निर्णयतर्फ कहिलेसम्म विचार गर्ने, श्रीमान्?

पृष्ठभूमि 
पक्का पनि शीर्षकले पाठकलाई द्विविधा बनाउन सक्छ । न्यायमूर्तिले निर्णय तर्फ विचार नगरे के गर्ने त ? मेरो मनसाय न्यायमूर्तिलाई कानुनले नै विचार गरेर निर्णय गर्न दिएको अख्तियारीको सहुलियतलाई सङ्कुचन गर्ने मनसाय नभई सङ्कुचित रूपमा न्यायमूर्तिले निर्णय फैसला गर्दा गरिने विचारलाई गम्भीर, तार्किक अनि विश्वासिलो आधारमा गरियोस् ताकि फैसलाले त्यसको निष्पक्षता र न्यायपालिकाको स्वतन्त्रता माथि प्रश्न उठाउने ठाउँ नरहोस् भन्ने हो । किनकि हामी अदालतका फैसलाहरूलाई विश्लेषण गर्छौ चाहे त्यो प्राध्यापनका बेला होस, कानुन व्यवसायीको प्रशिक्षण या अध्ययन र बहसको सन्दर्भ । फैसला हेरेर जसरी अहिले चलखेलको गन्ध महसुस गरिन्छ त्यो नहोस् । हाम्रा न्यायमूर्ति निर्णयका विचारले कानुन विकास र व्याख्यामा सहयोग गरोस् भन्ने हो । किनकि फैसला हेरेर न्याय पालिकाको स्वतन्त्रता र न्याय मूर्तिको काविलियत जाँच्ने संयन्त्र र प्रविधिमा हामी धेरै अगाडि आई पुगेका छौँ । फैसला कति प्रतिभाशाली हुन्छन् भन्ने कुरा त भर्खर भारतमा न्याय मूर्तिको घरमा करोडौं रुपैयाँ जल्दा खेरी पनि स्वयं अदालत र धेरै कानुन व्यवसायी न्याय मूर्तिको पक्षमा अडिएको देखिन्छ । यसले पनि के देखाउँछ भने न्यायमूर्तिको काविलियतको मापन फैसला हो । जसमा न्यायमूर्तिले राखेको विचार माथि प्रश्न उठाउने खाले हुनु हुँदैन ।
मेरो बाल्यकालको बुझाइ 
मैले अघिल्ला पोस्टहरुमा लेखिसकें कि कानुन र न्यायसँग म कसरी नजानिँदो हिसाबले सानै देखि सम्बन्धमा बाँधिएको थिएँ । एकताका खास गरी एसएलसी दिएपछि मेरो दैनिकी नै हुने गर्दथ्यो चितवन जिल्ला अदालत धाउने अनि बुबाको ल फर्म “घिमिरे ल एसोसिएट्स”  कुर्ने । धेरै जसो त बुबाको निर्देशनमा जाने गर्थेँ भने कहिले काहीँ आफैँले जानेर वा मन लागेर जान्थे । किनकि त्यो दिन कुनै चर्चामा रहेको मुद्दाको थुनछेक या अन्तिम फैसलाको सुनुवाइ हुने गर्थ्यो । बहसका दिन हातमा कापी कलम लिएर म प्राय इजलासको एउटा कुनामा दिन भर बसेर बहस सुन्ने गर्थेँ । धेरै कानुन व्यवसायीका बहसहरू । कति बहसहरू त अति पत्यार लाग्दा सुन्दा सुन्दै निदाउने, कति निन्द्रा नै बिउँझाउने अनि ध्यानाकर्षण गर्ने । कानुनका दफा अनि नजिर त के बुझिन्थ्यो र तर पनि तथ्य चाहिँ बुझिन्थ्यो । अनि मन मनै विद्वान कानुन व्यवसायीको बहसहरू सुनी सकेपछि आफले निर्णय तर्फ बिचार गरिन्थ्यो । बेलुका बुबासँग मेरो बिचारलाई भेरीफाई गरिन्थ्यो कति मिल्थ्यो कति मिल्थेन ।
निर्णय तर्फ बिचार गर्ने प्रचलनलाई मैले नि साक्षात्कार गरी सकेको थिएँ उस बेला । साथीभाइ बिच हुने विवादको  गर्न मलाई साथीभाइले बोलाइ हाल्थे । अनि दुबैका कुरा सुन्यो, बिचार गर्‍यो, अनि ठोक्यो । मेरो निर्णय तर्फको बिचारले न्याय परेको होस् या नपरोस् त्यसको जवाफदेही कहिले हुनु परेन लिन परेन ।
