श्री राम जेठमलानीसँगको अन्तरक्रियाका यादहरू मेरो जीवनका अविष्मरणिय घटना हो । जति बेला हामी राम जेठ्मलानीका कुरा सुन्दै थियौ, त्यति बेला मलाई ती व्यक्ति भारतका चर्चित वकिल हुन् भन्ने थाहा त थियो तर उनको लेक्चर सुनेर सँगै खाएका मानिस तिनै महान् वकिल राम जेठ्मलानी रहेछन् भन्ने थाहा पाउन २० वर्ष लागेको कुरा त मैले अघिल्लो शनिवारका डायरीमा लेखिसकेको छु । जुन दिन वकिल बन्ने निर्णय गरियो त्यो दिन देखि वकिलका बारेमा चासो पनि राख्न सुरु गरियो । आजसम्म आइपुग्दा संसारका धेरै मुलुकका वकिलहरूसँग चिनजान भइएको छ । हाम्रो देशका वरिष्ठ अधिबक्ताहरुसँगको घनिष्ठताको त के कुरो भयो र उहाँहरूको व्यवसयीकता र कानुन निर्माण र व्याख्यामा खेलेको भूमिकाको किस्साहरू बारम्बार सुनिएको छ अनि देखिएको छ । ती व्यवसायीतक प्रेरणाका विषयहरू पनि रहेका छन् ।
मलाई उसबेला राम जेठ मलानीले पुनामा अतिथि लेक्चर दिँदाका केही भनाइहरू अहिले पनि याद आइरहन्छ । उनले कानुन व्यवसाय, कानुन व्यवसायीका आचरण अनि कानुन व्यवसायीले गर्नु पर्ने कर्तव्य र न्यायपालिका प्रतिको उत्तरदायित्वका बारेमा बोलेका कुराहरूले उस बेला अति नै प्रभावित भएको थिएँ । आज फेरी उही पुनाको डायरीले केही व्यवसायीकताका कुराहरुलाई हाम्रो अहिलेको सन्दर्भसँग सँगै राखेर हेर्न मन लाग्यो ।
उनले भन्ने गरेका एउटा वाक्य अति महत्वको राख्छ, खास गरी फौजदारी कानुन व्यवसाय गर्नेहरूका लागि । राम जेठ्मलानी भारतका महान् कानुन व्यवसायी थिए भने उनको फौजदारी कानुनको दक्षता संसार भरिका कानुन व्यवसायीका लागि प्रेरणाका शब्दहरू हुन् । हुन् त जहिले मलाई कानुन व्यवसायी हुने जुनुन जाग्यो मलाई खागसरि व्यवसाय कानुन र फौजदारी कानुनमा मन जाग्यो । तर पढाइमा भने मैले व्यवसाय कानुन र संविधान रोजे । मेरो रोजाइको कारण बुबाको सल्लाह थियो । तर फौजदारी कानुनमा मेरो आकर्षण भने कहिले कम भएन । व्यवसायको सुरुवाती दिनहरूलाई कानुन व्यवसायीले कानुनको विशेष क्षेत्रलाई मात्र रोज्नु भन्दा सबै किसिमका कानुनको विषयमा अभ्यास गर्नु राम्रो हुन्छ भनेका कुराहरूलाई धेरै वर्षसम्म मैले लागु गरे । आजसम्म आइपुग्दा २/४ वटा विषय बाहेक सबै कानुनका विषय कुनै न कुनै रुपमा आफूलाई साक्षात्कार गरिसकेको छु । तर कानुन व्यवसायीको व्यावसायिक जीवनमा ती धेरै अभ्यासले कुनै विशेषता राख्दैन भन्ने पुरा ज्ञान छ मलाई । अहिलेको पुस्ताले कानुनमा स्नातक गर्नु अगाडी मै म मुद्दा मामिला गर्ने वकिल बन्छु, म कर्पोरेट वकिल बन्छु, या अरू केही बन्छु भनेको सुनेपछि उनीहरुलाई त्यही सल्लाह दिन्छु कि व्यवसायको सुरुवाती दिनहरूमा सब काम गर्नु पर्छ अनि एउटा समय आउँछ जुन बेला अब के विषयमा व्यवसाय गर्ने हो त्यो निर्णय गर्नु पर्छ ।
