आशा छ युवा कानुन व्यवसायीहरूले आज राष्ट्रिय सभागृहमा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा उद्घाटन हुने पहिलो युवा कानुन व्यवसायी सम्मेलन मार्फत युवा कानुन व्यवसायीका विविध आयाम र बार एसोसिएसनको भूमिकाको बारे घनीभूत छलफल गरी युवा कानुन व्यवसायीलाई व्यावसायिक निरन्तरताका लागि अभिप्रेरित गर्ने छ । पहिलो युवा कानुन व्यवसायी सम्मेलनको सफलताको अग्रिम शुभकामना !
सन् २००७ /८ मा लन्डनमा ल सोसाइटी अफ इङ्गल्यान्ड एन्ड वेल्स अन्तर्गतको युवा कानुन व्यवसायी समितिमा आबद्ध भई समितिका विभिन्न कार्यक्रमहरू मा सहभागी हुने गरिन्थ्यो । सहभागी हुनुको मेरो उद्देश्य के थियो भने करिब ४ वर्ष जति नेपालमा नै कानुन व्यवसाय र प्राध्यापनको अनुभव लिएर इङ्गल्यान्ड तिर लागेको थिएँ र मला कानुन व्यवसायका आयामहरूको बारेमा ती कार्यक्रमहरू मार्फत ज्ञान, सिप अनि अनुभव बटुल्नु थियो । मेरो काठमाडौँको व्यावसायिक दौरानमा मैले बुझिसकेको थिए कि कानुन व्यवसायमा प्रवेश गर्दा के समस्याबाट युवा कानुन व्यवसायी गुज्रने गर्दछन् । त्यो पनि खास गरी काठमाडौँ बाहिरबाट काठमाडौँमा आफ्नो अध्ययन र व्यावसायिक क्यारियर बनाउन आउनेहरूले । हुन त म कानुन व्यवसायी परिवारको भएकोले व्यावसायिक आत्मविश्वास व्यवसायमा आउनु अघि देखि सकेको र बुझी सकेको थिए । कानुन व्यवसायको पारिवारिक वातावरणमा हुर्केको म, व्यावसायिक सङ्घर्ष कम चुनौती पूर्ण हुँदैन भन्ने पुरा ज्ञान थियो अनि मेरो आत्मविश्वास पनि दरा, अटल अनि अर्जुन दृष्टि को थियो । तर जो कानुन व्यवसायीको चुनौती र व्यावसायिक सङ्घर्ष नदेखी, पारिवारिक सहयोग र पेसाको अनुभव नसुनी पेसामा आएका हुन्छन् उनीहरूको चुनौतीले केही मात्रमा आत्मविश्वास अझ बढाउँथ्यो । घरकै ल फर्मलाई चितवनमा छोडी एउटा चुनौतीपूर्ण व्यावसायिक बाटो रोज्दै हातमा प्रतिष्ठित विश्वविद्यालय बाट एल एल एम को प्रमाण पत्र बोकी २००१ मा काठमाडौँ आएको थिएँ । त्यसै त छैटौँ बार काउन्सिलको लिखित परीक्षा उत्रिर्ण गरेता पनि पुने देखि ३ दिनको रेलको यात्रा तय गरी काठमाडौँ आएको म मौखिक परीक्षा अनिश्चितकालको लागि स्थगित भएकाले पुने फर्किनु परेको थियो । त्यसबेला मौखिक परीक्षा छुटेको हुँदा फेरी दोस्रो पटक नवौँ परीक्षामा समावेश भई उत्तीर्ण गरियो अनि अधिवक्तामा दरिन पुगे । जसका कारणले प्रमाण पत्र ६५०० को हाराहारीमा हुने मौका गुमाई प्रमाण पत्र ९५३९ मा पुगियो । प्रमाण पत्रको सङ्ख्यामा अडेको व्यावसायिक पीडा अर्कै छ । त्यसमा नि उस बेला हातमा गनिने एल एल एम होल्डर हुँदा समेत काठमाण्डौका ल फर्ममा काम पाउन सकिएन । उस बेला एल एल एम हुनेहरूले एक दुइटा फर्म बाहेक अन्यमा काम खासै नपाउने रहेछन् भन्ने देखियो । त्यसैले युवा कानुन व्यवसायीहरूले के बुझ्नु पर्ने देखिन्छ भने युवा कानुन व्यवसायीहरूका समस्या आज भन्दा २५ वर्ष पहिले नि थियो । अनि २५ वर्ष अघि त मैले पो देख्या र भोग्या । युवा कानुन व्यवसायीका समस्या र चुनौती म भन्दा धेरै पुस्ता अघिकालार्इ पनि थियो । जति वेला उहाँहरूको व्यावसायिक सुरुवातीका दिनहरूमा हुनुहुन्थ्यो । केवल तिनका प्रकारहरू फरक थिए होलान् तर समस्या विहीन पक्कै थिएनन् भन्ने लाग्छ ।
