मैले नभेटेको कुसुम

चर्चित वकिल हुन् भनेर मैले सानैमा सुनेको नाम थियो कुसुम श्रेष्ठ । हुन त मैले उहाँको नाम र प्रसिद्धिका बारेमा म पनि कुनै दिन कानून व्यवसायी बनौँला भनेर नसोचेकै बेला वा अझ भनौँ सोच्ने अवस्था नै नभएको मेरो बाल्यकालमा उहाँसँग एकतर्फी रूपमा परिचित थिएँ । आफू निकै नै प्रभावित व्यक्तित्वलाई प्रत्यक्ष भेट्ने, उहाँका अमूल्य अनुभवहरू, संर्घषहरु, सफलताहरू, सामना गरेको चुनौतीहरू, चुनौतीसँग लड्ने साहस र तागत र उच्च व्यावसायिकता र कानुन व्यवसायीका सहयोगीका गाथाहरू सुन्ने अत्यन्तै ठुलो इच्छा भएर पनि मेरो इच्छा पुरा हुन सकेन ।

म स्मल हेभन स्कुल छेत्रपुर चितवनमा पढ्दा मेरो स्कुले साथीहरू प्रवीण पिया र सुगम पियाहरुले खुब नाम लिन्थे कुसुम श्रेष्ठको, अनि सोध्थे तैँले चिनेको छस् कुसुम श्रेष्ठलाई ? म घर आएर बुबालाई सोध्थें को हो कुसुम श्रेष्ठ ? र बुबाले भन्नुहुन्थ्यो कुसुम श्रेष्ठ अहिले हाम्रो पालाका चर्चित उच्च कोटिका वकिल हुन् काठमाण्डौका । उहाँको त्यो वाणीले पनि कुसुम श्रेष्ठ यो नामको व्यक्तित्वसँग म सानै देखि प्रभावित भएको थिएँ । किनकि यो नाम स्कुलमा मात्र होइन कहिले घरमा कहिले बुबाको अफिसमा अनि मैले खेलेर हुर्केको चितवन जिल्ला अदालतको प्राङ्गणमा कानून व्यवसायीहरू बिच उच्चारण भई रहने नाम थियो ।

उहाँको पहाड घर तनहुँ बन्दीपुर हुँदै चितवन अनि हामी लमजुङ हुँदै चितवन। बुबाले भन्नु भएको थ्यो हाम्रो चितवन रामपुरको खेतबारी हामीले कुसुम श्रेष्ठको बुबासँग किनेको हो । म अहिले पनि मिराज श्रेष्ठलाई जिस्क्याएर साहु बा भनेर बोलाउँछु । मिराज मेरो मित्र सर्वोच्च बारको सदस्य भैसकेका एक चर्चित युवा व्यवसायी हुन् जो कुसुम ल फर्मका सञ्चालक समेत हुन् । म लमजुङको बाहुन डाँडामा जन्मेको र बाहुन डाँडाबाट १ घण्टाको उकालो हिंडेसी भिर पुस्तुन आउँछ । भिरमा रहेको सानो गाउँ भिर पुस्तुनबाट पर क्षितिजमा हेर्दा उस बेला त दिउँसो बन्दीपुरमा दुई चार घर देखेको याद आउँछ भने अहिले कति मज्जाको देखिएला बन्दीपुर रातिमा ? कति पटक बन्दीपुर पुगेँ त याद भएन । तर कानून व्यवसायी भएदेखि जहिले पुग्छु बन्दीपुर बजार, बजारको बिचमा रहेको कुसुम श्रेष्ठको त्यो पुरानो क्लासिक दरबारको एक फन्को मार्छु । अनि सोच्छु यो घर कानून व्यवसायीलाई मर्यादित बनाउन लागि परेका अनि नेपाली कानून व्यवसायी र बार एसोसिएसनलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत पहिचान गराएका एक मूर्धन्य अनि महान् कानून व्यवसायीको घर हो ।

म लन्डनमा हुँदा कहिले काहीँ आइ.बि.ए. को कार्यक्रममा जाने गर्थेँ । आफ्नो परिचय नेपाली कानून व्यवसायीको रूपमा दिँदा र मेरो राष्ट्रियताको परिचय दिँदा सम्मेलनमा आउने पाका कानून व्यवसायीले सोध्ने व्यक्ति हुनुहुन्थ्यो कुसुम श्रेष्ठ । नेपाली कानून व्यवसायी र नेपाल बार एसोसिएसनको गरीमालाई अन्तर्राष्ट्रिय पहिचान गराउने व्यक्ति रहेछन् कुसुम श्रेष्ठ । हुन त म पेसामा आउँदा अनि बार धाउँदा कुसुम श्रेष्ठलाई व्यक्तिगत रूपमा कहिले भेट्ने मौका पाइन न छेउमा बसेर कुरा सुन्ने अवसर पाएँ । उस बेला वरिष्ठ कानून व्यवसायीहरूसँगको सामिप्यता अहिलेको जस्तो थिएन । अहिले धेरै सजिलो । युवा कानून व्यवसायीलाई अग्रजहरूसँगको सामिप्यतामा जान सजिलो छ । हामीले व्यवसाय सुरु गर्दा सम्म वरिष्ठ अधिवक्ताले के छ भाइ ? भनेर काँधमा हात राखेको दिन २ थाल भात रुच्थ्यो ।

कुसुम श्रेष्ठको छेउ छाउ पुग्ने समय कहिले आएन । मैले कहिल्यै कुसुमलाई भेटिन । पछिल्लो समय उहाँ बिरामी भएको सुनेदेखि भेट्न प्रयास गरे । अनि मिराजले पनि स्वस्थ रहेको बेला भेट्न मिलाउँछु भनेर प्रयास गरे । तर अफसोस त्यो दिन कहिल्यै आएन । मैले उहाँलाई भेट्ने मौकै मिलेन । मैले नभेटी कुसुम श्रेष्ठ धेरै पर जानु भयो । तर उहाँको प्रभाव, व्यक्तित्व अनि संविधान, कानून, न्यायको विकासमा खेलेको भूमिका सहितको चर्चाका धुनहरू अहिले पनि सर्वोच्च अदालत र बारको करिडोरहरुमा सुनी रहन्छन् अनि महसुस भई रहन्छ ।

सन् २०१८ मा सर्वोच्च अदालत बार एसोसिएसनको चुनावमा मैले कोषाध्यक्षको उम्मेदवारी दिए अनि चुनाव जितेँ पनि । हाम्रो कार्य समितिले कुसुम श्रेष्ठ कक्ष स्थापना गर्‍यो अनि कुसुम श्रेष्ठको स्मृतिमा स्मारिका  प्रकाशन गर्ने भो । म एकातिर कोषाध्यक्ष अर्को तिर प्रकाशन समितिको सदस्य मैले पनि मेरो लेख दिएँ “मैले नभेटेको कुसुम” प्रकाशन समितिले स्मारिका निकाल्यो तर मेरो लेख नै रहेनछ, फालिएछ । अचम्म लाग्यो के कारणले मेरो लेख प्रकाशन भएनछ । प्रकाशन समितिका अन्य सदस्यलाई सोधेँ अनि भनियो, तपाईँले नै नभेटेको कुसुमका बारेमा लेखेको लेख सान्दर्भिक छैन छाप्न मिलेन “चित्त दुख्यो । लाग्यो हामी कुन जुगमा छौं र धेरै लेखकहरूले महाकवि लक्ष्मी प्रसाद देवकोटालाई भेटेनन्, बि।पी। लाई भेटेनन्, हरि प्रसाद प्रधानलाई भेटेनन्, विश्वनाथ उपाध्यायलाई भेटेनन्, बाबा साहेब अम्बेडकरलाई भेटेनन् अनि लर्ड डेनिङ्गलाई पनि तर पनि उहाँहरूका बारेमा कति लेख र पुस्तकहरू लेखिए लेखिए । पछि सर्वोच्च बार जर्नल अङ्क १६ को प्रकाशनको अन्तिम लेखमा स्थान पाएछ  मैले नभेटेको कुसुम र कुसुम श्रेष्ठलाई त मैले भेटिन तर सर्वोच्च अदालत बारका स्थापक सचिव दमननाथ ढुङ्गाना (दमन अङ्कल) सँग मेरो नजिकको सम्बन्ध रह्यो र दमन अंकलसँग मैले संविधान, मानव अधिकार, स्वतन्त्र न्यायपालिमा अनि कानुन व्यवसाय र कानुन अध्यायका बारेमा कति कुरा गरे त्यसको कुनै लेखा जोखा त छैन तर यी दुई महान् हस्तीको सर्वोच्च अदालत बारको स्थापना देखि कानुन व्यवसायीको पहिचानमा धेरै शब्दहरू खर्चिन सकिन्छ र दमन अङ्कलको बारेमा छुट्टै लेख्ने छु पछि ।