कानुन व्यवसायीको व्यावसायिक जीवनमा हरेक किसिमका समस्या लिएर आउने मानिसहरू हुने गर्दछन् । केही सामान्य पारिवारिक विवाद देखि जटिल व्यापारिक विवाद अनि सामान्य कुटपिट देखि, बलात्कार र सङ्गिन अपराधसम्म । व्यावसायिक भूमिका निर्वाह गर्दा कानुन व्यवसायीले आत्मसम्मानमा खेपेको गाली कुटपिट देखि कानुन व्यवसायीको हत्या भएको र अङ्गभङ्ग हुने गरी ज्यान जोखिममा हालेको थुप्रै घटनाहरू हाम्रोमा मात्र होइन संसार भरि देख्न सुन्न पाइन्छ । प्रत्येक कानुन व्यवसायीको व्यवसायी यात्रामा अनेक किसिमका पक्षहरू आइरहन्छन् । अनि आफैले निर्णय गर्नु पर्ने हुन्छ कि ती गम्भीर मुद्दा लिउ या नलिऊ । राम जेठ मलानीले भन्थे मैले कुन मुद्दा लिने नलिने भन्ने कुराको निर्णय मेरो अन्तरात्माले गर्छ । तर कानुन व्यवसायीले कुनै पक्षको मुद्दा लिने र उसको प्रतिरक्षा गर्ने कि नगर्ने निर्णय गर्दै गर्दा समाजले उसलाई दोषी देखेकै कारणबाट मुद्दा लिन्न भन्नु आफै व्यवसायी आचरणको दोषी हो भन्ने ठान्दथे । कानुन व्यवसायी नैतिक दुबिधाबाट मुद्दाकोलागि गुज्रिनु भनेको पक्षलाई अन्याय हुनु हो भन्ने बिचार थियो उनको । कानुन व्यवसायी पक्ष आफै दोषी हो भन्ने धारणबाट जानु भनेको पक्षलाई अन्याय गर्नु हो भन्ने मान्दथे । मुद्दा लिइसकेपछि कानुन व्यवसायीले उक्त मुद्दालाई प्रभावकारी रूपले लिँदैन र प्रस्तुति गर्दैन भने कानुन व्यवसायी नैतिक रूपले स्खलित हुन्छ भन्ने कुरामा उनलाई दुबिधा थिएन । उनले कानुन व्यवसायीले आफूलाई मानसिक र व्यवसायी रूपमा दुरुस्त राख्न सकेन भने व्यावसायिक जीवनमा सफलताको अनुभूति गर्न सक्दैन भन्ने कुराको मान्यताले उनलाई ९६ बर्षसम्म सक्रिय व्यवसायी जीवन जिउन सहयोग गर्याे । धेरै मध्ये एउटा राम्रो पक्ष राम जेठ मलानीको के थ्यो भने दुवै पक्षका कानुन व्यवसायी आफ्नो उत्कृष्ट व्यवसायी क्षमता देखाउन सके भने मात्र अदालतलाई न्याय सम्पादनमा सजिलो बनाउँछ भन्ने ठान्थे । अनि राम जेठ्मलानीले युवा कानुन व्यवसायीलाई दिने अवसर, चुनौती अनि सहयोग उनको व्यवसायी जीवनको एउटा अनुकरणिय र सम्झना लायक कुराहरू हुन् जुन सुनियो अनि देखियो पनि । एउटा सफल कानुन व्यवसायी व्यवसायी प्रतिष्ठान हो, व्यक्ति होइन । हाम्रो सन्दर्भमा प्रतिष्ठान हुने कानुन व्यवसायीहरू नगण्य छन् । धेरै छन् त कानुन व्यवसायी मात्र ।