फेरि लन्डन तिर
मैले माथि नै भने अध्ययनका क्रममा अनि अध्ययन पश्चात् पनि मलाई युवा कानुन व्यवसायी समितिका विभिन्न कार्यक्रमहरूमा जानुको कारण भनेको हामीले नेपालमा भोगेका चुनौती र त्यहाँको चुनौती बिचको अन्तर बुझ्नु थियो । युवाका समस्या र कसरी ल सोसाइटीले युवा कानुन व्यवसायीलाई समाहित गरेर व्यावसायिक उन्नतिमा सहयोग गर्न सक्छ भन्ने बुझ्नु थियो ।
केही समयमा नै त्यहाँका कानुन व्यवसायीका समस्याहरू पनि कम चुनौतीपूर्ण रहेनछन् भन्ने बुझियो सम्मेलन अनि सम्मेलन, गोष्ठी र सामाजिक भेटघाटमा भेटेका युवा कानुन व्यवसायीहरू र मेरा विदेशी सहपाठीहरूसँगको अन्तरक्रिया मार्फत । मैले सरसरती बुझ्दा त्यहाँका युवा कानुन व्यवसायी ल फर्ममा काम गर्दा जुनसुकै विषयमा पनि आफूलाई तयार राख्नु पर्ने, आफ्नो चाहनाको विषय भन्दा फर्ममा आउने विषयमा जानकारी राख्नु पर्ने, पक्षसँग सीधा सम्पर्क नहुने, सीधा जिम्मेवारी नपाइने, फाइल हेर्न नपाइने, के मुद्दामा काम गरिरहेको छु भन्ने समेत थाहा नहुने, फर्मले विश्वास गर्ने कुरामा कमी, न्यून तलब, ज्यादा समय खर्चिनु पर्ने, समयको बेपर्बाह गरी काम गर्नु पर्ने, घर र व्यवसायी सन्तुलन मिलाउन नसकिने, ल फर्मले क्षमता अभिवृद्धिमा ज्यादा ध्यान नदिने, ज्यादा जसो प्रो वोनो काम गर्नु पर्ने, फी पाए पनि लो बो नो जस्ता विषयहरू रहेछन् । त्यसैले युवा कानुन व्यवसायीका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ अनि युवा कानुन व्यवसायीलाई कानुन व्यवसायमा कसरी अभिप्रेरित गरी लामो समय सम्म राख्न सकिन्छ भनेर युवा कानुन व्यवसायी समिति धेरै सक्रियता साथ काम गर्ने रहेछन् । ल एसियाले पनि युवा कानुन व्यवसायीका लागि विविध कार्यक्रम गरी कसरी युवा कानुन व्यवसायीको ब्यबसायीक सिप बढाउने, कसरी व्यवसायमा टिकाउने, प्रविधिसँग कसरी मिलाउने, आधुनिक व्यवसायका लागि कसरी सक्षम बनाउने भन्ने बारे विविध कार्यक्रमका साथै युवा कानुन ब्यबसायीलार्इ सदस्यता सहुलियत दिई युवा कानुन व्यवसायीको सञ्जाल बढाउन कार्यरत छ । साथै ल एसियाले युवा कानुन व्यवसायीको अन्तर्राष्ट्रिय सङ्गठन (ए आइ जे ए )सँग सहकार्य गरी युवा कानुन व्यवसायी लक्षित कार्यक्रम गरिसकेको छ र आगामी दिनमा सहकार्य गर्ने छ । पछिल्लो पटक सन् २०१८ मा फेरी लन्डन जाँदा अन्तर्राष्ट्रिय बार एसोसिएसन (आइ बि ए) र ल सोसाइटी अफ इंगलैंडमा जाने योजना तय थियो । नेपाल बार एसोसिएसनको अन्तर्राष्ट्रिय बार सम्बन्ध समितिको सचिवको हैसियतमा युवा कानुन व्यवसायीको चुनौती र अवसरका बारेमा छलफल गरियो अनि यसपालि आइ बि ए को मेक्सिको सम्मेलनमा समेत नेपाली युवा कानुन व्यवसायीको समस्या र सम्भावित अवसरका बारेमा आइ बि ए युवा कानुन व्यवसायी