युवा कानुन व्यवसायीहरूको प्रथम राष्ट्रिय सम्मेलन हुनु आफैमा एउटा ऐतिहासिक क्षण हो । यो उ जमानामा हुनुपर्थ्यो यो जमानामा भयो ! तर असाध्यै राम्रो सुरुवात भएको हो भन्ने मलाई लाग्छ ! कसले गर्यो, के का लागि गर्यो र किन गर्यो भन्ने भन्दा पनि जसले गर्यो, जसका लागि गर्यो, जसरी गर्यो कमसेकम राम्रो सुरुवात त गर्यो ! कसलाई मान पुगेन , कसलाई सम्मान पुगेन, कसको के इच्छा कामना थियो सो भएन …..त्यो तपसिल हो भन्ने लाग्छ । यसरी जबरजस्त सुरुवात भएको विषयले अब निरन्तरता खोज्नु छ ।
युवा कानुन व्यवसायीहरूले भोगेका विषयमा आधारित प्रतिवेदनको अक्षर अक्षरको मर्म र भावना अनुसार कर्तव्य, दायित्व र जिम्मेवारी प्रति उत्तरदायी हुनु छ अब कोही कसैले यो वा त्यो बहानामा युवाहरूलाई हिजो जस्तै भजाएर, कजाएर, रिझाएर आफ्नो पोल्टो मात्रै बलियो पार्न लाग्ने होइन कि आफूले युवाहरूको पाखुरीमा दम भर्न र सबैलाई समान महत्त्वको रूपमा लिएर उनीहरूमाथि खास योगदान गर्नु आवश्यक छ । भोलिका दिनमा आजका युवा र भोलि उदाउने युवाहरूको यो वा त्यो दुवै पुस्ताको पेसागत दैनिकी बदलिएन भने, परिवर्तनको अनुभव र अनुभूतिको स्वाद मिलेन भने त्यो दिन यो कार्यक्रमको खुलेर मूल्याङ्कन गरौला, आलोचना गरौला तर आजै चाहिँ हतार भएको छैन भन्ने लाग्छ। यो सम्मेलनमा उठाएका विषयहरू, कार्यक्रमको मोडिलाटी, सञ्चालन, व्यवस्थापन वास्तवमा चुस्त दुरुस्त थियो । तर एउटा गम्भीर कमजोरी भने यहाँ भन्नै पर्छ आफैले निर्धारण गरेको समयको तालिका अनुसार हिडन नसक्दा विशिष्ट व्यक्तित्व र वक्ताहरूले अनावश्यक लामो समय प्रतीक्षा गर्नु परेको त्यो पट्यारलाग्दो क्षण वास्तवमा दुःखद नै थियो । यता आफूले समयको पालना गर्न नसक्दा उता आर्कोको महत्त्वपूर्ण समय भने सिकार भइरहेको थियो । जसको कारण कार्यक्रमको अन्तिम सेसनमा उल्लेख्य सहभागीहरू बस्न सक्नु भएन । यस बाहेक खोट लाउने ठाउँ देखिन ।
अर्को खुसीको कुरा भनेको यो कार्यक्रममा कुनै किसिमको राजनीतिक गन्ध थिएन । कार्यक्रममा विगतमा झैँ राजनीति बाहेकका अन्य बारका कार्यक्रममा समेत हुने गरेका विभिन्न LA र तिनका नेता र प्रतिनिधिहरूको पट्यारलाग्दो भाषण सुन्न परेन । कुनै बेला Social Engineering School Nepal मार्फत यस्तै मोडालिटिमा कार्यक्रम सञ्चालन गर्ने गरेका थियौ र हामीले भन्थ्यौ पनि खासमा यो मोडिलाटीमा बारहरूले कार्यक्रम सञ्चालन गरेको भए हुन्थ्यो भनेर । अन्त्यमा केही कुरा कर्म र व्यवहारमा नेपाल बार एसोसिएसन र त्यसको नेतृत्व लिएका सङ्ग हिजो अरू जस्तै मेरो पनि विमति रह्यो र भयो, त्यो हुनुपर्थ्यो, जरुरी थियो, संस्थागत विकासमा यसो हुनु र रहनु कुनै नौलो होइन भन्ने लाग्छ तर यो कार्यक्रम वास्तवमा आज तारिफ गर्न योग्य थियो, र छ ।
राम्रोलाई राम्रो भन्न के डर । यो कार्यक्रम सफल पार्न जो जसरी खट्नु भो उहाँहरू प्रति कृतज्ञ हुनै पर्छ । कार्यक्रमको समग्र उपलब्धि त भोलिका दिनमा देखिएला । नत्र कल त कल हे जो होगा खुल के लेखुङ्गा ।