प्रपोसा केसी । अधिवक्ता
यही माघ १६ गते नेपालको पहिलो युवा कानुन व्यवसायीहरूको सम्मेलन हुदैँछ । पहिले त, धन्यवाद । अनि, शुभकामना सम्मेलनको सफलताको लागी । यही परिपेक्षमा केही कुराहरू राख्न मन लाग्यो। म विगत ७ वर्ष देखि पेसामा छु र हाल नेपालको फौजदारी न्याय प्रणालीमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा न्युजिल्यान्डमा विद्यावारिधि गर्दैछु। ७ वर्षको पेसाको अन्तरालमा लिगल प्राक्टिस, पढाई, अध्यापन, लिगल रिसर्चहरूमा संलग्न हुने मौका पाएकोले अब कानुन व्यवसायको बारेमा केही कुरा बुझेको छु जस्तो लाग्छ। पढ्ने, बुझ्ने र सिक्ने क्रम निरन्तर जारी छ।
म दोस्रो पिँढीको कानुन व्यवसायी हुँ। मलाई पेसामा आउन सजिलो भयो किनकि मेरो बुबा पनि यसै पेसामा हुनुहुन्थ्यो। ल फर्म थियो, त्यसैले सुरुवात गर्न सजिलो भयो। म कृतज्ञ छु। जहिले हुनेछु। प्रिभिलेज छ, यसको विषयमा धेरै भोकल छु। आफूले पाएको प्लेटफर्मको सधैँ मान राख्ने छु। साथ, सहयोग, मेहनत र परिश्रमले अगाडि बढिरहेकी छु र अगाडि बढ्ने नै छु। तर, सबै सँग बाटो देखाइदिने मान्छे छ त? के यो पेसा सबैको लागी ‘खुल्ला’ छ त? यी बुदाँहरु नितान्त मेरा अनुभवहरू हुन्। मैले पनि धेरै कुराहरूमा सुधार गर्नुपर्छ। हामी सबैले केही कुराहरू मनन गर्नुपर्ने देखिन्छ।
१. युवा कानुन व्यवसायीहरूलाई पेसामा कसरी रिटेन् गरेर राख्ने भनेर सोच्ने बेला भएको छ। लिगल मार्केटमा आफ्नो पढाई सकेर फुल ट्याईम प्राक्टिस नै गर्छु भनेर आउनुहुन्छ तर एक दुई वर्षमा हार मानेर निस्किनु हुन्छ। यसको दुई वटा पाटो छ। एक, प्र्याकटिस गर्न साह्रै गाह्रो छ । दुई, युवा कानुन व्यवसायीहरू आफै मेहनत गरेर डटेर अगाडि बढ्न डराउनु हुन्छ।
२. युवा कानुन व्यवसायीहरूलाई प्राक्टिस गर्न किन गाह्रो छ त ? काम सिक्न गएको ल फर्म मा फ़ाईल पढ्न दिइँदैन। मुद्दाहरू सजिलै पाइँदैन। क्लाईन्टको ट्रस्ट कमाउन साह्रै गाह्रो छ । आर्थिकरुपले सेक्युअर छैन। अझ राजनीतिकरणले पेसा झन् गाह्रो बनाएको छ र यसका जराहरू धेरै तलसम्म छन् ।
३. युवा कानुन व्यवसायीहरू आफै मेहनत गरेर डटेर अगाडि बढ्न डराउनु हुन्छ। फ़ाईल पढ्न दिएको खण्डमा युवा कानुन व्यवसायीहरूमा पढेर, टिपोट गरेर राख्ने, पढ्ने बानी छैन। हामीले आफ्नो बहस कलालाई निखार्न, आफ्नो लेखन शैलीलाई अझ राम्रो बनाउन, नेपाली हिज्जे तथा व्याकरण सुधार्न कति समय दिने गरेका छौ त?
४. कयौँ युवा साथीहरूको अदालतमा नाम लेखाउने होडबाजी हुन्छ। Meaningful participation को लागी बेन्चले अझ सुदृढ भूमिका खेल्नुपर्ने बेला आएको छ।
५. वरिष्ठ अधिवक्ताज्युहरुले अहिलेसम्म कति वटा युवा कानुन व्यवासायीहरुलाई प्लेटफर्म दिनु भएको छ? फाइल पढेर, मुद्दा लेख्ने र बहस गर्ने मौका दिनु भएको छ? आफू जस्तो एक्सपर्ट हुन कति जनालाई ग्रुम गर्नुभएको छ?
६. हामीहरू मध्ये कति जनाले लिगल जुरिस्प्रुडेन्सको छलफल गर्छौ? लिगल जुरिस्प्रुडेन्सको छलफलको लागी प्रोत्साहन गर्छौँ? बहसमा समावेश गर्छौँ ? बेन्चले कति जुरिस्प्रुडेन्सको छलफललाई प्रोत्साहन गर्छ?
७. कानुन व्यवसाय भनेको लिगल प्राक्टिस मात्र हैन। युवा कानुन व्यसायीहरु अरू थुप्रै क्षेत्रमा हुनुहुन्छ। कर्पोरेट सेक्टर, Human Rights Advocacy, Finance sector, Media जस्ता क्षेत्रमा मेहनतका साथ अघि बढ्दै हुनुहुन्छ, तर कानुन व्यवसायी भनेर उहाँहरूको भ्याल्युलाई अन्देखा गरिन्छ। पेसामा समावेशीकरण आवश्यक भएको छ।
८. अबको आउने युग र प्रविधिको लागी हामी तयार हुन आवश्यक छ। प्रविधि – युवा कानुन व्यवसायीहरूको Forte हो। प्रविधिको सदुपयोग गरेर कानुन व्यवसायलाई थप उत्पादक र गुणस्तर बनाउन आवश्यक छ।
९. निरन्तर पढाई तथा कौशल वृद्धि गर्ने सिपहरूको Skills enhancement प्रोत्साहन गर्न जरुरी छ।
नितिगत् रूपमा संसारमा युवा कानुन व्यवसायीहरूको लागी उदाहरणीय नीतिहरू बनेका छन्। कमिटीहरू बनेका छन्।
यो सुरुवात उदाहरणीय छ। हालै भएको युवा कानुन व्यवसायीहरूको रिसर्चको बारेमा पढ्न उत्साहित छु। यो सम्मेलन तथा रिसर्चको थालनी गरिइदिनुभएकोमा नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समितिलाई मुरी मुरी धन्यवाद।
अधिवक्ता केसीले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको विचार हामीले साभार गरेका हौं ।-सम्पादक