कानूनी शिक्षा माथि बढ्दो लापरबाही, खतरामा कानुन व्यवसायीको मानसिक स्वास्थ्य

आजकल खासै लेख्न मन लाग्दैन तर के गरूँ शनिवार उठ्नासाथ सुभ चिन्तकहरूको आज तपाईँको डायरीले के कुरा लेख्दै छ भन्ने मेसेजले उत्प्रेरित गरी हाल्छु । जे लेख्छु बिहान आउने सोचले मनका कुरा पोख्न मन लाग्छ । बिहानै धेरै समय पछि डुल्दै थिए नजिकैको कलेजमा कानुनको अध्यापन गरिँदो रहेछ । केही नलेखी मन नै मानेन । लाग्यो कानुन शिक्षाको बढ्दो व्यापारीकरण र यसको प्रभावका बारेमा आफूलाई लागेका अनि भोगेका केही लेखौँ । मेरो यो डायरी कसैलाई हतोत्साहित गर्न भन्दा नि आफ्नो व्यवसायीक यात्रालाई  कसरी उच्च मनोबलका साथ अगाडी बढ्नु पर्छ भन्ने हो । लेखिएका कुरा मेरा नितान्त व्यक्तिगत बुझाई  हुन् सत्य नहोस्  ।

कुनै बेला थ्यो कानुनको अध्ययनलाई प्राथमिकतामा राखिन्थेन । अन्यत्र भर्ना नपाएमा, राजनीति गर्नु परेमा, पारिवारिक व्यवसायको निरन्तरताका खातिर, कानुन व्यवसायी नै बन्छु भन्ने सोचले  या अरू कारणले कानुन पढ्नेको सङ्ख्या धेरै हुन्थ्यो । घरमा अलि टाठो बाठो, धेरै बोल्ने, अलि फटाहा खाले कोही देख्यो कि कानुन पढ्ने सल्लाह दिनेको सङ्ख्या नि परिवारमा समाजमा कम हुन्थ्यो र । अझ एउटा मात्र सरकारी क्याम्पस त्यो नि नेपाल ल क्याम्पस, पढाउन सस्तो, जसरी पनि पेट पाल्छ भनेर काठमाडौँ पढ्न पठाउने परिवार पनि कम थिएन । कानुन नै पढ्छु वकिल नै हुन्छु भनेर पढ्नेहरूको सङ्घर्ष र सफलताका आफ्नै गाथाहरू छन् । धेरैले कानुन पढे पनि सानो बजार भएकोले थोरै मात्रामा व्यवसायमा आउनेले धेरै राम्रो गरेको हामीले देख्न पाइन्छ । २०४७ सालको प्रजातन्त्र पछि कानुन अध्ययनको शिक्षण संस्था अलि बढी खुले काठमाडौँ बाहिर पनि । व्यवसायका नयाँ आयामहरू पनि विस्तारित हुँदै गए पछि कानुन अध्ययनमा अलि बढी नै रुचि राख्नेहरू आउन थाले । हुँदा हुँदा त केही वर्ष अगाडि अब कानुनको अध्ययन गर्न सजिलो छैन भन्ने भयेपछि ल क्याम्पसमा मात्र ११ हजार भन्दा बढीको भर्ना भएको घटनाले हर कोहीलाई कानुन अध्ययनमा धेरै सम्भावना रहेछ भन्ने भान भयो । फलस्वरूप आज सम्म आउँदा कति कानुन अध्ययन गराउने संस्था छन् भन्ने नि हामीलाई थाहा छैन । कति कानुनका विद्यार्थी नेपालमा अध्ययन गर्दै छन् भन्ने थाहा पाउन धेरै समय लाग्ला । मेरो घर छेउमा कानुनको अध्ययन गराउने कलेज रहेछ जुन मैले २ वर्ष पछि मात्र पत्तो पाए । आजकाल फेसबुक टिकटक भरी कानुन पढ्ने विद्यार्थीको ताना तान गरेको देखिन्छ । तर कानुन अध्ययन पश्चात् उनीहरूको भविष्य के हुने भन्ने बारेमा बारमा कानुन व्यवसायी परिषद्मा कमै छलफल होला । यही पाराले जाने हो भने अबको १०/१५ वर्षमा सबै भन्दा बढी मानसिक रोगी हुने व्यवसाय कानुन व्यवसाय हुनेमा म त निश्चित छु ।

