प्रत्येक व्यक्तिको आफ्नै व्यक्तित्व र नेतृत्वको क्षमता हुन्छ । सङ्कुचित सोचबाट गुज्रिनेहरूको हेराइ क्षितिजसम्म कहिले पुग्न सक्दैन । किनकि कसैले जति नै परको संसार देखेको छु भनेर दम्भ गरे पनि पनि त्यो भन्दा धेरै पर अझै विशाल संसार छ । जति नै आदर्श र ज्ञानगुनका कुरा गरे पनि जब व्यवहारले पुष्टि गर्न सक्दैन अहिलेको पुस्ताले मात्र होइन पछि आउने पुस्ताले समेत पत्याउने छैनन् मान्दै मान्दैनन् ।
हामीले गर्ने कर्मको भोगाई हाम्रा सन्तानले पछिल्लो पिँढीले समेत व्यहोर्नु पर्छ । त्यसको बोझ सहनु पर्छ । हामीले त्यो भोगेकै कुरा हो । हामीलाई त्यसै त हिमाल पहाडहरूले छेकेको छ जसका कारण हामी धेरै परसम्मको संसार देख्दैनौ । हाम्रो सोच र व्यवहारलाई पर त्यो क्षितिजसम्म लैजान सकेका छैनौँ । त्यो परको संसार हेर्न हामीले धेरै नै उफ्रिनु पर्छ सङ्घर्ष गर्नु पर्छ । त्यसकालागि इमानदारिता अनि स्वाभिमानता चाहिन्छ । दासता र पूर्वाग्रहले दुई पाइला पर जानासाथ कमजोर शिथिल बनाई हाल्छ । हामी कमजोरहरूको चङ्गुलमा छौँ तर कमजोरहरू आफूलाई धेरै शक्ति शाली ठान्छन् यहाँ । सब समयको कमाल हो । तर धेरैले बुझ्दैनन् समय आफैँले अँध्यारो र उज्यालो ल्याउने हो । त्यो परको क्षितिज बाहिर हामी नजाओस् , हामीले त्यो नहेरोस् वा हेर्न नपाओंस भनेर खुट्टा तान्नेहरू हाम्रै वरिपरि हुन्छन् हाम्रै आफ्नाहरू हुन्छन् हाम्रै मित्रहरू हुन्छन् अनि माया देखाउनेहरू हुन्छन् । जोसँग हामी नजिक छौँ भन्ने लाग्छ उसले कहिले नजिक ठानेको हुँदैन उसकै पराईको नोटिसमा हुन्छौ । दह्रो खुट्टा हुनेलाई उतार्ने होइन लुलो हुनेलाई उफ्रन लगाउँछन् यहाँ । यहाँ लुलोलाई जबरजस्त उफार्न लाउनेहरूको पकड छ । लुलोलाई काँधमा राखेर उफ्रनेहरू धेरै छन् । धेरैलाई लाग्ला यी मेरा मात्र कुरा हुन्, तर होइनन् । एकपल्ट आफैलाई निहालेर हेरे हुन्छ के कोही यी कुराबाट अछुतो रहेको छ । कसैको प्रगतिमा रात भर निदाउन नसक्नेहरू बिहानै बधाई दिन आइपुग्छन् । बधाई दिनेहरूको जमातमा हामी आफ्नो अस्तित्वका लागि हर दिन लडेका हुन्छौ ।
दिल चाहता हे