निर्णय तर्फ बिचार गर्ने वाक्यांश मैले दिमागमा राखेको नेपाल कानुन पत्रिकाबाट हो । चाहे पढेर होस् या फैसलाहरू सारेर प्रायजसो फैसलाको अन्तिम अनुच्छेदमा लेखिने कुरा निर्णय तर्फ बिचार गर्ने हुन्थ्यो जुन अहिले पनि प्रचलनमा रहेको छ । आज सम्म आइपुग्दा पनि हाम्रो फैसलाले नछोडेको एउटा महत्त्वपूर्ण वाक्य भनेको निर्णय तर्फ बिचार गर्दा अब यो बिचारले कतिलाई न्याय पर्‍यो, कति निर्दोष व्यक्तिको स्वतन्त्रता हरण भए, कतिका घरबार उडे, कतिको हरि बिजोग भयो न बिचार गर्नेलाई थाहा होला न अरूलाई ।
निर्णय तर्फ कहिले सम्म बिचार गर्ने श्रीमान् ?
न्याय परिषद्को सिफारिसमा नियुक्त ८० जना उच्च अदालतका माननीय न्यायमूर्तिको लागि राष्ट्रिय न्यायिक प्रतिष्ठाको आयोजनामा सञ्चालित तालिम कार्यक्रममा मलाई एउटा प्रशिक्षण सत्रका लागि निम्ता गरियो । मैले प्रस्तुति दिनुपर्ने विषय भनेको युवा कानुन व्यवसायीको नजरमा न्यायमूर्ति कस्तो हुनु पर्ने ? भर्खर नियुक्त न्यायमूर्तिहरूसँग छलफल गर्नु पर्ने विषय मज्जाको थियो । मलाई कस्तो न्यायमूर्ति चाहियो ताकी म गर्वले भन्न सकूँ कि हाम्रो देशमा पनि न्यायमुर्तिहरु सक्षम अनि बिधिशास्त्र र न्यायका पारङ्गत छन् भनेर । अनि हाम्रो अदालत स्वतन्त्र, सक्षम अनि निष्पक्ष छ भनेर । मेरो प्रस्तुतिको शीर्षक थियो निर्णय तर्फ कहिले सम्म बिचार गर्ने श्रीमान् ?
हामी कानुन र न्यायको विकासमा धेरै अगाडी आइसकेका छौँ । हिजोको अवस्थामा कानुनी विवाद सृजना भएका नविनतम् विषयमा कानुनको अभाव हुने गर्दथे । कानुनमा मात्रै टेकेर फैसला गर्ने न्याय दिने अवस्था हुन्थेन । किनकि नयाँ किसिमका विवादहरूको समाधान गर्ने कानुनको अभावमा न्यायमूर्तिलाई विशेष अख्तियारी दिइएको थियो सम न्याय अन्तर्गत ताकी न्यायमूर्तिले न्याय दिँदा घटनाक्रमको चेनलाई हेरेर, प्रमाणको गम्भीर विश्लेषण गरेर कानुनको सन्दर्भ र मनसाय जोडेर अनि नजिरहरूको प्रयोग गरेर कुन पक्ष दोषी निर्दोषी छ ? त्यसको तार्किक मूल्याङ्कन गरेर निर्णय दिने । यस्तै पृष्ठभूमिमा बेलायतमा चंसरी अदालतले कमन ल कोर्ट भन्दा बढी विश्वास लिएको उहिले पढेको हो । तर अहिले धेरै फैसलाहरूलाई गम्भीर भई अध्ययन गर्ने हो भने निर्णय तर्फ बिचार गर्ने परम्परालाई खास गरी न्याय पार्ने भन्दा नि फैसला गर्ने हतियारको रूपमा मात्र प्रयोग भएको मैले बुझेको पाएको छु ।
मलाई यो निर्णय तर्फ बिचार गर्ने हतियारको प्रयोग कहिले देखि सुरु गरिएको रहेछ भनेर इतिहास फर्केर हेर्न मन लाग्यो । अनि प्र.न्या. हरिप्रसाद प्रधान देखिएका केही फैसलाहरू हेरेँ । खास गरी करिब २०४४/४५ सम्म आइपुग्दा त्यतिबेलाका न्यायमूर्तिले फैसला लेख्दा प्रयोग गर्ने शब्दहरुमा दुवै पक्षको कुरा नमिलेको हुँदा के रहेछ सोको निर्णय दिन पर्ने हुन आयो  आदेश मिलेको छ, छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो । प्रस्तुत विवादलाई कानुनको कसीमा राखेर विश्लेषण गरी न्याय दिनु पर्ने देखियो जस्ता शब्द प्रयोग गरी निष्कर्षमा पुगेको देखिन्छ भने पछिल्लो समयमा अदालतले निर्णय तर्फ विचार गरेर फैसला गर्ने अख्तियारीको ब्यापक प्रयोग गरेको देखिन्छ  ।
आखिर निर्णय तर्फको बिचारको मापक के ? 
न्यायपालिकाका लागि पछिल्लो दशक यसको स्वतन्त्रतालाई जोगाउन नसकेको भन्ने छ । अदालतले गरेका फैसलाहरूमा एकरूपता नहुनु, न्यायमूर्ति स्वतन्त्र नहुनु, अदालतमा भ्रष्टाचार हुनु, असक्षम व्यक्तिहरूलाई न्यायमूर्तिको कुर्ची मिल्नु, कानुन र न्यायमा सामान्य निबन्ध समेत लेख्न नसक्नेहरूलाई न्याय परिषद्ले न्यायाधीश बनाउनु अनि न्यायाधीश आफै न्याय भन्दा नि जागिर खाने ठाउँ हुनु जस्ता आरोप न्यायपालिकाले दैनिक खेपिरहेको आरोपहरू हुन् । अनि केही न्यायमूर्तिका कारण यी आरोपहरूबाट अदालत अबका केही दशक मुक्त हुन् सक्दैन । यदि आजै ती गल्तीहरू नहुनबाट रोकिएनन् भने ।
मैले पढेका केही फैसलाहरूलाई उदाहरणको रूपमा लिने हो भने निर्णय तर्फ विचार नगर्दा सम्म न्याय मूर्तिले धेरै कानुनी साहित्यहरूको व्याख्या गरेको देखे चाहे प्रासङ्गिक हुन् या अप्रासङ्गिक । फैसलामा लेखिएका अन्तरबस्तुहरु पढ्दा सम्म पाठकले एउटा निष्कर्षमा पुगी सकेको हुन्छ तर जब फैसलाको ठहर खण्ड आइपुग्छ निर्णय तर्फको बिचार अन्तै मोडिएको देखिन्छ । अध्ययन र व्यवसायको यो चरण सम्म आइपुग्दा आफ्नो मुद्दासँग सम्बन्धित फैसला बाहेक विदेशी अदालतको फैसला हाम्रो अदालतको फैसला भन्दा धेरै पढियो भन्ने लाग्छ । मैले गर्ने व्यवसायले फिराद, प्रतिउत्तर, निवेदन, लिखित जवाफ, बहस नोट जस्ता कागजात तयार पार्नमा व्यवसायको सबै समय लगाइन्छ । त्यस कारण फैसला लेखन हाम्रो विधामा पर्दैन तर फैसला अध्ययन बिना कानुन व्यवसायीको पेसा चल्न सक्दैन । मैले बुझे सम्म र पढे सम्म न्यायमूर्तिको सब भन्दा ठुलो चुनौती भनेको फैसला लेखन हो । न्यायमूर्तिको फैसला लेखनमा संवैधानिक हक अधिकार जोडिएको हुन्छ अनि न्यायामुर्तीले आफ्नो निर्णय गर्ने बिचारलाई गम्भीर भएर लिन सकेनन् भने सबै अधिकार बन्धक हुन्छन् । फैसला नै न्यायमूर्तिको न्यायिक हैसियतको मापन गर्ने आधार हो र खास गरी कानुन व्यवसायी हुन् वा कानुनविद् अथवा शिक्षक फैसला पढेर न्यायमूर्तिको तहको ठेगान हुन्छ । अहिलेको धेरै  फैसलाको स्तर हेर्ने हो भने न्याय पालिकाले  न्यायमूर्तिहरुलाई फैसला लेखनमा धेरै प्रशिक्षण गर्नु पर्ने देखिन्छ । उत्कृष्ट फैसला लेखनका लागि  न्यायपालिकाले राम्रो लगानी गर्नु पर्छ र न्यायमूर्तिलाई प्रशिक्षण प्रचुर मात्रामा दिनु पर्ने देखिन्छ ।
खास गरी उच्च अदालत र जिल्ला अदालतका फैसलाहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने कतिपय फैसलाले न तथ्यलाई विश्लेषण गरेको हुन्छ न राम्रोसँग तथ्य बुझेको न मुद्दाको मेरिट भित्र प्रवेश गरेको देखिन्छ । फैसलाहरूमा त्रुटि हुने कुरा सामान्य जस्तो देखिन्छ । न्यायमूर्ति निर्णयमा बिचार गर्दा बिचारको अधार के हो ? त्यो बिचारलाई कुन कानुन, नजिरले समर्थन गर्छ ? त्यसमा प्रयोग गरिएका शब्दावलीहरूको तादम्यता छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । न्यायमूर्तिसँग बिधिशास्त्रको ज्ञान कति रहेछ भन्ने कुराको मापन फैसला लेखन हो । न्यायमूर्तिले निर्णयमा बिचार गर्दा न्याय पाउनेको सन्तुष्टि मात्र होइन न्याय नपर्नेको समेत चित्त बुझाई हुनु आवश्यक हुन्छ । मैले पढेका केही हाम्रै फैसलाहरू र विदेशका फैसलाहरूले मुद्दा हार्ने पक्ष फैसला पढे पछि पुनरावेदन गर्ने सोच राख्दैन किनकि फैसलाले मुद्दा जिताउने अधारहरु लेख्दा लेख्दै हार्ने आधारहरू समेत प्रस्ट पारेको हुन्छ । हाम्रा कैयन फैसलाहरूमा न जित्ने आधारहरू लेखिन्छ न हार्ने । केवल एउटाले जित्छ अर्कोले हार्छ र कतिपय अवस्थामा त कसले जितेको अनि कसले हारेको थाहा नि हुन्न र  जसले पक्षहरूलाई उपल्लो अदालतमा जाने वातावरण बनाइदिन्छ ।
न्यायाधीश बेसुरको बाजा हुन् नहुने ?
१६ औँ शताब्दीमा बेलायतका लर्ड चान्सलर फ्रान्सिस बेकनले धेरै बोल्ने न्यायाधीश बेसुरको बाजा सरह हुन्छ भनेर भनेका टुक्काहरू सुनेको धेरै वर्ष भो । कति मुद्दाहरूमा न्यायमुर्तिहरुले बुझेको बहाना गर्छन् तर निर्णय हेर्‍यो भने उदेक लाग्दो हुन्छ । धेरै न्यायमूर्तिका कुराहरू सुनियो पढियो अनि देखियो पनि तर वास्तविक न्यायमूर्ति ती रहेछन् जो सही फैसला गर्ने आँट गर्दा रहेछन् अनि फैसलाको निचोडमा पुग्न कानुन व्यवसायीका तर्कहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नजिर अनि घटनाक्रमको बेजोड विश्लेषणले निर्णय तर्फ पुग्ने रहेछन् । बिचारले फैसला गर्ने होइन । किनकि न्यायाधीशको विचारलाई धेरै मुद्दामा कज लिस्ट आउने बित्तिकै आङ्कलन गर्ने यहाँको चलन भई सक्यो । किनकि न फैसलामा कुनै विश्लेषण हुन्छ न कानुन व्यवसायीका तर्कहरू टिपिन्छ न निर्णयको कुनै आधार हुन्छ । आधार कारण बिना न्यायमूर्तिलाई निर्णयका लागि विचार गर्ने फुर्सद हुँदै हुन्न । बस विद्वान वरिष्ठ अधिवक्ता वा अधिवक्ताहरूको तर्कयुक्त बिधिशास्त्रीय बहस सुन्यो अनि निर्णय तर्फ बिचार गर्दा लेख्यो… ठोक्यो… फैसला । न्याय कताको कता ।
हाम्रो सन्दर्भमा हेर्दा इजलासमा न्यायमूर्ति आसीन हुनासाथ न्यायमूर्तिको व्यवसायीक र राजनैतिक बंशावलीको व्यापक चर्चा बाहिर चौरमा हुने गर्छ । न्यायमूर्तिले आफू जति स्वतन्त्र छु भनेर बोल्ने, सामाजिक सञ्जालमा लेख लेख्ने, स्ट्याटस  राख्ने र स्वतन्त्रताको अभिव्यक्ति राखे पनि कोही मान्ने वाला छैन बाहिरको समाज किनकि उसको स्वतन्त्रतालाई अन्तमा निर्णय तर्फ बिचार गर्ने हतियारले घाइते बनाइ हाल्छ । तसर्थ न्यायमुर्तिहरुले फैसला लेखनमा व्यापक सुधार गर्नु पर्नेछ बिचार होइन ।
विचारले गरिएका फैसलाहरू आग्रह पुर्बग्रहले भरिएका देखिए । फैसलाहरू तर्क र कानुनले ब्याक गरेको हुनु पर्छ । व्यक्तिगत बुझाइ अनुमान र राजनीतिक धारमा बिचारहरू बहकिएका हुन्छन् जुन न्यायका लागि गम्भीर बाधक हुन् न्यायमूर्तिलाई छोडिएको बिचार गर्न सक्ने हतियार सम न्यायको लागि हो अन्यायको लागि होइन । न्यायमूर्तिले आफ्नो विचार व्यक्त गर्ने साधन भनेको फैसला हो । न्यायमूर्तिले अदालत बाहिर राखेको धारणा भोलि अदालत भित्र छिर्‍यो भने अदालतलाई दूरगामी असर पार्छ अनि पारेको घटना हामीले नजिकबाट हेरेका छौँ । त्यसको बलियो कारण भनेको निर्णय तर्फ गरिने बिचार आधार हुन हुन्न ।
अन्तमा:
हामीले अहिले कृत्रिम बौद्धिकताले ल्याउँदै गरेको परिवर्तनको साक्षी भई रहेका छौँ। कुनै पनि फैसला अहिले गोप्य हुँदैन । अदालतका फैसलाहरू हामीले होइन कृत्रिम बौद्धिकताले नेपालीमा उल्था सुरु गरिसकेका छन् । हाम्रा फैसलाहरू अब संसारभरका कानुन व्यवसायी, कानुनविद्, प्राध्यापक, विद्यार्थी अनि न्यायकर्मीले पढ्ने गर्छन् । कति फैसला त पढाइन्छ अनि उदाहरण पनि दिइन्छ । तसर्थ अब हाम्रा फैसलाहरू माथि न्याय मूर्तिले लापरबाही गर्न सक्दैनन् ।लापरबाही गरेका कति फैसलाको न्याय परिषदमा जबाफदेही भएको, निलम्बन र बर्खास्तीमा परेका न्याय मूर्ति हाम्रै अगाडि अमिलो अनुहार लिएर हिँडेको भेटिन्छ । तसर्थ अब हाम्रा फैसलाहरूमा जबाफदेही विहीन तरिकाले विचार गर्न पाइन्न । हाम्रा फैसलाहरू न्यायिक रूपमा दिवालिया हुने गरी लेख्न पाइन्न । विचारलाई परीक्षण नगरी निर्णय गर्नु न्याय माथिको बलात्कार हो । हाम्रा विचारहरू जब तर्कहीन, वस्तु निष्ठ, सान्दर्भिक, तथ्यपरक, वैज्ञानिक, आधार युक्त, स्वतन्त्र र सरल र न्याय पर्ने हुन्नन् अदालत प्रतिको विश्वासमा गम्भीर सङ्कट आउँछ । तसर्थ अब न्यायमूर्तिको निर्णय तर्फ गरिने विचारलाई न्यायमूर्ति आफैँले तथ्य, प्रमाण, आधार कारण , संविधान कानुन, नजिर, अन्तर्राष्ट्रिय कानुन अभ्यास अनि कानुन व्यवसायीका बहस, नोट, ब्रिफ अनि तर्कका आधारमा विश्लेषण गरेर निर्णय गर्ने कि ? अन्यथा फैसलाहरू केवल सङ्ख्याको चाङ हुने छन् मौलिक हक न्यामूर्तीको विचारले बन्धक ।

सम्बन्धित समाचार

ताजा न्यूज