प्राविधिक कारणले छैंठौ बार काउन्सिलको परीक्षाको अन्तर्वार्ता छुटेकोले फेरि बार काउन्सिलको परीक्षा दिन मलाई ३ वर्ष कुर्नु पर्‍यो नवौँ परीक्षासम्म । त्यसैले अधिवक्ताको रूपमा दारिनु अघि नै कानुनको प्राध्यापन सुरु गर्‍या म यो वर्ष कानुन प्राध्यापनको २४ वर्ष पुग्दै छ । यतिका वर्षसम्म आइपुग्दा हजारौँ कानुनका विद्यार्थीहरूलाई प्राध्यापन गराइयो अनि अहिले हरेक दिन कानुन व्यवसायका नव प्रवेशिहरुसँग कुरा गरिन्छ । उनीहरूको विविध समस्या र सङ्घर्षका घटनाहरू सुनिन्छ । कति सपना बोकेर कानुनको अध्ययन गरेका हुन्छन् अनि जब पेसामा आउँछन् धेरैका अनुहारमा खुसी देखिन्न । कतिपय त पछुताएको भेटिन्छ । हामीले यसका कारणलाई अहिले नै बुझ्न र समाधान अनि मार्ग दर्शन दिन सकिएन भने एउटा डरलाग्दो स्थिति टाढा हुने छैन ।

बेग्रल्ती कानुन प्राध्यापन गर्ने संस्था अनि झुट्टा व्यवसायीका आश्वासन

विगत केही वर्षमा अनियन्त्रित रूपमा खुलेका कानुन अध्यापन गराउने संस्थाहरूले भविष्यमा डरलाग्दो असर पार्नेमा शङ्का छैन । सम्बन्धन दिनेहरूलाई त झन् कानुनमा के भविष्य छ भन्ने नै थाहा छ जस्तो लाग्दैन ।  खास गरी कानुन पेसा नगरेका तर कानुनको बजारले राम्रो प्रतिफल दिन्छ भन्ने भ्रममा परेकाहरूले राम्रै व्यवसाय गरेको देखिन्छ । अहिलेको आधुनिक र प्रविधिले विकास गरेको समाजमा प्रत्येक विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय अवसर खोजेको हुन्छ भने अभिभावकले उनीहरूको उज्ज्वल भविष्यका लागि जति सुकै अनि जस्तो सुकै परिवेशमा लगानी गर्न हच्किचाहेको देखिँदैन । धेरै अभिभावकलाई त कानुनी अध्ययन पश्चात् व्यावसायिक प्रमाण पत्र प्राप्त गर्नसाथ टन्न कमाउने वकिल बन्छ भन्ने बुझाइले पनि कानून अध्ययनमा खटाएको समेत देखिन्छ । थोरै मात्रले समाज परिवर्तन गर्ने संवाहक र न्यायका अभियन्ता हुन्छु भनेर पढ्ने भेटिन्छन् । तर परिस्थिति फरक छ । पक्का पनि कानुनी व्यवसायबाट थोरैले कमाएको प्रतिष्ठा र आयले धेरैलाई  उत्साहित गराएको होला तर वास्तविकता अर्कै छ । कानुन अध्यायनलाई  कम्तीमा एउटा कानुनको विद्यार्थीले एसइई गरिसकेपछि ७ वर्ष खर्चिनु पर्छ । त्यो पनि परीक्षा र परिणाम समयमै आयो भने ।

सबै विषय र अवसरले सिमाना काटेको सन्दर्भमा कानुन व्यवसायले त्यो पार गर्न सकेको छैन । हामीले हाम्रो व्यवसायीका सम्भावनालाई  बाहिरसम्म पुर्‍याउन सकेका छैन ।  नेपाल बार काउन्सिलबाट अधिवक्ता ठहरिएको व्यवसायीको सिमाना नेपाल भन्दा बाहिर लैजान सकेका छैनौ । क्षमता हुँदा हुँदै पनि त्यसलाई विस्तार गर्न सक्ने सम्भावना र सोच हाम्रोमा विकास भएको छैन  । आफनै छोरा छोरीको भविष्यलाई  आफ्नै स्वार्थले बन्धक बनाउनेको सङ्ख्या पनि कमी छैन यहाँ । थोरै बुझेकाले मात्र त्यो अवसरलाई तान्न सकेका छन्  । सानो देश, सानो अर्थतन्त्र, सानो व्यापार व्यवसाय, सानो उद्योग अनि सानै सोचले हाम्रो नेतृत्व अनि कानुन व्यवसाय जकडिएको छ । एकाध अब्बल विद्यार्थी बाहेक बाँकीको लागि विदेश अध्ययन सपना जस्तो देखिन्छ  । हामीले प्रत्येक वर्ष १ हजार भन्दा बढी नव प्रवेशी कानुन व्यवसायीलाई  व्यवसायमा स्वागत गर्ने गर्छौ । तर केही मात्र व्यवसायमा टिकेका छन्  । बाँकी  कहाँ छन् ? एकाध फर्महरूले केही कानुन व्यवसायी लिएका हुन्छन् बाँकी अधिवक्ताको प्रमाण पत्र लिएर निराश बसेका धेरै भेटिन्छन्  ।

संसार भर हेर्ने हो भने कानुन पढ्ने धेरै जसो विद्यार्थी अलि सम्पन्न परिवारका हुन्छन् कि अध्ययनमा अब्बल ।  कारण विश्वका प्रतिष्ठित विश्व विद्यालयमा हजारौँ आवेदन दिनेहरूमा सयौँ मात्र छनौट हुन्छन् कि बौद्धिक क्षमताले कि आर्थिक सहयोग गर्न सक्ने हैसियतले । हाम्रा विद्यार्थीले पाउने अवसर कि त आरक्षण कि त उच्चतम बौद्धिकता । यही हेर्ने हो भने पनि नेपाल बाहिर भारत लगायत अन्य अमेरिकी युरोपेली देशहरूमा पढ्नेहरू सम्पन्न परिवार कै छन् । मैले सम्पन्न परिवारकाले मात्र विदेश अध्ययन गर्छन् भन्न खोजेको चाहिँ होइन किनकि म मोफसलमा कानुन व्यवसाय गर्ने सामान्य कानुन व्यवसायीको सन्तानले पनि देश बाहिर अध्ययन गरेको हुँ ।  हामीले पढाएका कानुनका बिद्यार्थीहरुले समेत संसार भर उत्कृष्टता प्रदर्शन गरिसकेका छन् कि त पढाइमा, कि त काममा कि त मुट कोर्ट मार्फत । तर एउटा कुरा पक्का के हो भने कानुनमा आफ्नो भविष्य बनाउने हो भने केही वर्षसम्म परिवारले पूर्ण आर्थिक, मानसिक अनि अध्यापनमा पूर्ण सहयोग गर्न सक्नु पर्छ । पढाइको प्रतिफल खोज्ने परिवारले गर्ने भनेको केवल मानसिक दबाब दिनु हो ।

भारतका पूर्व प्रधान न्यायाधीश डी वाई चंद्रचूड़को एउटा अन्तर्वार्ता हेरेको थिए, उनी कानुनको अध्ययन गर्दाको बखत जति बेला उनका बुबा न्यायमूर्ति थिए । बुबाका साथीले सोधेछन् तिमि के पढ्दै छौ ? चंद्रचूड़ले भने,  “म कानुन पढ्दै छु” उनको जवाफ थियो कानुन त पढ्दै रहेछौ ठिक छ तर सँग सँगै पेट्रोल पम्प पनि खोल्नु,  यो जवाफ अहिले पनि निकै सान्दर्भिक छ । न्यायमूर्तिको छोरा हुँदा हुँदै पनि कानुन व्यवसायमा पालिनु सहज छैन त्यसैले आम्दानीको अर्को बाटो पनि सोची राख्नु पर्छ भन्ने सन्देश अहिलेको हकमा पनि सार्थक देखिन्छ । किनकि मैले देखेका केही कानुन व्यवसायीहरू जीविकोपार्जनका लागि वैकल्पिक आम्दानीको स्रोत समेत जोहो गरेको देखिन्छन् ।

अहिले कानुनी संस्थाले व्यवसयीकता सिकाएको खासै देखिँदैन

म पनि कानुन प्राध्यापन गर्छु तर के कुरामा म कन्भिन्स छु भने कानुनी शिक्षा दिने संस्थाले कानुनको व्यवहारिक पक्ष नसिकाइ सिद्धान्तको भारी बोकाएर व्यवसायमा पठाउँछ । अझ अनियन्त्रित रूपमा कानुनी शिक्षामा व्यापार गर्न खुलेका नयाँ संस्थाले के सिकाएर पठाउने हो मनन योग्य छ । जति नै राम्रो विद्यार्थी भए पनि जब ल फर्ममा जान सुरु गर्छन् उनीहरू आफैमा हराएको देखिन्छन् । सामान्य व्यवसायीकाका कुराहरू पनि बुझेका देखिदैनन । पढाइमा अब्बल देखिएकाहरू ल फर्म भित्रै हराएका भेटिन्छन् । जसरी उनीहरूले सिनेमामा देखिएको अदालतको वास्तविकता साँच्चिकै अदालतमा गएर देख्छन् । व्यवसायमा पनि त्यति नै फरक भेटाउँछन् । यहाँसम्म आउँदा मैले काठमान्डु उपत्यका र उपत्यका बाहिरका धेरै कानुनका विद्यार्थी हरुलाइ अवसर खोजिदिएको छु । उनीहरूका लागि सिफारिस पत्र लेखिसकेको छु । चाहे छात्रवृत्ति होस् या अध्ययन र विदेशी ल फर्ममा कमका लागि होस् । अनि उनीहरूसँग काम गरिसकेको छु । अनि सिकाएको पनि छु । कोही र केही फरक छैन उनीहरूमा । मैले देखेका धेरै नव प्रवेशीहरु व्यवसायमा छिरेको २/३ वर्षमा त झन् उनीहरू हतोत्साहित देखिन्छन् । ल कलेजले कलेज पश्चातको जीवनको बारेमा भन्दैन । भन्छ त केवल अस्टिन, रस्को पाउण्ड, केल्सन, बेन्थम अनि मार्क्स अनि उनीहरुका सिद्धान्त । व्यवसयीकताका कुरा मुस्किलले सिकाउँछ त्यो पनि व्यवसाय बुझेकोले सिद्धान्त बुझेकोले होइन ।

अझ आजकल त नयाँ ल कलेज हेर्ने हो भने न सिद्धान्तको पारङ्गत न व्यवसायको पारङ्गतका चङ्गुलमा विद्याथीहरु फसेका छन् जस्तो लाग्छ । प्रविधिले संसार अर्को फड्को मरिसक्यो, नेपालीमा लेखेको फैसलालाई कम्प्युटरको सिस्टममा हालिदियो भने १ मिनेट मै अङ्ग्रेजीमा निकाली दिन्छ पूर्ण पाठ, बौद्धिक बुद्दिमताले फैसला गर्ने दिन आउन धेरै छैन । प्रविधिले ल फर्मको कल्चर परिवर्तन गर्दै छ । अब धेरै कानुनकर्मीलाई अफिसमा आउन पर्दैन । घरबाटै काम हुन्छ । वकिल बनेर फाइल बोकेर अदालतमा खतरा बहस गर्छु भन्नेहरूले काम सुरु गरेको धेरै समयसम्म त्यो अवसर नै पाउँदैनन । संसारभर कानुन व्यवसायीको पेसा धरापमा पर्दै छ । अनि सानो देशका व्यापक कानुनकर्मीलाई कसरी भविष्य सुनिश्चित गर्ने,  त्यसको योजना न बारमा छ न कानुन व्यवसायी परिषद्मा । अझ अहिले आएर त हाम्रो परिषद्  थोरै अधिबक्ता बनाउन खोजे जस्तो देखिन्छ, धेरैलाई पढाएर थोरैलाई प्रमाण पत्र दिने नियति सही छैन । थोरैलाई दिने हो भने अनियन्त्रित र सहज कानुनी र शिक्षाको ब्यापारीकरणलाई  नियन्त्रण गर्नु जरुरी छ । आसलाग्दो व्यवसायीक लोभ देखाएर, फकाएर, झुक्याएर, ठेलेर, कानुनी शिक्षामा ल्याउनु व्यवसायीका अपराध हो । यसको अध्ययन हुनु जरुरी छ । समयमै सचेत हुन् आवश्यक छ ।

कानुन व्यवसायीमा बढ्दो मानसिक रोग 

कानुनको अध्ययन गर्ने जो कोही सुरुवातीका दिनमा एकदम उत्साहित देखिन्छन् । तर जब बुझ्दै जान्छन् धेरै हतोत्साही  भेटिन्छन् । आफ्ना नजिकका वा कसैले भनसुन गर्दिने भएनन् भने उनीहरूको पिडा इन्टर्नसिपको अवसरबाट सुरु हुन्छ । अध्ययनको क्रममा सहपाठी, शिक्षक अनि शिक्षण संस्थाबाट दुर्व्यवाहारमा  परिसकेका घटनाहरू आजकल सुनिन थालेका छन् भने ल फर्म भित्रै युवा कानुन व्यवसायीले भोग्ने गरेको दुर्व्यवहारका घटनाका धेरै रिपोर्टहरू सार्वजनिक भई सकेका छन् । आइ बि ए ले २०१७ मा निकालेको प्रतिवेदन “Us Too “ “हामी पनि “ ले समेत कानुन व्यवसायीहरू ल फर्म भित्रै यौन दुर्व्यवहारमा परेका र मानसिक रोगी समेत हुने गरेका कुराहरू देखिसकेको  छ । नयाँ अध्ययनले के देखाउँछ भने मानसिक रोग र डिप्रेसनमा कानुन व्यवसायीहरूको सङ्ख्या बढ्दो छ । अहिलेले कानुन व्यवसायी धेरै समय काम गर्नाले, लामो अध्ययन र अनुसन्धान, लिखत मस्यौदा, पक्षसँगको बारम्बार सम्पर्क अनि संवाद अनि एकै पटकमा फरक प्रकृतिका  कामहरू अनि आफूलाई नयाँ कानुन र नीतिहरूको परिवर्तनसँगै दुरुस्त रोक्नु पर्ने दायित्व र व्यवसायीका प्रतिस्पर्धाको बोझले कानुन व्यवसायीहरू मानसिक दबाब र रोगबाट गुज्रेको देखिन्छ ।

कानुन व्यवसायमा मानसिक रोग, डिप्रेसन र एंग्जाइटीले संसार भर कानुनकर्मीहरू गुज्रेको देखिन्छ । यसको प्रभावले व्यक्तिगत मात्रै होइन व्यक्तिगत सम्बन्ध, पक्षसँगको सम्बन्ध, ल फर्म भित्रको सम्बन्ध र नेतृत्वको खुबीमा गम्भीर समस्या परेको भेटिन्छ । कानुन व्यवसायी सक्षम र सर्व गुणले परिपूर्ण हुनु पर्ने, व्यक्तित्व, प्रभावकारिता र प्रचुर कामले राम्रो आम्दानी र निपुर्ण हुनु पर्ने भन्ने मान्यताले पनि धेरै असर गरेको देखिन्छ । रिउटर्सले दुई वर्ष अगाडी निकालेको अनुसन्धानमूलक समाचारमा ६६ प्रतिशत कानुन व्यवसायीले कानुन व्यवसायको कारण मानसिक रोगी भएको अनि ४६ प्रतिशतले पेसा छोडेर अन्य काम गर्ने इच्छा गरेको देखियो । अमेरिकाको क्यालिफोर्निया मा २ हजार जना कानुन व्यवसायीबीच भएको सर्भे हेर्दा डर लाग्दो स्थिति देखियो । उक्त सर्भे अनुसार कानुन व्यवसायीले आफैलाई हानि गर्ने सोच आउने ३०/ ४० उमेरका धेरैले आत्महत्या को सोच आउने अनि स्वास्थ्यको असन्तुलन जस्ता समस्याहरूको प्रभावमा परेको भेट्यो । हाम्रो मा त यस्तो सर्वेक्षण अहिलेसम्म भएको छैन । तर सम्पर्कमा हुने धेरैले यो पेसामा किन आइएछ भन्ने सोचले गुज्रेको देखिन्छ । थोरै अनि पहुँच हुने केहिलाई भने व्यवसायीका सन्तुष्टि र प्रगतिका आधारहरू पनि बन्दै गएको छ ।

मैले माथि नै भनिसके, यदि कानुन व्यवसाय फस्टाउने विविध आधारहरू राज्यले बनाएन, बार एसोसिएसनले पाइला चालेन र कानुन व्यवसायी परिषद्ले व्यवसायीका अभिवृद्धि र तालिमहरू सञ्चालन गरेन भने कानुन व्यवसाय  सीमित व्यक्तिको प्रभाव भित्र बन्धक हुने छ । बाँकीको  भविष्य अनिश्चित अनि असुरक्षित । यहाँ कानुन अध्यापनलाई लाभांश बढ्ने उद्योग बनाउनेहरू बजारमा धेरै आइसकेका छन् । हामीले अहिले नै कानुनी पेसामा सुन्दर भविष्य छ भनेर कानुनी अध्ययनमा आउनेहरूलाई गुम राहमा पार्ने हो भने यसको मूल्य हामीले राम्रै सँग चुकाउनु पर्छ किन कि मैले बुझेसम्म र भोगे सम्म नेपालमा कानुन व्यवसायको भविष्य जुन हिसाबले व्यापारीकरण गरिएको छ त्यो वास्तविकता भन्दा टाढा छ । यहाँ अवसरहरू थोरै छन् अनि प्रतिस्पर्धा धेरै यहाँ २/ ४ वर्षलाई पुग्ने अवसरहरू वार्ड कार्यालय, कम्पनी रजिस्ट्रार, मालपोत, उद्योग विभागबाट सुरु होलान् तर त्यसमाथि पुग्न आफूलाई लैजान धेरै गाह्रो छ । कानुनको अध्ययन गर्नु गराउनु अगाडी एक पटक आफैले र परिवारले सोच्नु पर्नेछ अनि सल्लाह दिनेले राम्रो र सही सल्लाह दिनु पर्ने छ । बस अहिलेको स्थिति हेर्दा मलाई अबको १०/१५ वर्षमा अहिलेको स्थिति नै रहने हो भने धेरै कानुन व्यवसायी मानसिक रोगले ग्रसित हुने पक्का छ । प्रार्थना यस्तो अवस्था नआओस् । कानुन पढ्ने सबको भविष्य उज्ज्वल बनोस् । बस यही छ शुभकामना !

1 COMMENT

  1. Bitter in reading but is reality of today’s young lawyers too we don’t need to wait for 10/15 years in ground of court we can see every new face in each passing days lying down and leaving the way of justice… speechless…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज