नेपालको न्यायालयमा पेशीमा चढेका सबै मुद्दाहरूमा आदेश वा फैसला हुँदैनन् । यो एउटा स्थापित परम्परा जस्तै बनिसकेको छ । पेशी स्थगन हुनुका विभिन्न कारणहरू मध्ये वकिलको स्थगितनामाले प्रमुख भूमिका खेल्ने गरेको पाइन्छ ।
वकिलको स्थगितनामा प्रायः एउटै भाषा दोहोरिने गरेको छ । प्रस्तुत मुद्दामा आज मिति यति गते पेशी तोकिएकोले पक्षको तर्फबाट सम्मानित अदालतमा बहस पैरवीको लागि उपस्थित हुनु पर्नेमा बिरामी भई काबु बाहिरको परिस्थिति परी उपस्थित हुन नसकेकोले आजको पेशी स्थगित गरी पाउँ । न्यायाधीशहरूलाई पनि करिब करिब अनुमान हुन्छ । कि कुनै वकिल साँचो अर्थमा बिरामी भएर पेशी स्थगन गराउँदैछ वा यो केवल बहाना मात्र हो भनेर । कहिलेकाहीँ स्थगितनामाको पत्र लिएर जाने व्यक्तिलाई इजलासले प्रश्न गर्दा तपाईँको वकिल साँचै बिरामी हो भनेर सोधिन्छ, तर उत्तर सधैँ एउटै हुन्छ हो श्रीमान् अनि आजको पेशी स्थगित हुन्छ ।
वकिलहरूले न्यायालयको प्रणाली हेरेर आफ्नो सुविधाअनुसार पेशी स्थगन गर्ने गरेको पाइन्छ । धेरै अवस्थामा एकै समयमा दुईवटा इजलासमा पेशी परेका कारण एउटा इजलासमा बहस गर्न जानु परेपछि अर्को इजलासका लागि स्थगितनामा पठाइन्छ । कतिपय अवस्थामा पक्षले नै वकिललाई बिरामी हुन बाध्य पार्दछन् । यो न्यायाधीश फलानो पार्टीबाट नियुक्त भएको मेरो सेटिङ हुन सक्दैन स्थगितनामा पठाउनुस् भनेर वकिललाई आदेश आउँछ । अनि, कतिपय अवस्थामा यही भाषा वकिलले पक्षलाई भनेर पेशी स्थगित गर्दछन् । आखिर यसको वास्तविकता के हो ? गर्भमै रहेको छ । न्यायालयमा हुने चलखेल र विकृतिको यो एउटा प्रतिबिम्ब हो । यसमा वकिल, अदालत र नेपाल बार उक्तिकै जिम्मेवार देखिन्छ ।
घरायसी वा व्यक्तिगत कारणहरूले गर्दा पनि वकिलहरूलाई स्थगितनामा पठाउनु पर्ने हुन्छ तर सत्य विवरण उल्लेख गरे पेशी स्थगित नहुने भयले उही बिरामी भन्ने बहाना अपनाइन्छ । किनकि सत्य ब्यहोरा लेख्दा पेशी स्थगित हुँदैन । अनि ब्यहोरा बङ्गाउनु वकिलको बाध्यता पनि हुन्छ ।
नेपालको अदालतको वेबसाइटमा मुद्दासँग सम्बन्धित पक्षका वकिलहरूको नामावली राख्ने व्यवस्था छ तर आजसम्म कुनै मुद्दामा अदालतका कर्मचारीहरूले वादी र प्रतिवादी वकिलहरूको नाम समावेश गरेको पाइँदैन । न अदालतले वादी प्रतिवादीका वकिलहरूको नामावली समावेश गर्दछ, न त बारले किन समावेश नगरेको भनी प्रश्न गर्दछ ।
यदि अदालतले वादी र प्रतिवादी वकिलहरूको नाम वेबसाइटमा नियमित अद्यावधिक गर्ने र स्थगितनामा पठाउने वकिलको नाम सार्वजनिक गर्ने, एउटै वकिलले एकै दिन दुईवटा इजलासमा कार्यरत रहेको तथ्य प्रमाणित गर्ने जस्ता सुधारका उपाय अपनाउन सके पेशी स्थगनको मनोमानी संस्कार अन्त्य गर्न सकिन्छ ।
वकिलको नैतिकता अदालतको न्यायिक जिम्मेवारी र नेपाल बार एसोसिएसनको भूमिकासँग प्रत्यक्ष रूपमा जोडिएको यो समस्या व्यावहारिक रूपमा सुधार्न सकिने विषय हो। यदि अदालत वकिलहरू र नेपाल बारले समन्वय गरेर डिजिटल प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरे भने मनोमानी स्थगितनामा र अदालतमा हुने कानूनी खेल अन्त्य गर्न सकिन्छ ।