समितिमा रहेका साथीहरूसँग छलफल गरियो । नेपाली युवा कानुन व्यवसायीहरूले पनि आइ बि ए सम्मेलनमा फेलोसिप पाउनु पर्ने भनी गरेको लबीबाट सन् २०१७ मा ५ जना युवा कानुन व्यवसायीले अस्ट्रेलियाको सिड्नीमा भएको अन्तर्राष्ट्रिय बार एसोसिएसनको सम्मेलनमा सहभागी हुने मौका कसरी जुराइयो भन्ने बारेमा मेरो अघिल्ला शनिवारको डायरीमा लेखि सकेँ । अनि ती अवसर खोज्नका लागि कटिबद्ध रहेको कुरा यही आलेखमा व्यक्त गर्दछु ।
नेपाल बार र युवा कानुन व्यवसायी
अहिले नेपाल बारको बलियो खम्बा भनेको युवा कानुन व्यवसायी हुन्। आई बी ए का अनुसार युवा कानुन व्यवसायी भन्नाले ४० वर्ष उमेर सम्मका कानुन ब्यबसायीलाई लिइने रहेछ । केही देशमा कनिष्ठ कानुन व्यवसायी वा नव प्रवेशी कानुन व्यवसायी पनि भनिन्छ पेसागत वर्ष गनेर । ल एसियाले युवा कानुन व्यवसायीको हकमा ३५ वर्ष ननाघेको वा पाँच वर्ष सम्मको कानुन व्यवसायको अनुभव भएकालाई युवा कानुन व्यवसायीको सहुलियत दिएको छ । तर युवा होस या कनिष्ठ कानुन व्यवसायीका समस्या संसार भर एकरुप नभए नि खासै फरक छैनन्।
आजसम्म आउँदा युवा कानुन व्यवसायीको उमेर हद नाघेको म हजारौँ नेपाली युवा कानुन व्यवसायीसँग लामो व्यावसायिक वातावरणका बारेमा छलफल गरेको छु, प्रशिक्षण गरेको छु अनि गुनासाहरू सुनेको छु । हाम्रो पुस्ताले युवा व्यवसायी हुँदा भोगेको कुरा अहिलेको पुस्ताले नभोगुन् भनेर सक्दो सहयोग गरेको छु, आवाज उठाएको छु । अनि लेखहरू मार्फत आफ्ना धारणा राखेको छु । कुनै दिन कानुन व्यवसायीहरूले बारमा नेतृत्व दिने अवसर दिए भने युवा कानुन व्यवसायीको व्यावसायिक अभिवृद्धिका लागि के के गर्ने योजना र कटिबद्धता छ, त्यसको बेलिबिस्तार लगाएको पनि छु, अनि सक्दो मद्दत र सल्लाह पनि दिएको छु । युवा कानुन व्यवसायीका लागि अवसरहरू खोज्ने अनि कानुन व्यवसाय छोडेर अन्य पेसामा स्थानान्तरण हुन् नदिन कसरी हामीले काम गर्नु पर्छ भन्ने राम्ररी बुझेको पनि छु । हिजो म आफै युवा कानुन व्यवसायीको उमेरमा हुँदा अनि अहिलेका युवा कानुन व्यवसायीहरूले जहिले पनि नेपाल बारलाई र यसका युनिटहरूलाई गम्भीरताका साथ सोध्ने गरेको प्रश्न के हो भने, “ बारले हाम्रो लागि के गर्यो ? बारबाट हामीले के पाउने ? के बारले हाम्रो कुरा सुन्छ ? के बारका कार्यक्रमहरूमा युवा कानुन व्यवसायीले आफ्नो बिचार राख्ने मौका पाउँछ ? कहिलेसम्म बारका लागि हामीले मतदान गर्ने ? हाम्रो मत बारले कहिले सुन्ने ? के अबको बार हाम्रो लागि पनि हुनु पर्ने होइन ? आदि मलाई थाहा छैन म युवा कानुन व्यवसायी हुँ वा अग्रज । युवा भनूँ भने मेरो पछाडि १३००० भन्दा बढी कानुन व्यवसायीहरू आइसके । अग्रज भनूँ भने म भन्दा २/४ व्यावसायिक पुस्ताका अग्रजहरू अहिले पनि मस्त भ्याई नभ्याई वकालतमा अति सक्रिय हुनु हुन्छ । खैर मेरा पुस्ताका युवा कानुन व्यवसायीले युवा कानुन व्यवसायीसँग सम्बन्धित कार्यक्रम, क्षमता अभिवृद्धिका अवसर पाइएन वा हुँदा हुँदै पनि मैले पाउन सकिन थाहा भएन । अब चाहिँ त्यो हुनु हुन्न भन्ने बुझाइबाट नेपाल बारका विविध गतिविधिमा सक्रिय हुन थालियो । म जस्ता कानुन व्यवसायीले नेपाल बार भित्र युवा कानुन व्यवसायीको पहिचान हुनु पर्ने, युवा कानुन व्यवसायी समिति हुनुपर्ने, युवा कानुन व्यवसायीका कुराहरू सुन्नु पर्ने अनि युवा कानुन व्यवसायीका लागि व्यावसायिक परामर्श युनिट खोल्नु पर्ने जस्ता कुराहरू उठाउन थालियो । अहिलेको नेबाए नेतृत्वले ती कुराहरू बुझी युवा कानुन व्यवसायी समिति गठन गर्न अग्रसरता देखायो जो सराहनीय छ । समिति गठनको क्रममा मलाई युवा कानुन व्यवसायी समितिको संयोजकका लागि नेपाल बार नेतृत्वले कुरा राख्यो अनि जवाफमा मैले भने युवा समितिको संयोजक युवाले गर्ने हो । हामीले सल्लाह, सहयोग र सुझाव दिने हो । मलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार समितिमा राख्नु होला । यो समय नेपाल बारको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गरी युवा कानुन व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा लैजाने अवसर खोज्ने हो । युवा कानुन व्यवसायीलाई पनि राष्ट्रिय अन्तर्राष्ट्रिय व्यवसायीका सञ्जाल भित्र ल्याउनु छ । खुसी लाग्यो नेपाल बारले युवा कानुन व्यवसायी सरोकार समिति क्षमतावान् युवा प्रिय मित्रहरूलाई सुम्पियो । अनि अहिले यो समितिले युवा कानुन व्यवसायी लक्षित कार्यक्रमहरू गर्दै छ । युवा कानुन व्यवसायीको व्यवसायीका समस्या, अवसर र मार्ग निर्देशनको सर्वेक्षण गर्दै छ अनि युवा कानुन व्यवसायी सम्मेलन हुँदै छ काठमाडौँमा ।
युवा कानुन व्यवसायीका समस्या अनि संसारभर हुने अभियान
अरू देशमा जस्तै हाम्रोमा पनि युवा कानुन व्यवसायीका धेरै समस्याहरू छन् । पारिवारिक सहयोग नहुने, परिवारले धेरै अपेक्षा गर्ने, परिवार र व्यवसायमा सन्तुलन मिलाउन नसकिने, कामको कि धेरै दबाब हुने कि काम विहीन हुने, अग्रजहरूले नपत्याउने, धेरै पेल्ने, अफिसमा काम गर्ने वातावरण नहुने, भौतिक सुविधा नहुने र सानो कार्य क्षेत्र हुने, अदालतका कर्मचारीको हेपाहा प्रवृत्ति सहनु पर्ने, अदालतमा काम बनाउनका लागि कर्मचारीलाई पैसा दिने एजेन्ट बन्नु पर्ने, न्याय मूर्तिले बहस नसुन्ने, बहस गर्न अभिप्रेरित नगर्ने, उल्था गर्न फोटो कपि गर्ने काममा बढी खटिनु पर्ने, समय सीमा नहुने, तलब भन्दा पनि टिप्स दिएको व्यवहार हुने, न्यून ज्याला ज्यादा काम, व्यावसायिक जिम्मेवारी नदिने, पक्षसँग भेटघाट नहुने, व्यावसायिक पीडा मर्मको कुरा सुनाउने संयन्त्र नहुने, व्यावसायिक दुर्व्यवहार हुने, अनुसन्धान अध्ययनमा सहयोग नहुने, प्रविधि एआईको बारेमा ज्ञान नपाइने, तालिम, कार्यशालामा पहुँच नहुने, सीमितहरूको मात्र पहुँच जस्ता कति हो कति समस्याबाट युवा कानुन व्यवसायी गुज्रेका छन् । संसारभर ल सोसाइटी, बार काउन्सिल र बार एसोसिएसनको एउटा महत्त्वपूर्ण अभियान भनेको कसरी युवा कानुन व्यवसायीहरूलाई पेसाबाट पलायन हुन नदिने अनि सम्भावनाहरू खोज्ने, पेसागत