सन् २००० मा उस बेला पुनामा पढ्दा गोवा गइयो । गोवा जाँदा गोवामा एउटा सिनेमाको सुटिङको व्यापक चर्चा थ्यो दिल चाहता हे । अमिर खानलाई धेरै परबाट हेरियो । समुन्द्रको छेउमा बालुवा माथि सुटिङ चलेको थियो । के सिन थ्यो त उस बखत थाहा भएन। कहिले फिल्म रिलिज होला र हेरुँला भन्ने हुट हुटीले सायद पहिलो एक दुई दिन मै पुनाको सिनेमा हलमा हेर्न गइयो । मलाई आफैँले परबाट हेरेको एउटा शूटिंगको सिन हेर्नु थियो । आज त्यो सिन र त्यसमा बोलिएको संवादको याद आयो । सैफ अलि खानलाई साह्रै मन पराउने एक अभिनेत्रीलाई खानले वास्ता नगरेपछि निराश भई बसेको बेला अमिर खान पुग्छन् अनि उनलाई सम्झाउँदै हातमा एक मुठी बालुवा लिई भन्छन् की तिमी बालुवालाई जति धेरै जोडले समाउन खोज्छौँ नियन्त्रण गर्ने कोसिस गर्छौ त्यति नै बालुवा तिम्रो हातबाट फुस्किन्छ, बाहिरिन्छ अनि स्वतन्त्र हुन्छ । अमिर खानको त्यो वाक्यले मलाई त्यही बेला नै मज्जाले छोई सकेको थियो । आज सार्थक लाग्यो । मैले प्रस्ट बुझेको कुरा के रह्यो भने हाम्रो इमानदारिता, निष्ठा, आत्मविश्वास अनि व्यावसायिकता, नेतृत्व क्षमता र स्वतन्त्रतामा जसले अङ्कुश लगाउन खोज्छ, कब्जा गर्न खोज्छ या बन्धक बनाउन खोज्छ त्यति नै सहजताले त्यो घेराबाट निस्किन सक्छौँ । आज म जस्ता तमाम कानुन व्यवसायीले बुझ्नु पर्ने कुरा के हो भने कसैको प्रगति, व्यक्तित्व र नेतृत्वलाई रोक्न खोज्नु भनेको झन् उसलाई बलियो र स्वाभिमान अनि सङ्घर्षशील बनाउने ठाउँ दिनु हो । रोक्न खोज्नेहरूलाई सहजै रोक्न सकियो तगारो हालियो भन्ने लाग्ला तर त्यो मिथ्या हो त्यो भ्रम हो । रोक्न खोज्दा निस्किने ठाउँ भेटेन भने की उ विस्फोट हुन्छ कि छिद्राहरुबाट निस्किन्छ, फुस्किन्छ अनि अगाडि बढ्छ निरन्तर अविचलित ।
स्वाभिमानको बन्दी कानुन व्यवसायी हुनै सक्दैन ।
कानुन व्यवसाय आफैमा स्वतन्त्र व्यवसाय हो । कानुन व्यवसायी इमानदार अनि निर्भीक हुन्छन् । नम्र अनि छलकपट विहीन हुन्छन् । निडर, निस्वार्थ अनि दूरदर्शी हुन्छन् । इमान धर्म र न्यायका पहरेदार हुन्छन् । अनि सक्षमता र ज्ञानका भण्डार हुन्छन्। दासताका विरुद्ध लडेका अनि स्वतन्त्रताका लागि आहुति दिएका बलिदानी स्वभावका हुन्छन् अनि व्यक्तिगत स्वार्थ, चाकडी र कृपाबाट टाढा रहेका व्यावसायिकता माथि कुनै पनि सम्झौता नगर्ने स्वाभिमानका घोतक अनि पथ प्रदर्शक हुन्छन् भन्ने पढियो। यति पढियो सुनियो की पढ्दा पढ्दा सुन्दा सुन्दा अन्धो जस्तै भइयो धरातलबाट धेरै टाढा गइयो । तर पनि हामी एउटा मान्यताबाट अडिग छौँ कि स्वाभिमानको बन्दी कानुन व्यवसायी हुनै सक्दैन । तर विडम्बना यहाँ….