प्रत्येक मान्छेको जन्म भएसँगै उसको मृत्यु पनि पक्का हुन्छ केवल कुन मितिमा र कस्तो परिस्थितिमा हुन्छ भन्ने मात्रै यकिन साथ थाहा पत्तो हुँदैन । सबै जन्मिने अनि मर्ने मान्छेको सबैले हेक्का पनि गर्देनन र कसैको मृत्यु प्रश्चात उसको अभाव पनि सबैले महसुस नगर्न सक्दछन् । केही सीमित त्यस्ता व्यक्तिहरू हुन्छन् जसको जन्म त साधारण रूपमा हुन्छ तर उसको मृत्यु असाधारण बन्न पुग्दछ । उसका योगदान, उसले मार्ग निर्देश गरेको पथहरू र उसले गरेका अथक प्रयासहरूले उसको मरण पश्चात् पनि उसलाई सदा सदाका लागी अमर बनाइदिन्छ जिउँदो राखी राख्छ । कुसुम श्रेष्ठ हाम्रो कानुनी पेसाका एक्ला धरोहर, कानुनी पेसाका नक्षत्र तथा हामी र हामी जस्तै पेसामा आउने पछिल्ला पुस्ताका कयौँ पेसाकर्मीका लागी पनि एक पथ प्रदर्शक एवं उत्प्रेरक रही रहने छन् ।

कुसुम श्रेष्ठ जो कानुन र न्यायको क्षेत्रमा एक प्रभावशाली व्यक्तित्व थिए अनि बाहीरी स्वरूपमा पनि अन्त्यतै आकर्षक व्यक्तित्व तथा असाधारण क्षमता र प्रतिभाबाट ओतप्रोत भएका धनी व्यक्तित्व । हुन त सबै आमा बाबुले आफ्ना छोराछोरी असल नै हुन्, असाधारण प्रतिभाशाली तथा क्षमतावान् हुन् भन्ने नै चाहेका हुन्छन् सायद कुसुम श्रेष्ठका आमा बाबुले पनि त्यही सोचेर उहाँको नाम कुसुम राख्नु भएको होला हुन पनि आफ्नो कर्म र योगदानबाट उहाँ कुसुमको फूलजस्तै मगमग बास्ना आउने गरी कानुन र न्यायको क्षेत्रमा सकारात्मक प्रभाव छोड्नका लागी सफल हुनु भयो आफ्ना आमा बाबुले सोचेरै नाम राखे अनुरूप ।