अभिवृद्धि गर्ने अनि उनीहरूको पेसागत सञ्जाल निर्माण गरेर व्यावसायिकता सिकाउने भन्ने हो । यसका लागि अन्य देशका बार एसोसिएसनहरुले विविध कार्यक्रमहरू सञ्चालन गरेका हुन्छन् , समस्या र अवसर पहिचान गरेका हुन्छन् । काबिल युवालाई राम्रो सुविधा दिएर राखेका हुन्छन् । उनीहरूका कला कौसलतालाई कार्यक्रम मार्फत सर्बजनिकिकरण गरेका हुन्छन् । नेतृत्वको अवसर र जिम्मेवारी दिएका हुन्छन् अनि पुरस्कृत पनि गरेका हुन्छन् । नीति निर्देशिका बनाएका हुन्छन् अनि ती संस्था, सरकार र ल फर्मसँग साझेदारी गरी प्रशिक्षित गरेका हुन्छन् र काबिल व्यवसायी बन्ने आधार निर्माण गरेका हुन्छन् । उनीहरूको विज्ञतालाई स्वीकार गरेका हुन्छन् अनि खोजी खोजी जिम्मेवारी दिएका हुन्छन् ।
युवा सम्मेलन र युवा कानुन व्यवसायी
युवा कानुन व्यवसायी समिति बारमा हुनु पर्ने अनि युवा कानुन व्यवसायी लक्षित कार्यक्रम, सम्मेलन हुनुपर्ने भन्ने धेरै छलफल पछि नेबाएले गठन गरेको समितिको आयोजनामा युवा कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ । यो सम्मेलन मा देश भरिका युवा कानुन व्यवसायी अति नै उत्साहित भएर आएका तस्बिरहरू नेपाल बार एसोसिएसनको फेसबुक मार्फत देख्न पाउँदा धेरै खुसी लाग्यो । सम्मेलनमा आएर केही सिकौला, बुझौला, जानेको कुरा पोखुँला, नयाँ साथीहरू चिनौला, व्यावसायिक सञ्जाल बढाउँला, अग्रजका कुरा सुनौला, नेतृत्व गर्ने अवसर खोजौला, कानुन व्यवसायमा लामो अनुभव र पारङ्गत भएका अग्रजहरूका कुराहरू सुनौला, व्यवसायीक प्रभाव छोडेका युवा कानुन व्यवसायीका भावनाहरू सुनौला अनि काठमाण्डौंमै होस् या काठमान्डौबाट फर्किदा व्यवसायीक आत्मविश्वास लिएर फर्काैंला भनेर प्रिय युवा कानुन व्यवसायीहरू राष्ट्रिय सभा गृहमा आउँदै हुनुहुन्छ । मलाई विश्वास छ यो कार्यक्रमले युवा कानुन व्यवसायीका समस्या, चुनौती, अवसर, आगामी बाटो, बार एसोसिएसनको भूमिका, व्यावसायिकता र उद्यमी अवसर, युवा कानुन व्यवसायीका अन्तर्राष्ट्रिय अवसर, निरन्तर कानुनी तालिम र कानुनको शासन, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका जस्ता विषयहरूमा घनीभूत छलफल गर्ने छन् । अनि युवा कानुन व्यवसायीबिच व्यावसायिक सञ्जाल निर्माण गर्ने छन् । यो एउटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन म राष्ट्रिय सभागृह आइपुगेको छु । युवा कानुन व्यवसायीहरूसँग साक्षात्कार हुन म आतुर छु । यो पहिलो सम्मेलनले युवा कानुन व्यवसायीलाई अद्भुतको ऊर्जा दिई पठाओस् बस अहिलेलाई त्यति भए पुग्छ । किनकि यो सम्मेलन पहिलो हो तर अन्तिम होइन । यस्ता सम्मेलनहरू हुँदै जाओस् । सम्मेलनको सफलताको मन देखि शुभकामना ।
(सरोज कृष्ण घिमिरे, ल एसियाका कार्यकारी सदस्य र नेबाएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति ( विदेश विभाग) को सह संयोजक हुनुहुन्छ । समय सापेक्ष भएकोले घिमिरेको यो सामग्री हामीले थप परिमार्जित गरी पुनः प्रकाशन गरेका छौँ । -सम्पादक)