कानुन व्यवसायी सामान्य हुनै सक्दैन ।
अघिल्लो महिना ल एसियाले आयोजना गरेको अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा नेपाल आएका अन्य देशका बारका नेतृत्वहरूसँग धेरै कुरा गरियो । कसरी उनीहरूको बारमा नेतृत्व तय गर्छन् भनेर सोधियो अनि सुनियो । हाम्रो भन्दा नितान्त फरक अनि धेरै दूरदर्शी । उनीहरू नेतृत्व चयनमा निकै गम्भीर र सचेत हुने रहेछन् । नेतृत्वमा आउन चाहनेले धेरै व्यावसायिकताको मापदण्ड पार गर्नु पर्ने रहेछ । उनीहरूको परीक्षण धेरै ठाउँबाट गरिने रहेछ । न चिनजान, न नाता, न चाकडी , न कृपा न केही प्रतिफलको आस। उनीहरूको स्पष्ट बुझाइ के रहेछ भने जब दल विशेषको प्रभाव बारमा पर्दछ न बार स्वतन्त्र हुन्छ न व्यवसाय । कोही कोही करिस्म्याटिक होलान् तर धेरै हुनै सक्दैनन् । त्यो देखिएको छ । तसर्थ कानुन व्यवसायीको नेतृत्व छनौट गर्नु सामान्य कुरा हुनै सक्दैन । कानुन व्यवसायलाई दिगो, अटल, स्वतन्त्र अनि निष्ठा चाहनेले आफ्नो स्वार्थबाट धेरै पर जान्छन् अनि हाम्रालाई होइन राम्रालाई लिन्छन । हाम्रालाई लिनेहरूले केबल पश्चात्ताप गर्ने हो जुन न फर्किन सक्छ न सुधार्न सकिन्छ । लोकतन्त्रमा दलको प्रभाव सामान्य हो असामान्य त त्यो प्रभावबाट सङ्गठनलाई पर राख्नु हो। असामान्य कुरा सामान्य व्यक्तिबाट सम्भव हुँदै हुँदैन । सामान्य व्यक्ति सच्चा कानुन व्यवसायी हुन सक्दैन । त्यसै नभई सेक्सपियरको खल पात्र ले डिकले हेनरी छैटौँमा भनेका हुन वकिललाई मारिदिऊ। किनकि वकिल सामान्य हुँदै होइन ।
अब बार माथिको खेलबाडको समीक्षा हुनु पर्दछ ।
हामीले बार माथि धेरै खेलबाडहरू गर्यो अनि सधैँ गरिरहने हर्कत गर्ने छौ । हाम्रा हर्कतहरुले आउने पुस्तालाई गम्भीर नोक्सानी हुने छ । हाम्रै घर बाहिरका मात्र होइन घर भित्रैका भाइ भतिज छोरा छोरी भान्जा भान्जी अनि आफन्त माथि गम्भीर दाग छोडेका छौ । हुन त ती सबैले कुनै न कुनै फाइदा त लेलान् तर अधिकांश त्यसबाट पनि वञ्चित हुने छन् अनि एक दिन सोध्ने छन् बुबा आमा तपाईँले हाम्रो व्यवसाय र बार माथि किन खेलबाड गर्नु भयो ? किन चुक्नु भयो केका लागि गर्नु भयो अनि कसलाई गर्नु भयो ?
हाम्रो नियोजित कार्यको ऋणको भार आउने पुस्तामा ।
सानै देखि पढेको हो बाबुको ऋण छोरा छोरीले तिर्नु पर्छ । अबको ऋण आउने पुस्ताले तिर्नु पर्छ । बिगार्नलाई एक रात काफी रैछ सुधार्न दशकौँ लाग्ने छ । चाहे त्यो व्यवसायमा होस्, बारमा होस या न्यायपालिकामा। स्वार्थ जता सुकै छ । जो स्वतन्त्रता को कुरा गर्छ त्यो नै दास र गुलाम देखिन्छ । धेरै ठुला कुरा सुनियो तर ठुला कुरा गर्नेहरू साना चित्तका हुने रैछन भन्ने देखिन्छ । बार उपहार दिने व्यवहारबाट पर बस्नु पर्दछ नत्र व्यावसायिकता, स्वतन्त्रता र सक्षमताका आधारहरू ढल्दै जानेछन् । अनि हामी कालो कोट लगाएर बाहिर निस्किदा बारको लोगोलाई लुकाउन पर्ने दिन आउने छ ।
आज अन्तर्राष्ट्रिय महिला दिवस । महिलाको सशक्तीकरण र महिलाको अधिकारमा हामी धेरै ठुलो कुरा गर्छौ तर व्यवहारमा त्यो देखिँदैन । महिलाको निस्वार्थ मातृत्व, माया, ममता र सङ्घर्षले हामीले जीवन जिउन पाएका छौँ । ती निस्वार्थ आमाले जन्माएका सन्तानहरूको स्वार्थले थोरैलाई अनपेक्षित मौका दियो होला तर सारा कानुन व्यवसायीको आत्म समानमा ठेस लागेको छ । ती स्वार्थी, अभिमानी र आफ्नो स्वतन्त्रता र व्यावसायिकताको सौदा गर्नेहरूलाई महिला दिवसले एक पटक ऐना हेर्न उत्प्रेरित गरोस् अनि त्यो आडम्बर र कलुषित भावनालाई आजकै दिनले सदा का लागि समाप्त गरिदियोस् । बस त्यही छ शुभकामना !