सर्वोच्च अदालतमा व्यवसायरत कानुन व्यवसायीहरूबाट वि.स. २०३० सालमा सर्वोच्च अदालत बारको स्थापना भएको रहेछ । यसको संस्थापक अध्यक्ष कुसुम श्रेष्ठ उहाँले संस्थापक अध्यक्षको हिसाबले सर्वोच्च बारलाई एक उच्च तहको मर्यादित, स्वतन्त्र, निर्भिक र पेसागत मूल्य मान्यतामा आधारित बार भनेर यसको अलग पहिचान बनाउनमा उल्लेख्य भूमिका गर्नु भएको हामीले सुनेका तथा पढेका थियौँ छौँ । नेपाल बार र नेपाली कानुन व्यवसायीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यसको सम्बन्ध बिस्तार गर्नमा उहाँको उल्लेख्य भूमिका रहेछ । उहाँको विशेष पहलमा उहाँले बारको स्पष्ट अवस्था, योगदान गर्ने क्षेत्र, उद्देश्य र गर्नुपर्ने कामको स्पष्ट खाका र त्यसको प्रस्तुतीकरणको कारणबाट नर्वेजियन बारसँगको सहकार्य सुरु गर्नु भएको मैले बुझेको छु । त्यस्तै नेपाली कानुन व्यवसायीलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना धारणाहरू प्रस्तुत गर्नु त्यति बेलाको समयका सजिलो कुरो थिएन । यस्ता उदाहरणबाट पनि स्पष्ट हुन्छ की वहाँमा भएको क्षमता, दक्षता र त्यसको सही प्रस्तुतीकरण सामान्य भन्दा केही फरक र उच्च दरको थियो । कानुन व्यवसायी भनेको कर्मठ, योग्य, क्षमतावान्, बौद्धिक, अध्ययनशील अनि लगनशील हुनु पर्छ र लेखन कलामा माहिर पनि र उक्त गुण उहाँमा रहेको थियो भन्ने कुराको उदाहरण हुन् कुसुम श्रेष्ठ । उहाँले संसद विघटनको मुद्दामा गरेको बहस, बहस नोट,  अनि उहाँका कानुनी रायले उहाँको विशाल क्षमताको उजागर गर्दछ अनि हामीलाई प्रेरणा अनि मार्ग दर्शन ।

हुन त उहाँ सर्वोच्च अदालतको स्थापक अध्यक्ष भएता पनि उहाँले कहिले पनि पदको आशक्तता नदेखाएको कुरा नव प्रवेश कानुन व्यवसायीलाई अचम्म लाग्न सक्ला र बारको नेतृत्व राम्रा भन्दा नि हाम्रालाई बनाउने परिपाटि विकास भएको छ । कुनै पनि संस्था हाम्राको मुठ्ठीमा हुनु हुँदैन । बार व्यवसायीक भन्दा नि बढी राजनीतिक संस्थाको रूपमा बढ्नु हुँदैन । हाल बार  राजनीतिक संस्थाको रूपमा गएसँगै उहाँले बारको नेतृत्व लिने कुराबाट पछि हट्नु भएको धेरै अग्रजहरूबाट सुनिन्छ । तर उहाँ बारको नेतृत्वमा आउन नाचाहेता पनि बारको नेतृत्व गर्ने व्यक्तिको दक्षता, क्षमता, सोच, व्यावसायिकता, व्यवसायीक मर्यादा र कानुन व्यवसायी र लोकतन्त्रका मूल्य मान्यताका लागि लागि पर्ने कानुन व्यवसायीलाई अवसर दिनु पर्ने उहाँको अडानले कहिले सार्थकता पाउने हो त्यो हेर्न बाँकि नै छ ।

उहाँ संस्थापक अध्यक्ष भएको बारको आज चुनाव हुँदैछ । कुसुम श्रेष्ठ जसले सर्वोच्च अदालत बार एसोसिएसनको स्थापनाको घर निर्माण गरे जसको म कोषाध्यक्ष समेत भैसकें त्यो घरलाई कानुनको शासन, मानव अधिकार, स्वतन्त्र न्यायपालिका अनि लोकतन्त्रको बलियो पिलर बनाउने अनि कानुन व्यवसायी को क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय पहिचान दिलाउने  बाचा सहितको कालिगढहरुको आज निर्वाचन हुँदैछ र कुसुम श्रेष्ठले देखेको सर्वोच्च अदालत बार एसोसिएसनको भूमिकालाई अबको नेतृत्वले एउटा उचाईमा पुर्याउनु पर्नेछ । शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज