सक्दैन । तसर्थ महिला कानून व्यवसायीले नै आवाज बुलन्द गर्ने हो अरूले सहयोग र सद्भाव । त्यसैले अब महिला कानून व्यवसायीले कसरी पेसामा स्थापित हुन् सकिन्छ त्यो बुझ्नु आवश्यक छ । पेसामा के चुनौती छ त्यसको चिरफार गर्न आवश्यक छ । महिला कानून व्यवसायी बारले के गर्नु पर्छ कस्तो कार्यक्रम ल्याउनु पर्छ त्यो बुझ्नु आवश्यक छ । किनकि हाम्रो व्यवसायीक परिवेश महिला कानून व्यवसायी स्थापित गर्ने भन्दा विस्थापित गर्ने वातावरणबाट गुज्रेको छ । यो अब बन्द हुनु पर्छ । किनकि कसरी विस्थापित गर्न खोजिँदो रहेछ भन्ने कुरा महिला कानून व्यवसायीसँगको अन्तरक्रियाबाट धेरै बुझ्न सकिन्छ । महिला कानून व्यवसायी सम्मेलनको सत्रहरूमा महिला कानून व्यवसायीका अवसर, चुनौती, क्षमता अभिवृद्धि अनि संविधान र मानव अधिकार, समावेशिता अनि न्यायका लागि महिला कानून व्यवसायीको भूमिकाको बारेमा घनिभूत छलफल होस् अनि सम्मेलन सकेर फर्किदा व्यवसायीक परिवर्तनका सम्भावनाहरू बोकेर महिला कानून व्यवसायीहरू कर्मथलो तिर फर्किनुहुने छ भन्ने विश्वास लिएको छु । अबको समय महिला कानून व्यवसायी स्थापित हुने हो विस्थापित होइन ।
अन्तमा सर्वोच्च अदालतका पूर्व न्यायधिस अनि नेपाल बार एसोसिएसनका पूर्व महासचिव कानुन र न्यायका मूर्धन्य व्यक्तित्व प्रकाश वस्तिज्यूको असामयिक निधन प्रति हार्दिक समवेदना ।