कानुन व्यवसायी को व्यवसायी उत्तरदायित्वका सन्दर्भ हेर्दा, संसारभरि कानुन व्यवसाय एक अर्कोको पारस्परिक सहयोग र आत्मीयतामा निर्भर गर्दछ । कानुन व्यवसायीले पक्ष रोज्ने होइन पक्षले कानुन व्यवसायी रोज्ने चलन छ । त्यसैले त जति धेरै कानुन व्यवसायी भयो पक्षलाई आफ्नो कानुन व्यवसायी छान्ने अवसरहरू धेरै हुन्छन् । सच्चा र व्यवसायी कानुन व्यवसायीलाई कानुन अध्ययन, लेखन अनि कानुनी सेवा बाहेक अन्य कुरामा फुर्सद हुँदै हुन्न । फुर्सद हुने कानुन व्यवसायीले खाँटीको कानुन व्यवसाय गर्न सक्दै सक्दैन । कानुन व्यवसायीले काम पर्खने भन्दा नि काम निकाल्ने कलाले कानुन व्यवसायमा निखार ल्याउँछ । त्यसैले व्यवसायी काम नहुँदा पनि कानुन व्यवसायीले आफ्नो अध्ययनलाई निरन्तरता दिई राखेको हुन्छ । लर्ड डेनिंग भन्छन् एउटा सक्षम कानुन व्यवसायीले कानुनको ज्ञान मात्र होइन कानुनको व्यावहारिक प्रयोगलाई आफूसँगै आत्मसात् गरेको हुन्छ । मैले मेरो जीवनको ५ वर्ष खास गरी २२ वर्ष देखि २७ वर्ष सम्मको अवधि कसरी बिताएँ मेरो सम्झना मै छैन । अहिले त्यो ५ वर्ष न मागेर पाउँछु न खोजेर भेट्छु । अहिले पश्चात्ताप गरेर के गर्नु बितेर गएको समय फर्केर आउँदैन ।
केही चलेका कानुन व्यवसायी र केही अति अध्ययनशील कानुन व्यवसायी बाहेक धेरै फुर्सदिला कानुन व्यवसायीहरू हाम्रो वारी परि धेरै भेटिन्छन् । फुर्सदले कानुन व्यवसायीलाई काम भन्दा नि आलोचनाको ज्ञानले दिमागको भण्डारण भएको देखिन्छ । सकारात्मक आलोचना राम्रो हो तर व्यक्तिगत आलोचनामा हामी जकडिएका छौ । हामीले आलोचना कामको भन्दा नि व्यक्तित्वमा गर्नेहरू धेरै देखेका हुन्छौ । कानुन व्यवसायीले गर्ने आलोचना भनेको जब कानुनको शासन, स्वतन्त्र न्यायपालिका अनि संविधान माथि खेलबाड हुन्छ त्यति बेला हाम्रो आलोचनाहरू सार्थक र सान्दर्भिक हुने गर्छन् । तर जे विषयमा हामीले आलोचना गर्नु पर्ने हुन्छ त्यसमा हामी अनि हाम्रो संस्था धेरै चुकेको देखिन्छ । हामीले जति कानुन व्यवसायीलाई सरकारको बौद्धिक प्रतिपक्षको रूपमा ठुलो कुरा गर्छौ व्यवहारमा त्यस्तो देखिँदैन । सरकार हाम्रो दलसँग मिल्ने छ भने हामी चुप हुने र विपक्षीको राजनैतिक दलको छ भने हाम्रो जति ठुलो आवाज कसैको हुन्न । नानी भाइ पल्खिवालाले प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको इमरजेन्सी गैह्र संवैधानिक छ भनेर अब म तपाइको कानुन व्यवसायी हुन् बाट फिर्ता हुन्छु भनेर लेखेको पत्रले हाम्रो व्यवसयीकता केमा अडेको हुनु पर्छ भनेर राम्ररी देखाउँछ । व्यवसायी आचार संहितालाई हाम्रा अग्रजले मात्र होइन । हामीले र हाम्रा पछिल्ला पुस्तले धेरै वास्ता नगरेकोले हाम्रो व्यवसायलाई हेर्ने नजरिया धेरै फरक छ ।
हामीले हामी कानुन व्यवसायीबिच नै सुमधुर सम्बन्ध बनाउन पनि सकेका छैनौ । अन्य देशहरूमा एउटा कानुन व्यवसायीले अर्को कानुन व्यवसायीको आलोचना गरेको सुनिँदैन । सुनिन्छ त केवल राम्रो कामको प्रशंसा । यहाँ राम्रो काम गर्ने गर्न खोज्नेहरुलाई चुरीफुरीको संज्ञा दिइन्छ अनि हतोत्साहित गर्ने गरिन्छ । हुन त कसले व्यवसाय प्रति योगदान गर्यो भन्ने कुरा भविष्यमा लेखाजोखा हुन्छ नै तर वर्तमानमा केवल आलोचित बन्ने कानुन व्यवसायीहरू पनि छन् । हाम्रोमा आलोचना बाहेक केहि सुनिदैन । उत्प्रेरणा दिनेहरु नगन्य व्यवसायीक सहयोग भन्दा नि व्यवसायिक ईष्र्याहरुमा हाम्रो समय गुज्रेको पाइन्छ। अरु देशहरुका बारहरुमा खाजा घरहरुमा युवा कानुन व्यवसायीलाई गएर केही समय व्यतित गर्न सुझैंचा किनकि त्यहि एउटा समय हुन्छ, जहाँ सब कानुन व्यवसायी एक ठाउँमा वसी व्यवसायीक कुराहरु गर्छन् अनि कानुन र न्यायमा आफ्नो बिचार आदान प्रदान गर्छन । हाम्रा बारहरुमा अनि खाजा घरमा बिरलै ज्ञान गुन का कुराहरु सुनिन्छ ति कुराहरुले युवा कानुन पुस्तालाई प्रभाव पार्नु भन्दा नि हतोत्साही गरेको देखिन्छ । अहिलेको युवा कानुन व्यवसायी प्रबिधिमा यति नजिक छ कि संसार भरको कानुन र न्यायको विकासको अध्ययन गरिसकेको हुन्छ, हेरी सकेको हुन्छ, अनि बुझी सकेको हुन्छ । बारमा आउँदा उसले त्यहि स्तरको गफ अनि व्यक्तित्व खोजेको हुन्छ । अग्रजलाई हेरेर उसले आफ्नो व्यवसायको भविष्य कस्तो हुने भन्ने बुझी सकेको हुन्छ । उसले बारका गतिबिधिलाई नजिकबाट हेरेको हुन्छ अनि मलाई बारबाट मेरो क्षमता अभिवृद्धिमा के सहयोग हुन्छ खोजि रहेको हुन्छ । हामीले idealized गरेका व्यक्तित्वहरुसँग जति नजिक गइन्छ उति टाढा रहने कुराहरु देखिन्छ ।
न्यायपालिकाको स्तर कानुन व्यवसायीको सोच र आचरणमा पनि निर्भर गर्दछ । हामी जति नै न्यायपालिकाको आलोचना गर्छौ, त्यो भन्दा कम आलोचित हुने हाम्रो व्यवहार देखिँदैन । त्यसैले अब हामीले हाम्रो सोच र व्यवहारलाई धेरै परिवर्तन गर्नु पर्ने छ । हाम्रै अगाडी मानव अधिकार, स्वच्छ पुर्पक्षको गम्भीर उल्लङ्घन हुँदा समेत हाम्रो व्यवसायी समाज र त्यो समाजका हामी सदस्यहरू हेरेको हेरई छौ, हामी हेरेको हेरेइ..